यसरी धनी मुलुकले बिगारेको धर्ती
केही दिनअघि धनी गरीब सबै मुलुकले सकेसम्म तामझामसहित पृथ्वी दिवस मनाए। हामी नेपालीले पनि मनायौं, एनजीओ, आइएनजीओले साना तिना कार्यक्रमहरु पनि गरे।
तर, यी दिवसमा धनी मुलुकहरुले पृथ्वी जोगाउन के प्रतिबद्धता गरे? के आणविक हतियार बनाउँदिन वा बनेका हतियार पनि नष्ट गर्छु भने? अहँ भनेका छैनन्। बरु दिवस मनाउने प्रतिष्पर्धा भने गरेका छन्। पृथ्वीको विनासमा धनी देशहरु कति कारक छन्। त्यसबारे केही चर्चा गरौं।
सन् १९७० देखि विश्वव्यापी रूपमा मनाइँदै आएको यो दिवसले ५१ वसन्त पार गरिसकेको छ। धेरै ओटा ठुल्ठूला विश्व सम्मेलनहरू आयोजना भइसकेका छन्। तिनले सुन्दर कार्यसूचीहरू पारित गरेका छन्। यो दिवस हरेक वर्ष विशेष तामझामका साथ भव्यरूपमा मनाइन्छ।
पृथ्वीको गुन–ऋण स्मरण गरिन्छ। दिवसहरू जारी छन्। पृथ्वी आफ्नै ठाउँमा अपरम्पार अटल अमर छिन्। उनी निःशब्द छिन्। दुखेको थाहा पाउने तर बोल्न नसक्ने। नबोलेरै पीडाको प्रभाव पोख्ने, प्रतिक्रिया जनाउने। तिनै प्रतिक्रियाका विविध रूपहरू हुन्–जलवायु परिवर्तन, मरुभूमीकरण, वातावरण विनाश, प्रदूषण, महामारी र विनाशकारी प्राकृतिक प्रकोपहरू।
ढिलो भए पनि हामी मानवको चेत खुल्यो। ‘हामी पृथ्वी ध्वस्त पार्दैछौँ। तीव्र गतिको दोहन र विनाशले निकट भविष्यमा पृथ्वी मानव बसोबास अयोग्य ठहर हुने अवश्यम्भावी छ। तर भावी सन्ततिका लागि सुन्दर र सुविधासम्पन्न पृथ्वीको आवश्यकता पर्नेछ।’
यहाँ उल्लेख गरिएको सुविधा भनेको प्राकृतिक सुविधा हो। जल, जमिन, जङ्गल, शुद्ध हावाको प्राकृतिक अधिकारको सुविधा। सबै राष्ट्रले आ–आफ्नो संविधानमा लिपिबद्ध गरेर जनतालाई दिएको बाँच्न पाउने अधिकारको प्रावधान। यो दिवसको माग, मर्म, भावना र पुकार सुन्दर र पवित्र थियो। तर व्यवहारमा त्यो कति पूरा भयो, अथवा झन् झन् विनाश भयो जगजाहेरै छ।
हामीले विकासका नाममा पृथ्वीलाई कति च्यातचुत् पार्यौँ। शान्तिका नाममा कति अणु, परमाणु, जिवाणु बमहरू बनाएर भण्डारण, परीक्षण, प्रयोग गरेर पृथ्वीको ज्वरो फुटायौँ। युद्ध सामग्री निर्माण उत्पादन खर्च गरेर पृथ्वीलाई कति रक्ताम्य बनायौँ?
संक्षिप्तमा यति मात्र भनौँ–तापक्रम बढाउने धनी राष्ट्रहरू हुन्। युद्ध सामग्री उत्पादन गर्ने र थोपर्ने पनि उनै धनी राष्ट्रहरू हुन्। तापक्रम वृद्धि रोक्न सक्ने क्षमता पनि उनीहरूसँग मात्र छ। पुरानो सुन्दर पृथ्वी ब्युँत्याउने तागत पनि उनीहरूसँगै छ। दोस्रो ग्रहको खोजीको नाटक फगत् घमन्ड र इगो मात्र हो। पृथ्वीको विनास गरेर दोस्रो ग्रहमा बासस्थान खोज्नुलाई के भन्ने?
पुरानो सुन्दर पृथ्वी ब्युँत्याउने तागत पनि उनीहरूसँगै छ। दोस्रो ग्रहको खोजीको नाटक फगत् घमन्ड र इगो मात्र हो। पृथ्वीको विनास गरेर दोस्रो ग्रहमा बासस्थान खोज्नुलाई के भन्ने?
तर, धनी राष्ट्र र विश्व नेताहरूलाई मात्र दोष दिएर हामी पानीमाथिको ओभानो बन्न मिल्दैन। पृथ्वी विनाशका लागि हरेक राष्ट्र र हरेक हामी नागरिक धेरथोर जिम्मेवार छौँ। तर ध्रुव सत्य यति हो साना र विकासोन्मुखभन्दा ठूला र धनी राष्ट्र बढी जिम्मेवार छन्। नागरिकहरूभन्दा शासकहरू बढी जिम्मेवार छन्। क्षतिपूर्ति र भरणपोषण पनि त्यही अनुसारको हुनुपर्दछ भन्ने आम बुझाइ र माग हो।
नेपाल कहाँ छ ?
नेपालको धर्ती सुन्दर शान्त र विशाल छ। विश्वलाई आकर्षित गर्ने र चकित पार्ने खालको छ। त्यसैले यो विश्वका लागि पुग्नैपर्ने अनिवार्य गन्तव्यस्थल बनेको छ। नेपालको धर्ती यति राम्रो र आकर्षक हुनुका पछाडि प्राकृतिक गुणहरूको गुन छ। जल, जमिन, जंगल र जैविक विविधताले हाम्रो भागको धर्ती सिँगारिएको छ।
थप फूलबुट्टा जडान र श्रृङ्गारकाे पटक्कै जरुरत छैन। बरू प्रकृतिलाई हानि नोक्सानी बिगार नगरिदिए पुग्दछ। पृथ्वी आशिष् प्राप्त हुनेछ। अब प्रश्न उठ्छ, के हामीले हाम्रो अंशको धर्तीलाई ठिकठाक राखेका छौँ त?
पहिला विश्व आँखाबाट हेरौँ। अझ पनि हामी प्रकृतिको धनी राष्ट्र हौँ। विश्व पाल्न सक्ने पानीको धनी देश। विश्वलाई कमान्ड गर्न सक्ने अथवा विश्व शान्तिको बिगुल फुक्ने अग्लो चुचुरो सगरमाथाको देश। सानो तर पाटेबाघ, गैँडा, हात्ती, डाँफे, मुनाल, कस्तुरी लगायत विशाल जैविक विविधताको खानी देश।
उर्बर माटोमा जे चाह्यो, त्यही फलाउन सक्ने धर्ती। कार्बन सञ्चिती गरेर डलर आर्जन गर्ने निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको माला लगाएको हरित धर्ती। बहादुर नेपालीहरूको पौरखी हातको धनी धर्ती। स्वच्छ शक्तिबर्द्धक हावा खेल्ने नीलो आकाशमुनिको बिछट्टै सुन्दर धर्ती। क्षेत्रीय आँखाबाट हेर्दा पनि उस्तै प्रकृतिको धनी हरित सुन्दर धर्ती नेपाल।
अब आफ्नै आँखाबाट हेरौँ, नापौँ र मूल्यांकन गरौँ आफ्नै धर्तीलाई। पानीको सतह दिनानुदिन भास्सिइरहेको छ। स्रोतहरू हराउने, सुक्ने, मासिने, नासिने भइरहेको छ। दुर्लभ वन्यजन्तुको वासस्थान चौतर्फी अतिक्रमणमा परेको छ। जैविक विविधतामा व्यापक ह्रास आएको छ। हावा, पानी, जमिनको प्रदूषण बढेर एउटा पवित्र पुण्यभूमि विश्वकै अग्र प्रदूषित तथा फोहोरी देशमा दर्ज भएको छ।
मुलुक प्राकृतिक प्रकोप, महामारी, रोग, भोक र बेरोजगारीले आक्रान्त भएको छ। जनता पीडाको सागरमा दिन बिताउन बाध्य छन्। शिक्षा र सीप बिनाको होनहार जनशक्ति र पौरखी हातले अरूको मरुभूमि धर्तीलाई स्वर्ग बनाइदिएका छन्।
चुरे, खोलानाला, पानी, गिट्टी, बालुवा, ढुङ्गाको दोहन, लुटपाट, विनाश जारी छ र त्यो हाम्रो धर्तीको अमूल्य अंगले फेरि अरूकै देश निर्माण गरिरहेको निरीह अवस्था छ। अखण्ड भूगोलको सिमाना हजारौँ ठाउँमा मिचिएको छ र मातृभूमि घट्दो खुम्चँदो छ।
आफ्नो स्वर्गजस्तो प्राकृतिक धर्ती रातारात मरुभूमीकरण हुँदोछ। चुरे, खोलानाला, पानी, गिट्टी, बालुवा, ढुङ्गाको दोहन, लुटपाट, विनाश जारी छ र त्यो हाम्रो धर्तीको अमूल्य अंगले फेरि अरूकै देश निर्माण गरिरहेको निरीह अवस्था छ। अखण्ड भूगोलको सिमाना हजारौँ ठाउँमा मिचिएको छ र मातृभूमि घट्दो खुम्चँदो छ।
यति हुँदाहुँदै पनि हामीसँग धर्ती टल्काउने चम्काउने सम्भावनाका खानी छन्। प्रकृतिप्रेमले प्रकृतिका ती सबै अवयवहरू दिन दुईगुना रात चारगुना बढ्ने छन्। सौन्दर्यले भरपुर धर्ती हेर्न, छुन, खेल्न, पढ्न, ओर्लन आउने करोडौँ पर्यटकहरूलाई कसैले रोकेर रोक्न सक्ने छैन।
प्रकृतिको महिमा र उपदेयता बुझेका प्रकृति र संरक्षणप्रेमी नेपाली जनताको संरक्षणभाव ह्वात्तै बढेर गएको छ। मुलुकको राष्ट्रिय सेनाको हात, साथ र इमान्दार सहयोग प्राप्त छ। वर्तमान संकटकालीन घडीमा नेपाली सेनाले आफ्नो संरक्षण प्राथमिकता र जवाफदेहिता धेरै गुना बढाएको छ। प्रकृति र धर्ती हेर्न तथा उचित व्यवस्थापन र संरक्षण गर्न तहगत संरचनाहरू छन् र विश्वकै कडा र नमूना ऐन कानुन विद्यमान छ। यो सबै सुन्दर प्रावधान हेर्दा हामीकहाँ निराशा होइन, प्रचुर सम्भावना नै सम्भावनाको खानी छ।
यी सम्भावनाहरूबाट अधिकतम लाभ उठाउन हामीले जारी क्षति तत्काल बन्द गर्नुपर्दछ। थप क्षति हुन दिनु हुँदैन। प्रकृतिलाई फल्न, फुल्न, फुर्न दिनु पर्दछ। प्रकृति र धर्ती दुवैको विनाश रोकेर श्रृङ्गार बढाउन नेपाल सरकारको सच्चा सङ्कल्प चाहिन्छ। स्थानीयवासी हामी नागरिकहरूको इमान्दार खबरदारी, रखबारीको पहल र प्रयास जरुरी पर्दछ। सञ्चारकर्मीको ‘पृथ्वी बचाऊ’ अभियानको दरकार पर्नेछ।
नेपालका लागि प्रकृति र धर्तीको रक्षा, कल्याण, सम्मान गरेर समृद्धिको शिखरमा पुग्ने विकल्प उत्तम हुनेछ। जुन विकल्प भुटान, स्विट्जरल्यान्ड, स्क्यान्डेनेभियन मुलुकहरू, अस्ट्रेलिया र क्यानाडा लगायतका देशहरूले अनुकरण गरिरहेका छन्। कतिपय मुलुकहरूले मरुभूमिलाई हरित धर्ती बनाइसकेका छन् भने हामीलाई हरित धर्ती कायम राखे पुगेको छ।
यसका लागि विद्यमान संरचनाहरूलाई सक्रिय र अनिवार्य जवाफदेही बनाउन जरुरी छ। एउटै उद्देश्य बोकेका विभिन्न संरचनागत निकायहरूबीच तालमेल र सामञ्जस्यता कायम गर्न आवश्यक छ। कडा अनुगमन, नियमन, निर्देशन गरेर दण्ड पुरस्कार नीति अपनाउन अझै आवश्यक छ। त्यति भएपछि सम्भावनाहरू आफैँ फुर्ने र सफल हुनेछन्। मुलुक सधैँ सबैको स्वर्ग बनेर जूनताराजस्तै चम्किरहने छ।
नागरिकले के गर्ने ?
पृथ्वी गोलचक्कर छ। अपरम्पार छ। तर हाम्रो घरबारी, पाखा पखेरा, वनजंगल, कुवा–धारो र आकाश सानो र सीमित छ। हामी सबै हरेक नागरिकले त्यही सानो र आफ्नो अंशको धर्ती टल्काउने हो। सफा, सुग्घर पवित्र राखिदिने हो। त्यसैगरी टोल, गाउँ, समुदाय, नगर, प्रदेश र देश चम्किँदै जाने हो। हामी हाम्रो देश आफ्नो धर्तीको रक्षा, सम्मान, कल्याण गरौँ।
त्यसले क्षेत्रीय वातावरण र धर्तीलाई उज्यालो बनाउन योगदान पुग्नेछ। र, अन्ततोगोत्वा पृथ्वी सुन्दर, स्वस्थ र पवित्र हुनेछ। आजको दिनले सरकार, कारिन्दा, नागरिक, स्वयंसेवी, विद्यार्थी, बालबालिका सबैलाई प्रकृति र धर्ती रक्षा गर्ने उत्प्रेरणा दिओस्। धर्तीमाथि सम्मान प्रकट भएको व्यवहारमा देखियोस्। तब मात्र यो दिवसको सार्थकता सिद्ध भएको मानिने छ।
लेखक संरक्षणविद् हुन् ।
Facebook Comment