हामी मान्छे बिचित्रका !
हामी मान्छे अहिले हाम्रो समयको सबभन्दा कठिन चरणमा छौं। कोभिढ १९ संक्रमण महामारीले हामीलाई यो कठिन मोडमा पुर्याएको हो। यो कठिन मोडमा हामी अहिले बिचलित छौं। यही बिचलनमा हाम्रा बिचार र व्यवहारहरु परस्पर बिरोधाभासका प्रतिक बनेका छन्।
देशका आधाउधी भागमा अहिले निषेधाज्ञा छ। निषेधाज्ञाले मान्छेका स्वच्छन्द गतिबिधि नियन्त्रित छन्। यस्तो बेलामा हाम्रा बिचार र व्यवहारको तालमेल मिल्न छोडेको छ। कहाँ कहाँ र कसरी तालमेल मिलिराको छैन भन्ने हेर्न र बुझ्न सडकमा निस्कनै पर्दैन।
म बेलाबेला सामाजिक सञ्जाल हेर्छु। टिभिमा आक्कल झुक्कल समाचार हेर्छु। हेर्नै पर्ने बाहेक बिभिन्न अनलाइनका हेर्नै मन नलाग्ने समाचारहरु पनि सामिजक सञ्जाल मार्फत टुप्लुक्क मोबाइल वा ल्यापटप को स्कृनमा आउँछन्।
म प्रायः भ्याएजति समाचार सुन्छु, हेर्छु र पढ्छु। समाचार हेर्दा, पढ्दा र सुन्दा यस्तो लाग्छ मान्छेलाई जसले सबभन्दा पहिला डरछेरुवा भन्यो उसले ठिक भन्यो। चाउरिएको मरिचजस्तो अनुहार लाएका, हाँस्न बिर्सेका, एकोहोरिएका, भविष्यको चिन्ताले थलिएका मान्छे यो बेला समाचारमा छ्यास्छ्यास्ती भेटिन्छन्। मान्छे डरछेरुवा हो र अहिले उ सबभन्दा धेरै कोभिढ १९ भाइरससँग डराएको छ। र उ कतै नगइ घरमा बसेको छ।
समाचारमा मैले देख्ने र पढ्ने मान्छे कोरोनाबाट कसरी बच्ने भन्नेमा सचेत छ। सचेतनाको तह यति उच्च छ की घरभित्र एक्लै बस्दा समेत उसले मास्क खोल्दैन। पानी या चिया पिउँदा समेत मास्कको अलिकति भागमात्र खोल्छ। जो यो सब गर्दैन वा सचेत छैन वा स्वास्थ्य मापदण्ड पालना गर्दैन उ या त संक्रमित या मृत्यु हुनेको सूचीमा पर्छ। समाचार हेर्दा, पढ्दा र सुन्दा मान्छेको बारेमा मलाई लागेको एउटा कुरा यो भयो।
तर लागेको कुरा सधै सही हुदैन। शहरमा यतिबेला निषेधाज्ञाको बीचमा बिहान बेलुका किनमेलका लागि घर बाहिर निस्कन सकिन्छ। हल्लिदै वा टोलाउँदै वा पुलिसको आँखा छलेर सडकसम्म पनि पुग्न सकिन्छ। निस्कन मन लागेन भने घरकै झ्याल वा बार्दलीबाट बाहिर चियाउन पाइन्छ।
म पनि प्रायः बिहान दुध र तरकारी तथा फलफूल किन्न घर बाहिर निस्कन्छु। ननिस्केको दिन झ्याल वा बार्दलीबाट देखिनेसक्नेजति बाहिर चियाउँछु। बाहिर चियाउँदा म सामाजिक सञ्जाल र समाचारको भन्दा फरक दृष्य देख्छु।
म देख्छु सबै मान्छेहरु घर बाहिर निस्केका छन्। निषेधाज्ञा हटिसक्यो। अनि मान्छे पहिले जसरी नै घर छेउछाउका सडकमा धक फुकाएर मस्तसँग हिडेका छन्। हिड्न मन नलाग्नेहरु एउटा न एउटा कुना वा छेउ रोजेर कोही हिड्नेलाई हेर्दै कोही गफ गर्दै उभिएका छन्। कोही हाँसेका छन्। कोही कोही भने निरास पनि देखिन्छन्। तरकारी, फलफूल र खाद्यान्नका पसलमा भौतिक दुरी कायम गर्ने संकेत छन् तर त्यसलाई कसैले पालना गरेका छैनन्। पसल अगाडि उभिनेहरु सकेसम्म एकले अर्कोलाई ठेल्नै तयार छन् तर भौतिक दुरी मान्न तयार देखिन्नन्।
कोही बडो सानका साथ गफ चुट्दैछन् प्रहरीलाई क्या चक्मा दिएँ भनेर। मानौं प्रहरीले हिड्न नदिएर सबैजना घरमा थन्किनु परेको हो। या यसरी बिहान बेलुका मात्र मान्छेलाई फुक्काफाल हुन अवरोध प्रहरीबाटमात्र भैरहेछ।
अर्थात मान्छेको डर कोरोना संक्रमणसँग हैन प्रहरीसँग हो। निषेधाज्ञा कोभिढ फैलिन नदिनलाई लगाएको हैन। बरु मान्छेलाई काममा जान, मन लाग्दी हिड्न नदिन र भिडभाँडमा बसेर संसारका गफ चुट्न नदिन निषेधाज्ञा लगाइएको हो।
मान्छेको यस्तै बिरोधाभाष भनाइ र गराइले आज कोभिड संक्रमण नियन्त्रण बाहिर जाँदैछ। र यसको सबभन्दा ठुलो असर पनि मान्छेलाई पर्छ। त्यही असर सम्झेर उ डराएको छ। र पनि उसले बिहान बेलुका खेलाँची गरिरहेको छ। बिहान बेलुका बाहेक अरुबेला समेत मान्छेले गरेको खेलाँचीकै परिणाम हो अहिलेको अबस्था।
मेरो छिमेकमा अलि अस्ति एकजना आन्टीले आफुजस्तै अरुलाई सम्झाइरहनु भएको थियो। ुघर बाहिर ननिस्कने, भिडमा नजाने, मास्क लगाउने, स्यानीटाइजर वा सावुन पानीले नियमित हात धुने र एकअर्काबीच टाढा बसेर बोल्ने। बाहिरबाट आएका परिवारकै सदस्य भएपनि उनीहरुबाट पनि टाढै बस्ने। बिहे भोजभतेर तथा पार्टीहरुमा त जाँदै नजाने।ु यि सबै तीनै आन्टीका उपदेश थिए। यो सबै भन्दैगर्दा वहाँको मुखमा माक्स थिएन। मास्क खै भनेर पनि कसैले सोधेन।
केही दिन पहिले तीनै आन्टीलाई फेसबुकमा देखें। बिहेभोजमा मास्क समेत नलाइ आन्टीले दिएका पोज हेर्न लायक थिए। आज बिहान थाहा भयो आन्टीको पिसिआर रिपोर्ट सकारात्मक आएछ। अर्थात उनलाई कोरोना भएछ। आन्टीसँगै विहे भोज खानेहरु अरु पनि थला परेका छन् रे।
हरेकका छिमेकमा नभए टोलमा हिजोआज यस्तै भैरहेको छ। भन्ने एकथोक र गर्ने अर्कोथोकले आज मान्छेले आफ्नै काल अर्थात कोभिढ १९ भाइरस निम्त्याइरहेको छ।
Facebook Comment