शक्तिशाली बन्न राजीनामा दिएका पोखरेल कसरी अल्पमतमा ? सांसदको पार्टी प्रवेश कि अपहरण ?

डिसी नेपाल
१९ वैशाख २०७८ १४:०७

काठमाडौं। २ वर्षसम्म ढुक्क र सुरक्षित तरिकाले मुख्यमन्त्री बन्ने योजनासहित पदबाट राजीनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अचानक अल्पमतमा परेका छन् । प्रदेशसभामा कायम रहेको सभामुखसहितको ८१ सदस्यमध्ये बहुमत ४१ सदस्य आफ्नो पार्टी नेकपा एमालेसँग भएको भन्दै राजीनामा दिएका मुख्यमन्त्री पोखरेललाई नराम्रो धक्का लागेको छ ।

पछिल्लो समय दाङबाट निर्वाचित सांसद बिमला ओलीले अचानक माओवादी प्रवेश गरेको खबर आएको छ । तत्कालीन प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधनपछि उपचुनावमा उनको ठाउँमा चुनाव लडेकी बिमला अहिले माओवादी प्रवेश गरेको अवस्थामा एमालेसँग मात्रै ४० सिट हुन्छ जुन शंकर पोखरेललाई बहुमत पुग्न १ सिट कम हो ।

कूल ८७ सदस्य भएको लुम्बिनी प्रदेशसभामा अहिले ८१ सदस्य कायम छन् । तीमध्येकी बिमला ओली माओवादी प्रवेश गरेकी हुन् भने कूल कायम सांसद संख्या ८० हुन्छ । किनकि उनले माओवादी प्रवेश गरे सांसदको हैसियत पाउँदिनन् । बरु उनको पद जान्छ र उनको प्रदेशसभा सदस्य पद रिक्त हुन्छ । अहिले लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका २ र राजमोका १ सांसद छन् ।

एकातिर बिमलाले माओवादी प्रवेश गरेको हल्ला चलिरहँदा अर्कोतिर एमालेको उच्च तहले भने उनलाई अपहरण गरिएको दावी गरेको छ । डिसीनेपालसँगको कुराकानीमा एमालेका एक उच्च नेताले आफूलाई अपहरणको सूचना आएको दावी गरेका छन् । तर, उनको अपहरण भएको भन्ने समेत पुष्टि हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *