भारतमा अलपत्र पर्ने अवस्था आए दूतावासलाई जानकारी गराउन राजदूत आचार्यकाे आग्रह

डिसी नेपाल
७ वैशाख २०७८ ९:४५

काठमाडौं। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमा अलपत्र पर्ने अवस्था आए नेपालीले दूतावासमा खबर गर्न अनुरोध गरेका छन्। डिसी नेपालसँग कुरा गर्दै आचार्यले अलपत्र पर्ने अवस्था आएमा सिधै सम्पर्क गर्न पनि अनुरोध गरेका हुन्।

‘सकेसम्म अलपत्र पर्ने गरी नेपाल नफर्किन अनुरोध गर्दछु,’ आचार्यले भने, ‘सुझबुझका साथ जानु पर्छ। यस्तो परिस्थितिमा एकले अर्कालाई सहयोग गर्नुहोस्। सकेसम्म जहाँ हुनुहुन्छ त्यहीँ नै सुरक्षित भएर बसौं। जानै पर्ने भए पनि सुरक्षा अपनाएर जाउँ। र समस्या भएमा दूतावासलाई सम्पर्क गरौं।’

अफिस समय बाहेक पनि उठ्ने गरी दूतावासले हटलाइन नम्बर राखेको पनि राजदूत आचार्यले जानकारी दिए। आचार्यका अनुसार दूतावासका अफिस समयका नम्बर र हटलाइनमा सम्पर्क गर्न सकिने छ।

भारतमा दूतावासमात्र नभएर नेपाली समूदाय, सहयोगी हातहरु, संघसंस्था पनि भएकोले सबैको सहयोग लिन पनि राजदूत आचार्यले जानकारी गराए। आचार्यले भने, ‘कही कतैबाट सहयोग नभएको अवस्थामा दूतावासलाई जानकारी गराउनुहोस्।’

भारतको जुनसुकै ठाउँमा रहे पनि सबै भन्दा पहिला त त्यहाँको सम्बन्धित निकायहरुमा सम्पर्क गर्न र दूतावासलाई पनि जानकारी गराइदिन राजदूतको आग्रह थियो। भारतमा रहेको नेपाली दूतावासको हटलाइन नम्बर हो : ०११२३४७६२००




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *