जनमोर्चा सांसदका दुईवटा कोरोना रिपोर्ट, एकमा नेगेटिभ, अर्कोमा पोजेटिभ (रिपोर्टसहित)
काठमाडौं। गण्डकी प्रदेशमा बुधबार अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि सबै प्रदेशसभा सदस्यहरुको कोरोना परीक्षण गरियो। कोरोना रिपोर्ट नेगेटिभ आएपछि मतदान गर्न पाउने सहमति मंगलबार नै भइसकेकाले मतदान बुधबार नै हुने लगभग निश्चित थियो। तर, मतदान भएन। नाटकीय राजनीतिक घटनाक्रम भए।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही प्रदेशसभा बैठकमा अनुपस्थित भए। उनको खोजी भयो, तर भेटिएनन्। उनी पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना रहेको उनका स्वकीय सचिव मिलन हमालले फेसबुकमार्फत सार्वजनिक गरे। बुधबार बिहान आएको कोरोना रिपोर्टमा उनी संक्रमित थिएनन्। संक्रमित नभएको व्यक्ति आईसीयूमा भर्ना देखेपछि आशंका उब्जियो। तर, उनीसाग दुईवटा रिपोर्ट रहेको खुलेको एक रिपोर्टमा उनी संक्रमित नभएको पुष्टि भएको छ भने अर्को रिपोर्टमा उनी संक्रमित रहेको पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराको रिपोर्टमा उनमा संक्रमण छैन। तर, लाइफ केयर डाइग्नोस्टिको रिपोर्टमा उनमा संक्रमण देखिएको छ।
अब कुन रिपोर्ट सत्य हो भन्ने कुरा भने स्पष्ट छैन। तर, यी सबै घटनाका पछाडि बुधबार हुने मतदान भने कारक रहेको घटनाक्रमले देखाउँछ। जनमोर्चाले साथ नदिए विपक्षीले ल्याएको अविश्वासको प्रस्ताव असफल हुने पक्का थियो। तर, जनमोर्चाको केन्द्रले भने अविश्वासको प्रस्तावमा समर्थन गरेको थियो। प्रदेशका तीन मध्ये दुईजना भने अविश्वास प्रस्तावको विपक्षमा रहेको घटनाले देखाउँछ। त्यसैले उनले नाटक गरेको काँग्रेसको आरोप छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईसीयूमा रहेका सांसद शाहीलाई भेटेका छन्।
शाही सम्पर्कमा नआएपछि जनमोर्चा प्रमुख सचेतक पियारी थापाले सांसद शाहीको अवस्था अज्ञात रहेकाले उनको अवस्थाबारे जानकारी नभएसम्म बैठक नचलाउन माग गर्दै सभामुख नेत्रनाथ अधिकारी समक्ष निवेदन दिइन्। उनको माग अनुसार बैठक अनिशिचतकालका लागि स्थगित भएको छ। हाललाई गुरुङको सरकारमाथिबाट संकट पनि टरेको छ।
Facebook Comment