नेपालको विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जान प्रतिबन्ध

डिसी नेपाल
१४ वैशाख २०७८ १२:१२

काठमाडौं। विदेशबाट नेपाल आइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाने क्रम बढेपछि अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । विभागका सूचना अधिकारी तथा निर्देशक झंकनाथ खनालले एक सूचना जारी गर्दै बैशाख १५ गते राती १२ बजेदेखि प्रतिबन्ध लागू हुने जानकारी दिएका छन् ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले अर्को कुनै देशबाट नेपाल आउन र यहाँबाट तेस्रो मुलुक जान प्रतिबन्ध लगाइएको हो । नेपाल नै अन्तिम गन्तव्य बनाइ विदेशबाट फर्किन तथा नेपालमा नै रहेकाहरुलाई विदेश जान भने पहिलेकै नियम कायम रहेको विभागले जनाएको छ ।

पछिल्लो समय नेपाललाई ट्रान्जिट बनाइ तेस्रो मुलुक जाने भारतीयको संख्या ह्वात्तै बढेको थियो । भारतमा कोरोना संक्रमण अत्याधिक बढेपछि विश्वका कैयौं देशले भारतसँग आवागमन बन्द गरेका थिए । तर, ती देशहरुले नेपालसँगको आवागमन भने बन्द गरेका थिएनन् ।

यही व्यवस्थाको फाइदा उठाउँदै तेस्रो मुलुक जान भारतीयहरु नेपाल आउने गरेका थिए । पछिल्लो समय लैनचौरस्थित भारतीय दूतावासमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिने भारतीयको लामो लाइन देखिन थालेको थियो । यसरी भारतीय आउँदा नेपालमा समेत ठूलो परिमाणमा संक्रमण फैलिन सक्ने भन्दै चेतावनी दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *