फेरि त्यो दिन बिर्सन चाहन्न !
संसारको जुन कुनामा बसेपनि बैशाख ११ र १२ गते नेपालीले बिर्सिँदैनन्। कहिल्यै बिर्सनु हुदैन पनि। हाम्रा लागि दुबै दिन बिशेष दिन हुन्। जुन हाम्रो मानसपटलमा बिर्सन नसकिने गरी बसेका छन्। किन होला त?
२०६३ बैशाख ११ गते हामीले राजा फालेर लोकतन्त्रको जग खनेको दिन हो। १५ बर्ष अघि, १९ दिन लगातार चलेको नागरिक आन्दोलनले सयौं बर्ष पुरानो राजतन्त्रको जगैसम्म भत्कायो र देशमा नागरिक सर्बोच्चताको जग हाल्यो। त्यो दिनलाई हामी हरेक बर्ष बैशाख ११ गते सम्झन्छौं। सके र भ्याएजति मनाउँछौ।
२०७२ बैशाख १२, शक्तिशाली भुकम्पले धेरै भौतिक संरचनाको जग भत्काएको दिन हो। झन्डै ८ रेक्टरस्केल बराबरको शक्तिशाली भूकम्पले हजाराैंको ज्यान लियो। ऐतिहासिक सम्पदा, नागरिकका घर र जग्गाजमिन भत्किए। जुन आजसम्म पनि पुन:निर्माण वा नवनिर्माणको क्रममा छन्।
बैशाख १२, २०७२ हामीले जे देख्यौ हाम्रो पुस्ताले त्यस्तो प्राकृतिक विपद त्यस अगाडि देखेको वा भोगेको थिएन। त्यसयता पनि देखे र भोगेको छैन। बैशाख १२, २०७२ मा हामीले जे देख्यौ र भोग्यौ त्यो हाम्रो पुस्ताले अहिलेसम्म देखेको शक्तिशाली भूकम्प थियो।
हामीले यी दुबै दिनलाई वर्षमा एकपटक वा एक दिन सम्झेरमात्र पुग्दैन। २०६३ बैशाख ११ यता मुलुक नयाँ राज्यव्यवस्थाको व्यवहारिक प्रयोगमा छ। बितेका १५ बर्षमा बिभिन्न समयमा लोकतान्त्रिक मुल्यमान्यतामाथि प्रहार भएका छन्। नागरिक अधिकार संकुचित पार्ने प्रयास भएका छन्। शासकको सनकमा लोकतन्त्र धरापमा परेको छ। जुन क्रम अहिले पनि रोकिएको छैन।
शासकलाई नागरिकप्रति जिम्मेवार बनाउन सक्ने अहिलेसम्मको एकमात्र स्वीकार्य व्यवस्था लोकतन्त्र हो। जहाँ शासकलाई प्रश्न गर्न सकिन्छ। प्रश्नको कठघरामा उभ्याएर सार्वजनिक निकाय र त्यसमा आसिन अधिकारीलाई जवाफदेही बनाउन सकिन्छ। किनभने प्रश्न र जवाफ अर्थात संवादले समाज पारदर्शी बन्न सघाउँछ। प्रश्न सुन्न सक्ने र जवाफदेही सरकार लोकतन्त्रमामात्र संभव हुन्छ।
jर्षमा ३६५ दिन नै शासकलाई प्रश्न सोध्न सकिन्छ। शासकको जवाफदेहिता माग्न कुनै दिन र बारले रोक्दैन। बैशाख ११, २०६३ ले हामीलाई दिएको शक्तिशाली उपहार यही हो। यो दिनलाई हामीले बर्षैभरी सम्झनु पर्छ। यसको मर्मलाई प्रयोग गर्नुपर्छ।
अनि बैशाख १२ किन सम्झिरहने?
किनकी बैशाख १२, २०७२ हामीले जे देख्यौ हाम्रो पुस्ताले त्यस्तो प्राकृतिक विपद त्यस अगाडि देखेको वा भोगेको थिएन। त्यसयता पनि देखे र भोगेको छैन। बैशाख १२, २०७२ मा हामीले जे देख्यौ र भोग्यौ त्यो हाम्रो पुस्ताले अहिलेसम्म देखेको शक्तिशाली भूकम्प थियो।
जसले हामीबाट हाम्रा प्रियहरु खोसेर लग्यो। सँगै खेलिरहेका, हिँडिरहेको, खाइरहेका, सुतिरहेका र रमाइरहेका हाम्रा प्रिय सम्बन्धहरु एक निमेषमा तोडिए। त्यो दिनको भुकम्पमा हामीले आफ्ना पृय मानिस र बस्तु (भौतिक संरचना) दुबै गुमायौं।
त्यसो भए के ती प्रिय मानिस र भौतिक संरचना भूकम्पले नै हामीबाट खोसेर लगेको हो त? हैन। किन हैन भने हामीले बनाएका भौतिक संरचना भुकम्प प्रतिरोधी र छरिता नहुदाँ तीनले भूकम्पको भार धान्न नसकेका हुन्। ती संरचनाहरु गर्याम्गुर्लुम्म ढलेका हुन्।
घर सबभन्दा सुरक्षित हुन्छ भन्ने ठानेर हामी ढुक्कले बसेका वा प्रयोग गरेका भवनहरुमा पुरिएर वा चेपीएर मानिसको ज्यान गएको हो। कमजोर भौतिक संरचनाले प्रहार सहन नसकेर मानवीय क्षति भएको हो।
किनकी त्यो बेला हामीसँग भूकम्प प्रतिरोधि भवन निर्माणको चेतना अहिलेजस्तो थिएन वा भएपनि त्यो व्यवहारमा लागू थिएन। त्यसैले भूकम्पलाई सम्झदाँ वा दोष दिँदैमा हामीले भोगेको चुनौती र दर्दबाट हामी बाहिर निस्कन्न सक्दिनौं।
प्राकृतिक विपदले पारेको वेहाल वा क्षति बिर्सने हो भने यसले पार्न संभावित जोखिमबाट बच्नका लागि पर्याप्त र उपयुक्त तयारी गर्न सकिन्न। त्यस्तो तयारी भुकम्प या अन्य प्राकृतिक विपदले निम्त्याउने संभावित जोखिमको आकलन गरि त्यसबाट बच्नका लागि गरिन्छ। जसलाई हामी पूर्वतयारी भन्छौं।
२०७२ को विनासकारी भुकम्प बिर्सनु भनेको हामीले पूर्वतयारीमा चासो नदिनु हो। भनिन्छ नी प्राकृतिक वा मानवीय विपद बाजा बजाएर आउँदैन। दुर्घटना कहिले र कहाँ हुन्छ अनुमान लगाउन सकिन्न। तर आउनसक्छ वा हुनसक्छ भनेर तयारी गरियो भने त्यसबाट हुनसक्ने संभावित जोखिमको मात्रा कम गर्न भने सकिन्छ। त्यसैका लागि हामीले बैशाख १२ बिर्सनु हुन्न।
र अन्त्यमा
बैशाख ११ ले हामीलाई लोकतान्त्रिक बन्न सिकायो। बैशाख १२ ले हामीलाई प्राकृतिक विपदको जोखिमबाट बच्नका लागि पूर्वतयारी गर्नैपर्छ भन्ने सिकाइरहेको छ। त्यसैले यी दुवै दिन हाम्रा लागि बिशेष छन्। जसलाई सम्झिरहँदा हामीलाई फाइदैफाइदा छन्।
हामीकहाँ अहिले तीन तहका सरकार छन्। लोकतान्त्रिक व्यवस्था नागरिकप्रति उत्तरदायी जनप्रतिनिधि चुन्न सकिन्छ। ती जनप्रतिनिधिले मात्र सही मानेमा नागरिकका माग सम्बोधन गर्छ। नागरिक सरकार सहकार्य संस्कृतीको विकास गर्न सक्छन्।
जब नागरिक प्रति उत्तरदायि सरकार हुन्छ त्यसले मात्र विपद वा कुनै पनि प्रकोपको पूर्व तयारी र जोखिम कम गर्न नागरिकसँग मिलेर काम गर्छ। नागरिक सरकार साझेदारीका कामहरु वातावरणमैत्री र दिगो हुन्छन्।
जसले संभावित विपद टार्न, विपद भैहालेमा त्यसबाट हुने क्षति कम गर्न र भएको क्षतिबाट छिटो बाहिर निस्कने योजना सहितको पुन:निर्माण र नवनिर्माण गर्न सक्छ। त्यसैले न बैशाख ११ बिर्सनु हुन्छ न त १२ नै।
Facebook Comment