२०७२ सालको भूकम्पले जापानबाट नेपाल फर्कायो
२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्प महाभूकम्पककै रूपमा साबित भयो नेपाली मनहरूमा। त्यो भूकम्पबाट ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको भएपनि सबैको मनको केन्द्रविन्दुमा बारपाक भन्दा बढी कम्पन दिएको थियो। यो भूकम्पले सरकारी भवन, व्यक्तिका घर, प्राकृतिक र ऐतिहासिक सम्पदा मात्र नष्ट गरेन धेरै मानिसहरूको मानसिक स्वास्थ्यमा पनि असर गर्यो।
आर्थिक, सामाजिक, मनोवैज्ञानिकरूपमा पनि असर गर्यो। कतिपय अवस्थामा यसको प्रत्यक्षदर्शी बन्न पुगेको थिएँ म। हामीले सुनेको भूकम्प भनेको १९९० को भूकम्प हजुरआमाको कहानीमा सुनेका थियौं, २०४५ को भूकम्पको पनि खासै असर थाहा पाउन सकिएन। २०७२ को भूकम्पले भने धेरै शिक्षा पनि दियो।
दश वर्षको बसाइपछि जापानबाट फर्केर मेरो छोराछोरी र श्रीमान काठमाडौँमै हुनुहुन्थ्यो, म भने पिएचडी पछिपनि आफ्नो अनुसन्धानको क्रममा जापानमै अरू ३ वर्ष बिताइरहेको थिएँ। बैशाख ६ गते हाम्रो २०औं वैवाहिक वर्षगाँठ मनाउन भनेर एक किसिमले सरप्राइजको रूपमा क्याथे प्यासिफिक एरलाइन्सबाट रातको १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेर ठ्याक्कै १२ बजे राति घर पुगेको थिएँ।
त्यो बीचमा शनिबार नपरेकोले आफन्तहरूलाई भेट्न जान बाँकि नै थियो। त्यसैले शनिबार बिहानै ठूलो दाइकहाँ भेट्न गयौं। उताबाट फर्केर आउन ढिला भएकोले खाना खाने समय भैसकेको थियो। म घर आएर सिधै खाना खान थालेँ। श्रीमान ध्यानमा बस्नु भएकोले २० मिनेट पछि खानाको लागि आउनुभयो। छोरी उहाँ डाइनिङ्ग टेबलमा गफ गर्दै हुनुहुन्थ्यो, म खाना पस्कदै थिएँ एक्कासी कम्पन गयो।
प्रतिकूलतामा मन आत्तिनु स्वाभाविक हो तर प्राकृतिक घटना हाम्रो हातमा नहुने भएकोले त्यतिबेला आफूलाई परिस्थिति अनुकुल कसरी बनाउने केहि सूत्रहरू सहित योग र ध्यान गराउँदा धेरैले तनावमुक्त महसुस गर्नुभयो। ती दिनहरूमा प्रायजसो नै हामी समूहमा या म एक्लै नै धेरै ठाउँ गएर विद्यार्थी, वृद्धवृद्धा र विरामी व्यक्तिहरूलाई मनोपरामर्श गर्ने काम गरें।
हातमा समातेको राइसकुकर नै पर सरे जस्तो महसुस भयो। जापानमा दैनिक ४-५ पटक सम्म भूकम्प भोगेको हामीलाई शुरूमा त नेपालमा भूकम्प जान्छ भन्ने ख्याल नै भएन। १ मिनेट जति पछि श्रीमानले भूकम्प गयो भन्नु भयो। हामीलाई खासै डर लागेन त्यसैले छोरी र उहाँ खाना खाँदै हुनुहुन्थ्यो म भने यसो कौसितिर निस्केँ, पराकम्पन निरन्तर गइरहेको थियो।
ओहो यो कम्पनले त सबै घरहरू सखापै पार्ने हो कि भन्ने आँकडा गरेको थिएँ। तर सोचे जस्तो भएन। वरपरका घर पनि अलिअलि चर्केका भन्ने सुन्नमा आयो। तलको छिमेकीले हामीलाई तपाईंहरू पनि माथिबाट तल आउनुस्, घरभित्र हुँदा हामीलाई डर लाग्यो, केही भै हाले के गर्ने भन्नुभयो। हामीले बत्तिको मेन स्विच अफ गर्यौं, अनि तल आँगनमा आयौं।
मेरो श्रीमान खाना बोकेरै आउनुभो। उहाँको अचारको कचौरा माथि भान्छामै छुटेछ फेरि माथि गएर ल्याउनु भो। हामी हाँस्यौं पनि। छिमेकीले सोध्नुभो छोरा खोइ त ? हामीले उसको ढोका नक गर्यौं ऊ बत्तिको झल्लरहरू हल्लेको देखेर रमाइलो मान्दै नेपालमा पनि भूकम्प भन्दै भिडियो बनाउँदै रहेछ। छिमेकीको अनुरोधले हामी ४ जान नै बाहिर आँगनमा पुग्यौं।
पराकम्पन निरन्तर जारी रह्यो। घर छेउमा खाली जग्गा थियो छिमेकीहरू सबै जम्मा भइसक्नु भएको थियो। हामीपनि गलैंचा ओछ्याएर त्यही बस्यौं। विदेशबाट भतिजा, भाइहरूको मेसेन्जर आउन थाल्यो। एकछिनपछि हामी हिँडेर पुग्ने ठाउँमा गयौं र आफन्तको हालखबर बुझ्यौं। मैले आमाहरू पक्कै आत्तिनु भो होला भनेर दौडेर उहाँको घर पुगें १५ मिनेट भित्रमा।
खाना खान भ्याउनु भएको रहेनछ। डरले आत्तिएर चौरमा बस्नु भएको। मैले बुबाआमा र भाइलाई काउन्सेलिङ गरें। अब जाँदैन यो पराकम्पन हो ल खाना खान जाउँ भनेर। आमा आत्तिएर भान्छामा छिर्नै डराउनु भयो। मैले उहाँलाई साहस दिएर ल भित्र खाना खाँदै गर्नुस्, म ढोकामा बस्छु, भूकम्प आयो भने हात समातेर बाहिर तान्छु भनेर सम्झाएँ।
बल्लतल्ल मान्नु भो, भूकम्पलाई मैले ढोकामा बसेर के रोक्न सक्थें र तर आमाको मनोविज्ञान उहाँ राजी हुनुभो। उहाँहरूले खाना खाइसकेपछि घर बन्द गरेर म कहाँ नै ल्याएँ। हाम्रो घर भूकम्प प्रतिरोधी तरिकाले बनेको सबैलाई ज्ञान थियो त्यसैले राति १०-१५ जना हामीकहाँ नै बस्नु भो। सबैलाई खाना खुवाएँ।
भोलिपल्ट पनि निरन्तर पराकम्पन गईनै रहेको थियो। छिमेकीहरू बिहान आफ्नो घर फर्के पनि साँझ सुत्न हामी कहाँ नै आउनु हुन्थ्यो। बत्तीको लाइन गएकोले अब पानीको दुख भयो। बाथरूम गन्हाउन थाल्यो। त्यतिबेला दुखको महसुस भयो।
लगातारको पराकम्पनले सबैमा त्रास थियो। धेरैको घरबास नै भत्केको थियो। धेरै मानिस सडकमा थिए। राहत र उद्दारको लागि म पनि सरिक भएँ र सकेको जति सहयोग गरें। धेरै मानिसमा मनोवैज्ञानिक असर परेको भान भयो त्यसैले उहाँहरूलाई सम्झाउने, ध्यान गराउने, स्वास्थ्य सम्बन्धि सचेतना जगाउने, मन शान्त कसरी राख्ने, धैर्यता कसरी कायम राख्ने र प्रतिकूलतामा कसरी आफू सहज बन्ने उत्प्रेरात्मक सुत्रहरु बताउने काम गरें।
धेरैजसो स्कूलका छात्रावासमा बस्ने नानीहरू धेरै त्रास र बेचैनी पाएँ त्यसैले स्कूल, कलेजमा छात्रावासमा बस्ने नानीहरूलाई चौरमा राखेर सतर्क, सहज हुने तरिका सहित ध्यानको अभ्यास गराएँ। एक किसिमको ट्रमा र त्रासबाट धेरैलाई राहत दिन सकेको महसुस हुन्थ्यो। धेरै उत्प्रेरात्मक लेखहरू प्रकाशित पनि भए त्यो समयमा। त्यसले पनि धेरैलाई मानसिक राहत र स्विकारको कला सिकायो भन्ने फिडब्याक पनि पाएँ।
प्रतिकूलतामा मन आत्तिनु स्वाभाविक हो तर प्राकृतिक घटना हाम्रो हातमा नहुने भएकोले त्यतिबेला आफूलाई परिस्थिति अनुकुल कसरी बनाउने केहि सूत्रहरू सहित योग र ध्यान गराउँदा धेरैले तनावमुक्त महसुस गर्नुभयो। ती दिनहरूमा प्रायजसो नै हामी समूहमा या म एक्लै नै धेरै ठाउँ गएर विद्यार्थी, वृद्धवृद्धा र विरामी व्यक्तिहरूलाई मनोपरामर्श गर्ने काम गरें।
जस्तोसुकै समस्यामा पनि शान्त र सहज हुने उपाय ध्यान बाहेक अरू छँदै छैन। ध्यानको अभ्यास गर्नेले परिस्थति अनुकुल आफूलाई सहज बनाउन सक्दछ। यो अनुभूति धेरै त्रासमा बस्नेहरूले गर्नुभयो। म तत्काल जापान फर्कने गरी आएकी थिएँ, यही निरन्तर पराकम्पन, परिवार, आफन्तको प्रेम र उहाँहरूको त्रास कम गर्नको लागि पनि मैले जापान जाने समय तालिका पछि सारें। बीच-बीचमा २-३ पटक आउने जाने गरेपनि १ वर्षको अन्तरालमा अन्तत:नेपालमै परिवारसँग बस्नको लागि भूकम्पले मलाई प्रेरित गरेको मान्दछु।
Facebook Comment