स्वास्थ्य मन्त्रालयले भन्याे-काेराेनाकाे गति यस्तै रहे अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुनेछैन

डिसी नेपाल
१२ वैशाख २०७८ १४:४०

काठमाडौं। सरकारले बढ्दो कोरोना संक्रमणलाई रोक्न देशैभर विभिन्न मापदण्ड लागू गर्दै सचेत रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचनामार्फत सबैलाई पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड लागू गर्न आग्रह गर्दै सचेत गराएको हो।

कोरोना संक्रमणले गर्दा छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटनालाई औल्याउँदै सरकारले विभिन्न मापदण्ड लागू गर्न आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘यो महामारीले हाम्रै देशका विभिन्न स्थानहरुमा समेत उस्तै किसिमका दुःखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथान गर्न सक्ने भूमिकाहरुको निर्वाह गरेका छैनाैं। अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण छ र हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन।’

त्यस्तै, मन्त्रालयले हाल देखिएको दुःखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेका छन् त्यो कसैको पनि परिवार वा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक भएको जनाएको छ।

सूचनामा भनिएको छ, ‘सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन्। संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलिँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन। त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं। आफूले अरु सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हातको सरसफाईमा ध्यान दिने गरौं।’

त्यसैगरी, सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आग्रह गर्दै सरकारले विशेष संचारकर्मीहरुलाई अझ बढी संवेदनशील हुन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *