माधव नेपालाई भेटेका दुगड भन्छन्ः कुरा निकै सकरात्मक छ

डिसी नेपाल
२४ वैशाख २०७८ १६:०४

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको विवाद निर्णायक मोडमा पुगेपछि विभाजन रोक्न भन्दै नेताहरु सक्रिय भएका छन्। बुधबारयता सघन छलफल थालेका नेताहरुको शुक्रबार पनि छलफल भेटघाट जारी छ। यसैक्रममा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहाकारसमेत रहेका एमाले सांसद मोतिलाल दुगड एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट्न उनको निवास कोटेश्वर पुगेका छन्।

नेता नेपालसँगको छलफलपछि दुगडले छलफल सकरात्मक रहेको जानकारी दिएका छन्। नेता नेपाल, दुगड र सोम पाण्डेबीच कोटेश्वरमा भएको छलफल पार्टीको विभाजन रोक्ने विषयमा केन्द्रित रहेको थियो। छलफलपछि डिसी नेपालसँग कुरा गर्दै दुगडले भने, ‘छलफल निकै सकरात्मक भएको छ। विवाद अब सहमति नजिक पुगेको छ। उहाँ (नेता नेपाल) जसरी पनि पार्टीको विभाजन रोक्नुपर्छ भन्नेमा हुनुहुन्छ। अध्यक्ष पनि विभाजन रोक्नुपर्छ भन्नेमा हुनुहुन्छ।’

उनका अनुसार नेता नेपालले अब अध्यक्ष ओलीसँग हुने वार्ता निःशर्त हुनुपर्नेसमेत बताएका छन्। शुक्रबार नै ओली र नेपालबीच वार्ता गराउन दुगड सक्रिय छन्। तर, शुक्रबार दुई नेताबीच वार्ताको सम्भावना न्युन रहेको दुगडको भनाइ छ। उनका अनुसार नेता नेपालले अब वार्तामा बस्दा गृहकार्य गरेरमात्र बस्ने बताएका छन्। त्यसैले शुक्रबार समय नपुगे शनिबार ओली र नेपालबीच वार्ता हुनसक्ने सम्भावना छ।

उता वालुवाटारमा पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले छलफल जारी राखेका छन्। बाुलवाटारमा शुक्रबार नेता नेपाल निकट रहेका गोकर्णराज विष्टसँग छलफल गरेका छन्।

बिहीबार घनश्याम भुसाल, योगेश भट्टराईसँग पनि ओलीले छलफल गरेका थिए। त्यसअघि विष्णु पौडेल, योगेश र घनश्यामबीच् पनि छलफल भएको थियो। २७ गते प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने प्रस्ताव गरेपछि त्यसअघि नै पार्टी भित्रको विवादलाई समाधान गर्ने गरी छलफलहरु भएका हुन्। माधव समूहले अविश्वासको प्रस्तावमा सहयोग नगर्ने सम्भावना बढेपछि ओली सक्रिय भएका हुन्। र ओलीसँग मिल्नका लागि यो नै अन्तिम मौका भएको माधव समूहको बुझाइ छ। यदि विश्वासको मतको प्रस्तावमा माधव समूहले सहयोग गर्ने वातावरण बनेन भने एमाले विभाजन हुने लगभग निश्चित छ।

माधव समूहले २०७५ जेठ २ गतेकै अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने बटम लाइन बनाएको छ जसलाई ओलीले स्वीकार गरेका छैनन्। त्यसैले अब हुने वार्तामा कसरी मिलन बिन्दु खोजिन्छ त्यो भने कुनै पनि पक्षबाट खुलाइएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *