एमालेमा नयाँ घटनाक्रम : के हुन्छ स्पष्टीकरण ?

डिसी नेपाल
९ वैशाख २०७८ १०:५६

काठमाडौं। एमाले फुट्नै लाग्यो भन्ने चर्चा चलिरहेका बेला बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता भएपछि एमालेमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ।

कार्यकर्ता पँक्ति उत्साहित छ भने नेताहरुले अब चर्किँदै गरेको विवाद मत्थर गर्नुपर्ने आवाज उठाउन थालेका छन्। तर, यहीबीचमा मंगलबार वरिष्ठ नेता नेपालसहित ३२ जना सांसदलाई किन पदमुक्त नगर्ने भन्दै अध्यक्ष ओलीले सोधको ४८ घण्टे स्पष्टीकरणको बिहीबार समय सीमा पूरा हुँदैछ। नयाँ विकसित घटनाक्रममा स्पष्टीकरण प्रकरण के हुन्छ ? भन्ने चासो बढेको छ।

बालुवाटारले स्पष्टीकरण तत्कालका लागि कार्यान्वयन नहुने संकेत गरेको छ। प्रधानमन्त्री तथा अध्यक्ष ओली निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘दुई नेताबीच वान टु वान वार्ता भएपछि वातावरण धेरै सुधारिएको छ। अब कारबाही प्रक्रिया अगाडि बढ्ने सम्भावना अहिले छैन। हिजो वार्तापछि दुबै नेता प्रफुल्ल देखिनु भएको छ।’

प्रधानमन्त्री निकट नेताले दुबैतर्फका नेताहरुको पहलमा बुधबारको भेटवार्ता सम्भव भएको बताए। उनका अनुसार माधव समूहका नेता तथा ओली समूहका नेताहरुबीच पार्टीको विवाद नचर्काउन पहल भइरहेको थियो। खासगरी योगेश भट्टराई सक्रिय थिए।

उनले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल गरेका थिए। उनले नेता नेपालसँग वार्ता गर्न अध्यक्ष ओलीसँग आग्रह गरेका थिए।

ओली निकट नेताले सबैको चाहाना पार्टी विभाजन नहोस भन्ने नै भएकाले बुधबार वार्ता भएको र त्यो शुरुआत भएको बताए। भेटवार्तापछि प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले फेरि वार्ता गर्ने गरी दुई नेताबीचको वार्ता सकिएको बताएका थिए।

‘मंगलबार भएको वार्ताले विश्वासको वातावरण बनाएको छ, दुई नेताबीच वान टु वान वार्ता भएको छ। अब फेरि वार्ता गर्ने वातावरण पनि बनेको छ,’ प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले डिसी नेपालसँग भने, ‘अब संवादहीनताको वातावरण बनेको छ। दुई घण्टासम्मको छलफलमा उहाँहरुमा उग्रता थिएन, शान्त र सौहार्दपूर्ण रुपमा छलफल भयो। अहिले नेता कार्यकर्तामा आशाको किरण जागेको छ। विभाजन टर्छ भन्नेमा कार्यकर्तामा विश्वास बढेको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *