कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु भएमा प्रदेश १ सरकारले २५ लाख दिने

डिसी नेपाल
२२ वैशाख २०७८ १८:५६

काठमाडौं। प्रदेश नं १ सरकारले प्रदेश सरकारद्वारा खटाइएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएका आश्रित परिवारलाई पच्चीस लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।

मंगलबार बसेको प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले कोरोनाको पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको संक्रमणका कारण मृत्यु भएमा निजको परिवारलाई नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकले संक्रमित भएका कर्मचारीहरुलाई प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च तथा होम आइसोलेसनमा बस्न सक्ने अवस्था नसक्ने कर्मचारीको संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहाकार धुब्र सुवेदीले जानकारी दिए।

बैठकले कोरोना रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरुको तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय समेत गरेको छ।

त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी होटल क्वारेन्टिनमा बस्नुपर्ने भएमा तोकिए बमोजिमको खाना तथा खाजा सहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रदेश सरकारले प्रबन्ध गर्ने निर्णय समेत गरेको छ।

उक्त क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने बैठकले निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *