अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित नहुँदासम्म माओवादीले समर्थन फिर्ता नलिने

डिसी नेपाल
८ वैशाख २०७८ १०:१२

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिन चौतर्फी दबाव बढेपनि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नदिने भएको छ। संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निश्चित नभएसम्म माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने भएको हो।

वर्तमान सरकारको विकल्प कांग्रेस नेतृत्वको सरकार भएपनि कांग्रेसले तत्काल सरकार गठनमा रुची नदेखाएको माओवादी केन्द्रको निष्कर्ष छ। मंगलबार सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको थियो।

तर सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता दिन नहुने माओवादी केन्द्रले निष्कर्ष निकालेको छ। बैठक आज पनि बस्दैछ। तर बैठकमा समर्थन फिर्ताको विषय भन्दा पनि बढी विधानका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।

‘कांग्रेसले समर्थन फिर्ता गर भन्ने, माओवादीले अविश्वासको प्रस्ताव दर्ता हुने सुनिश्चित गर भन्ने भन्दा बाहेक थप प्रगति केही पनि छैन,’ शाहले डिसी नेपालसँग भने, ‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँग लिनु भन्दा अर्को विकल्प छैन।’

अहिले माओवादीको नेतृत्वमा सरकार गठन हुने अवस्था छैन, नयाँ सरकार गठन हुने अवस्था आए सरकारको नेतृत्व गर्ने कांग्रेसले नै हो।हामीसँग सरकार बनाउन सक्ने प्रयाप्त संख्या नभएका कारण कांग्रेसलाई समर्थन गर्छौं भनेका हौं। तर कांग्रेसको भित्री चाहना चुनाव नै भए जस्तो देखिन्छ

वर्तमान सरकारको विकल्प कांग्रेस नेतृत्वको सरकार भएपनि कांग्रेसले सरकार गठनप्रति रुची नदेखाएको माओवादीको निष्कर्ष छ। माओवादीले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको भित्र चाहना चुनाव नै भएको निष्कर्षसमेत निकालेको छ।

बाहिर ओली सरकारको विरोध गरेजस्तो गर्ने र भित्री रुपमा ओलीसँगै मिलेर कांग्रेसले चुनावमा जाने वातावरण बनाउन खोजेको आशंका माओवादीले गरेको छ।

‘अहिले माओवादीको नेतृत्वमा सरकार गठन हुने अवस्था छैन, नयाँ सरकार गठन हुने अवस्था आए सरकारको नेतृत्व गर्ने कांग्रेसले नै हो,’ एक माओवादी नेताले भने, ‘हामीसँग सरकार बनाउन सक्ने प्रयाप्त संख्या नभएका कारण कांग्रेसलाई समर्थन गर्छौं भनेका हौं। तर कांग्रेसको भित्री चाहना चुनाव नै भए जस्तो देखिन्छ।’

कांग्रेसको चाहना पनि चुनाव नै भए सरकारलाई दिएको समर्थन फिर्ता दिँदा प्रधानमन्त्री ओलीलाई नै फाइदा पुग्ने माओवादीको निष्कर्ष छ। त्यही कारण आज बस्ने स्थायी कमिटी बैठकमा समर्थन फिर्ताको विषय भन्दा पनि पार्टीको विधानका विषयमा बढी छलफल हुने बताइएको छ।

‘अब माओवादीको ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्छ। त्यही भएर आज बस्ने स्थायी कमिटी बैठकमा विधानका विषयमा बढी छलफल हुन्छ,’ स्थायी कमिटी सदस्य शाहले भने, ‘यो तीन वर्षसम्म नेकपाको विधान अनुरास चल्नुपर्यो। अब तीन वर्ष पहिलाकै विधानमा फर्किनु पर्ने अवस्था आएका कारण विधान केन्द्रित छलफल हुन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *