अराजकता र अनुशासनहीनतासँग सम्झौता गर्न सकिँदैन : प्रधानमन्त्री ओली

डिसी नेपाल
९ वैशाख २०७८ १०:३५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र अनुशासनहीनतासँग सम्झौता गर्न नसकिने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बल्खुस्थित पार्टीको केन्द्रीय कार्यालयको शिलान्यास  गर्दै  ओलीले सच्चिएर आउन सबैलाई आग्रह पनि गरेका छन्।

नेकपा एमाले लक्ष्य र उद्देश्य बोकेको पार्टी भएको बताउँदै ओलीले भने,  ‘हाम्रो पार्टीको लक्ष्य छ, उद्देश्य छ। हामी आफूलाई मात्र कसरी गर्ने भन्ने सोचमा छैनौं। हामी जनताकै पक्षमा छौं। हाम्रो पार्टी हिजोदेखि जनताको पक्षमा छ। अब अराजकता र अनुशासनहीनतासँग सम्झौता गर्न सकिँदैन।’

अब उप्रान्त पार्टीभित्र गुट र उपगुट नचल्ने ओलीको भनाइ छ। उनले भने,  ‘अलग पार्टी खोलेर हिँडिरहँदा पनि सम्झाईबुझाइ गरिरहेका छौं। व्यक्तिगत तवरमा कुरा गर्ने, सच्चिनेलाई सच्चिन मौका दिने, व्यक्तिगत तवरमा उचित जिम्मेवारी दिने काम गर्छौं,’ मेरो गुटलाई भाग चाहिन्छ भन्ने कुरा अब नचल्ने  प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘दुईतिरबाट तोनेपछि जतिसुकै बलियो डोरी भए पनि चुडिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टी पनि त्यस्तै त हो। जतिसुकै बलियो भए पनि कसैले यताबाट, कसैले उताबाट चलाउन थाल्यो भने भताभुङ्ग हुन्छ। हामी पार्टीलाई एकताबद्ध ढंगले एक ढिक्का बनाएर अगाडि लैजाने पक्षमा छौं। सुदृढ र अनुसाशित संगठन हुनुपर्छ। हामी त्यो पक्षमा छौं।’

तत्कालीन नेकपा माओवादी केन्द्रसँगको प्रसंग कोट्याउँदै ओलीले एकीकरण गरे पनि ३ वर्षसम्म संगठन चल्न नसकेको उनले बताए। उनले भने, ‘प्रदेश २ मा कमिटी नै बनेन। बनेका ठाउँमा सपथ ग्रहण भएन। तीन वर्षसम्म पनि संगठन चल्न सकेन।’

‘पार्टीलाई सुदृढ र एकताबद्ध बनाउँनका लागि अझै पनि अवसर दिन चाहेका छौं।’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई कसैले कमजोरी ठान्यो भने, पार्टी विथोल्ने कुरा हुन्छ भने, गुटको प्रतिनिधित्व गर्दै अगी कोही बढ्छ भने त्यो सहन हुने छैन।’

केही प्रवृतिले सत्ता कब्जा गर्न खोजेको भन्दै प्रधानमन्त्रीले सरकार अब समाजवाद उन्मुख शासन व्यवस्थामा जान थालेको बताएका छन्। अन्तराष्ट्रिय सम्बन्ध र राष्ट्रिय राजनीतिमा पनि सफल भएको उनको दाबी छ। उनले भने, ‘हामी पूर्णलोकतन्त्रको अभ्यासमा छौं। पूर्ण लोकतन्त्र भनेको समाजवाद हो। अब देश समाजवाद उन्मुख भएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *