जर्मनीमा मर्केल युगकाे अन्त्य हुँदै, अबको चान्सलर को?

डिसी नेपाल
९ वैशाख २०७८ ६:५५

जर्मनी। जर्मनीमा नयाँ नेतृत्व चयनका लागि आगामी २६ सेप्टेम्बरमा आमचुनाव हुँदैछ। यो निर्वाचनसँगै १६ बर्ष देखि जर्मनीको नेतृत्व सम्हालेकी कन्जरवेटिभ पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन सीडीयूकी नेतृ एंगेला मर्केलले चान्सलरबाट विदा लिनेछिन्।

मर्केलले सन् २००५ देखि लगातार ४ कार्यकाल १६ बर्षसम्म जर्मनीको नेतृत्व गरिन्। सीडीयूले जर्मनीमा संघीय गणतन्त्र स्थापनाका ७१ वर्षमध्ये कूल ५० वर्ष सत्ता सम्हालेको छ। पछिल्लो दुई कार्यकाल सन् २०१३ र सन् २०१७ को चुनावपछि जर्मनीको सत्तारुढ महागठबन्धनमा उदारवादी सोचको सोसल डेमोक्रेटिक पार्टि एसपिडी गाँसिएको थियो।

यद्यपि सन् २०१७ को सेप्टेम्बर २४ मा भएको संसदीय चुनावपछि सत्ताधारी दलहरुको मतमा भारी गिरावट भएपछि नयाँ सरकार गठनमा निकै कठिन भएको थियो। चान्सलर मर्केलको (सिडियु सिएसयु) ले ३२.९ प्रतिशत भोट पाएको थियो। क्रिश्चियन सोसल युनियन सीएसयू पार्टी सीडियुकै बाभरियन भगिनी पार्टी हो । सन् १९४९ पछि उनको लागि यो सबै भन्दा ठूलो झट्का थियो।

यसैगरी एसपीडीले २० दशमलभ ५ प्रतिशत भोट पाएको थियो। यो उसको पूरै संसदीय इतिहासमा न्यून भोट हो। घोर दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडी तेश्रो दलको रुपमा आएको थियो भने हरित पार्टी दी ग्रीन पार्टी पनि राम्रो स्थितिमा उदायो। आगामी चुनावमा पनि मुख्य चुनौतीको रुपमा उदारवादी पार्टी फ्री डेमोक्रेटिक पार्टी एफडीपी, घोर दक्षिणपन्थी एएफडी र दी ग्रीन पार्टी देखा परेका छन्।

कम्युनिष्ट पार्टी दि लिंकेले पनि भोट बाँड्न सक्नेछ। १६ बर्षसम्म जर्मनीको नेतृत्व गरेकी जर्मन चान्सलरले विदा लिएपछि अब जर्मनीको नेतृत्व सम्हाल्ने दौडमा तीन जना अग्रपक्तिंमा देखिएका छन्। मर्केल एराको अन्त्यसँगै उनको उत्तराधिकारीबारे सबैको चासो हुनु स्वभाविक हो।

जनवरी १६ मा भएको सीडियूको महाधिवेशबाट पार्टी अध्यक्ष जितेका मर्केल पक्षीय नेता एबं सबै भन्दा बढी जनसंख्या भएको प्रान्त एनआरडब्लूका मुख्य मन्त्री आर्मिन लासेटलाई सीडीयूले चान्सलरको उम्मेदवार बनाएको छ। सीडीयू र सीएसयूको तर्फबाट लासेट र मार्कुस ज्योडर आकांक्षी देखिएका थिए।

ज्योडर बाभरियाका मुख्यमन्त्री एबं सीडीयूको भगिनी दल सीएसयूका नेता हुन्। अन्तिम समयमा आएर पार्टिमा मतदान भएपछि नम्र स्वभावका लासेटले ७७ प्रतिशत मत ल्याएर उम्मेदवार हुन सफल भएका हुन्। जनमानसमा भने लासेट भन्दा ज्योडरनै प्रख्यात छन्।

यसअघि भएका सर्वेक्षणले कतिपय जर्मन नागरिकहरूले सीएसयूका बाभरियन नेता ज्योडरलाई आफ्नो अर्को चान्सलरको रूपमा देख्न चाहेका थिए। कोरोना महामारीको क्रममा ज्योडरको अग्रसरता र कार्य सम्पादनको व्यापक प्रशंसा भएको थियो र उनलाई राष्ट्रिय नेताका रूपमा महत्व दिएको छ। यद्यपि उनले पार्टीबाट टिकट नपाएपनि आफ्ना उम्मेदवारलाई जिताउन सबैलाई आव्हान गरेका छन्।

ग्रीन पार्टीले नेतृ आन्नालेना बायरबोकलाई र एसपीडिले पार्टीका नेता एबं बर्तमान भाइस चान्सलर ओलाफ सोल्चलाई चान्सलरको मैदानमा अघि सारेको छ। चान्सलरको दौडमा रहेका तिनै जना नेता कानुनका विद्यार्थी हुन्। जलवायु परिवर्तनको मुद्धा बोकेर सबैतिर हरियाली बनाउने र वातावरण जोगाउने सिद्धान्त बोकेको ग्रीन पार्टीले ४१ वर्षीय आन्नालेना बायरबोकलाई उम्मेदार बनाएको हो।

उनको पार्टी अहिले उदाउँदो पार्टीको रुपमा रहेको छ। त्यसैगरी अर्का उम्मेदार हुन् समाजवादी पार्टी एसपीडीका नेता एवं वर्तमान सरकारका उप प्रमुख एबं अर्थमन्त्री ओलाफ शुल्च । कोरोना महामारीको बेला अर्थ मन्त्रालय सम्हालेका शुल्चलाई यो चुनाव देश हाँक्ने एक राम्रो अवसर हुन सक्ने समेत विश्लेषण हुने गरेका छन्।

चुनाव हुन अझै ५ महिना समय बाँकी हुँदा व्यापक राजनीतिक उथलपुथल हुन सक्छ। कोरोना महामारी र खोपले चुनावी नतिजामा व्यापक फरक पार्ने देखिन्छ। २०१७ सेप्टेम्बरमा भएको आमचुनावमा कन्जर्भेटिभ सीडीयू / सीएसयूले ऐतिहासिक पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य गर्न एसपीडीले सरकार गठनमा साथ दिएपछि इतिहासमै लामो र निकै कठिन पश्चात मर्केल नेतृत्वमा नयाँ सरकार बनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *