सेयर बजारमा सामान्य सुधार
काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नप्से सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक २ दशमलव ६८ अंक बढेर २६ सय ६४ दशमलव ६१ अंकमा बन्द भएको छ। यो साता लगातार दुइ दिन भारी अंकले गिरावट आएको सेयर बजार साताको तेस्रो दिन भने सामान्य अंकले बढेको हो। यसअघि आइतबार र सोमबार सेयर बजार घटेको थियो।
मंगलबार कारोबार रकम भने घटेको छ। यस दिन २ सय १६ कम्पनीको १२ करोड ३ लाख ६९ हजार ५ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५३ करोड ८६ लाख बढीको सेयर किनबेच भयो।
यस दिन बैकिङ, नन लाइफ इन्सोरेन्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह घट्दा अन्य सबै समूह उकालो लाग्यो।
यस दिन सिटिजन्स इन्भेष्टमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भयो। यस कम्पनीको २१ करोड बराबरको कारोबार भयो।
यस्तै महिला लघुवित्त, युनाइटेड मोदी हाइडो, हिमालय उर्जा विकास कम्पनी र ज्योतिलाइफ इन्सोरेन्सका लगानीकर्ताले करिव १० प्रतिशतका दरले कमाएका छन्।
यस्तै मंगलबार समृद्धि फाइन्यान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
Facebook Comment