राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्त

डिसी नेपाल
६ वैशाख २०७८ १२:२४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयले प्रेश विज्ञप्ति जारी गर्दै न्यायाधीश नियुक्त गरेको जनाएको छ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति अनुसार राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश हुनुहुन्छ । उहाँहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

फागुन २८ गते बसेको न्यायपरिषद्को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो। वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो।

सर्वोच्चले चैत ३० मा नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट खारेज गरेको थियो। सर्वोच्चले राजपत्रांकित प्रथम श्रेणीको पददेखि सो भन्दा माथिल्लो पदमा अटुट रुपमा सुवेदीले १३ बर्ष ६ महिना २१ दिन कार्य गरेकाले योग्यतामा कुनै प्रश्न नै नरहेको समेत प्रष्ट्याउँदै रिट खारेज गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *