एमाले विवाद उत्कर्षमा : रोकिएला विभाजन ?

डिसी नेपाल
८ वैशाख २०७८ ८:२६

काठमाडौ। प्रधानमन्त्रीसमेतरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय संघीय २७ सांसदसहित ३२ जनालाई स्पष्टिकरण सोधेपछि सत्तारुढ दल एमाले विभाजनको संघारमा पुगेको छ। मंगलबार अध्यक्ष ओलीले कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको हो।

वरिष्ठ नेपा माधव नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई यसअघि नै स्पष्टिकरण सोधेर निलम्बन गरिसकिएको छ।

यसपटक सोधिएको स्पष्टीकरण उनीहरूलाई सांसद पदबाट कारबाही गर्नका लागि सोधिएको बताइएको छ। कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार र फ्लोर क्रस गरेर सच्याउने एक सांसदसँग पनि स्पष्टीकरण मागिएको छ। योसँगै एमाले विभाजनको सन्निकट पुगेको छ।

स्पष्टीकरणमा पत्रमा थप गतिविधि जारी राखे जुनसकैबेला थप कारबाही गरिने भन्दै नेताहरूलाई सचेतसमेत गराएको छ। अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा भनिएको ‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका दिन यो स्पष्टीकरण पत्र लेखिएको छ ।’

अध्यक्ष ओलीले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका चार जना प्रदेश सांसदहरूलाई पनि स्पष्टीकरण सोधेका छन्। उनले कर्णाली प्रदेशका सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई स्पष्टीकरण सोधेका हुन्।

आफूहरुलाई स्पष्टिकरण सोधेपछि बसेको खनाल–नेपाल समूहको बैठकले स्पष्टिकरणको जवाफ दिने निष्कर्ष निकालेको छ। मंगलबार नयाँ बानेश्वरस्थित एक होटलमा सम्पन्न नेपाल–खनाल समूहको भेलाले अध्यक्ष ओलीलाई व्यक्तिगत रूपमा स्पष्टीकरणको जवाफ फर्काउने निष्कर्ष निकालेको हो ।

यद्यपि, स्पष्टीकरण सोधिएका सांसदहरूले स्पष्टीकरणको जवाफ व्यक्तिगत रूपमा दिए पनि संयुक्त वक्तव्य निकालेर सामूहिक धारणा सार्वजनिक गर्ने पनि तयारी गरेको छ। भेलाले स्पष्टीकरणको जवाफ छुट्टाछुट्टै दिने र संयुक्त विज्ञप्ति निकालेर धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ।

भेलामा स्पष्टीकरण सोधिएका संघीय सांसदहरूको सहभागितामा रहेको थियो । भेलाले स्पष्टीकरण सोधिएका सांसदहरूलाई आ–आफ्नो तरिकाले स्पष्टीकरण लेखेर ल्याउन भनेको छ। बुधबार नेपाल–खनाल समूहले स्पष्टीकरणका विषयमा बुधबार थप छलफल गरेर जवाफ दिने तयारी गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *