तिलोत्तमामा आइसोलेशन सेन्टर तयारी
लुम्बिनी । तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ। गत वर्षको कोरोना महामारीका समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना स्थानीय स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए।
कोरोना सङ्क्रमणको पूर्वतयारीअन्तर्गत नगरपालिकाले शङ्करनगर स्वास्थ्यचौकीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हो। उनले नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरका रुपमा तयार गरिएको जानकारी दिए।
बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो। कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो। बीस श्ययाको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिए।
सेन्टरमा सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ। केन्द्रमा बिरामीको २४सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ। कोरोना महामारीबाट नगरवासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो। बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ।
पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहर चल्दै गर्दा तिलोत्तमामा दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । शनिबारसम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा १५३ सक्रिय सङ्क्रमित रहेका छन्।रासस
Facebook Comment