एमाले स्थायी कमिटी बैठक : कोरोना महामारी नियन्त्रणमा गम्भीर भएर लाग्न सरकारलाई सुझाव

डिसी नेपाल
१९ वैशाख २०७८ १३:५६

काठमाडौं। सत्तारुढ दल एमालेको स्याथी कमिटी बैठकले कोभिड–१९ नियन्त्रण गर्न गम्भीर भएर लाग्न सरकारलाई सुझाव दिएको छ।

आइतबार दिउँसो बनेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले कोरोना महामारी भयावह बन्दै गएको निष्कर्ष निकाल्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी भएर लाग्न सुझाव दिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

‘बैठकमा कोभिड–१९ का विषयमा छलफल भयो,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘कोभिड नियन्त्रणका लागि गम्भीर भएर लाग्न बैठकले सरकारलाई सुझाव दिएको छ। कोभिड नियन्त्रणमा लाग्न पार्टीपंक्तिलाई पनि निर्देशन दिने निर्णय भएको छ।’

बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराएका थिए। ओलीले लुम्बिनी प्रदेशमा भएको राजनीतिक घटनाक्रमका विषयमा ब्रिफिङ गरेका थिए।

लुम्बिनी प्रदेशमा शंकर पोखरेलको नेतृत्वका एकल सरकार बनाउने निर्णय गरेको केही समयमा नै एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य विमला ओली माओवादी केन्द्रमा प्रवेश गरेको विषयले चर्चा पाएको थियो।

तर बालुवाटारमा प्रदेशसभा सदस्य ओली माओवादी प्रवेश गरेको नभइ ‘अपहरण’ गरेको सूचना आएको जानकारी गराइएको थियो। ‘विमला ओलीलाई अपहरण गरेको सूचना आएको छ,’ बालुवाटार निकट स्रोतले भन्यो, ‘यो सबै पूर्व तयारी भइसकेको रहेछ। नत्र एमालेको स्पष्ट बहुमत हुँदाहुँदै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर आजै मतदान गराउन खोज्नुको अभिप्राय के हो?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *