मन्त्रीबाट राजीनामा दिएर मुख्यमन्त्री बन्ने दौडमा !

डिसी नेपाल
६ वैशाख २०७८ १४:४४

काठमाडौं। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री बन्ने दौडमा होमिएका छन् । उनीसँगै सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि पदबाट राजीनामा दिएका छन् । यी दुवै नेकपा (माओवादी केन्द्र) का सांसद हुन् ।

आजै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता गराइएको थियो । प्रस्तावमा ४१ जना सांसदको हस्ताक्षर भएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दीन खानले जानकारी दिए ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका मन्त्री कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेशसभामा कूल ८७ सदस्य हुन्छन् तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई सांसद निलम्बित भएकोले ८५ सदस्य कायम छन् । यहाँ नयाँ सरकार बनाउन बहुमतको लागि ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।

सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । यीमध्ये नेकपा एमालेको माधव नेपाल समूहका कति सांसद छन् भन्ने प्रस्ट छैन । माधव नेपालका सांसदले ‘फ्लोर क्रस’ गरे पोखरेल पदमुक्त हुने सम्भावना उच्च छ । र, कर्णालीमा यो समूहले फ्लोर क्रस गरिसकेकाले यहाँ पनि त्यही घटना दोहोरिने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *