राष्ट्रियसभाको उपनिर्वाचनमा ५ वटा दलले भाग लिने

डिसी नेपाल
१६ वैशाख २०७८ १६:५४

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि ५ वटा दलले भाग लिने भएका छन्। निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ता गराउन वैशाख १४ गतेसम्मको समय सीमा दिएको थियो।

आयोगका अनुसार सो समय सीमामा ५ वटा दलले निर्वाचन प्रयोजकनका लागि दल दर्ता गराएका छन्। आयोगका अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपाले चुनावमा भाग लिने भएका हुन्।

आयोगले दल दर्ता गरी पाँचवटा दललाई चुनाव चिन्हसमेत प्रदान गरेको छ। आयोगका अनुसार मतपत्रको पहिलो स्थानमा एमालेको सूर्य चुनाव चिन्ह हुनेछ भने दोस्रो स्थानमा काँग्रेसको रुख, तेस्रोमा माओवादीको गोलकार भित्र हँसिया हथौडा, चौथमा रप्रपाको हलो र पाँचौमा नेमकिपाको मादल चिन्ह हुनेछ।

बागमति प्रदेशमा अन्य समूहबाट राष्ट्रिय सभामा निर्वाचित रामबहादुर थापाले दल त्याग गरेपछि रिक्त भएको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो। थापा माओवादीबाट निर्वाचित भए पनि उनी हाल एमालेमा प्रवेश गरेका छन्। एमालेले उनलाई पुनः उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। तर, अन्य दलहरुले भने उम्मेदवार चयन गरिसकेका छैनन्। यही वैशाख २४ गते उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभाका सदस्यहरुले मात्र मतदान गर्न पाउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *