ओली सरकारविरुद्ध काँग्रेस–माओवादीलाई समर्थन गर्ने उपेन्द्र–बाबुरामको तयारी

डिसी नेपाल
१७ वैशाख २०७८ १७:५३

काठमाडौं। वैकल्पिक सत्ता गठबन्धनका लागि निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा)को एक समूहले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षीहरुलाई सहयोग गर्ने तयारी गरेको छ। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले सरकारविरुद्ध आउने अविश्वास प्रस्तावमा काँग्रेस र माओवादी केन्द्रलाई समर्थन गर्ने तयारी गरेको हो।

यही वैशाख १४ गते जसपा बहुमत पक्षको बैठकमा अविश्वास प्रस्ताव आएमा काँग्रेस र माओवादीलाई समर्थन गर्ने समहमित भएको उपेन्द्र यादव समूहका नेता मोहम्मद इस्तियाक राइले डिसी नेपाललाई बताए। उनले भने, ‘१४ गते बसेको बैठकले लुम्बिनीका चारजना सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो। र ओली सरकारविरुद्ध अविश्वास प्रस्तावलाई समर्थन गर्ने कुरा भएको हो। अविश्वासको प्रस्तवबारे भने निर्णय भइसेको छैन।’

उनले प्रतिगमनविरुद्धको लडाइँमा आफूहरु काँग्रेस र माओवादीलाई साथ दिने निष्कर्षमा रहेको बताए। उनले अविश्वास प्रस्तावबारे छिटै बहुमतबाट निर्णय लिइने बताए। उनले अध्यक्ष महन्थ ठाकुरहरुले बैठक नबोलाउँदैमा पार्टी अनिर्णयको बन्दी बन्न नसक्ने बताए।

ओली सरकारलाई साथ दिने कि विपक्षीलाई साथ दिने भन्नेमा जसपामा तिब्र विवाद भएको छ। अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओली सरकारकै पक्षमा छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई जसरी पनि ओली सरकारको विकल्प खोज्नुपर्नेमा छन्।

५१ सदस्यीय जसपामा उपेन्द्र–बाबुराम समूहको स्पष्ट बहुमत देखिएको छ। त्यसैले सरकारसँग निरन्तर छलफलमा रहेका महन्थ ठाकुरले सरकारलाई समर्थन दिने विषयमा निर्णय लिन सकिरहेका छैनन्। तर, उनले ओली सरकारलाई साथ दिने बचन दिइसकेका छन्। जसअनुसार सरकारले मधेस–थरुहट आन्दोलनका मुद्दा फिर्तासमेत लिइसकेको छ।

अहिले प्रधानमन्त्री ओली माओवादीको समर्थनमा बहुमतमा छन्। तर, माओवादीले प्रधानमन्त्रीको राजीनामा मागिरहेकाले उसले परिस्थिति अनुकल बन्दा समर्थन फिर्ता लिने तयारी गरिसकेको छ। जसपाको एउटा समूहले विपक्षीको गठबन्धनलाई साथ दिने तयारी गरेकाले माओवादीले समर्थन फिर्ता लिने सम्भावना बढेर गएको छ। २७५ सदस्यीय प्रतिनिधिसभा अहिले २७१ मा सिमित भएको छ। एमालेसँग १२१ सिट छ। उसलाई बहुमतका लागि १५ सिट आवश्यक छ। तर, जसपाएको एक समूहलेमात्र ओलीलाई समर्थन गर्दैमा सरकारलाई बहुमत पुर्याउन समस्या हुन सक्ने अवस्था देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *