हेलचेक्र्याइँ र ओभर कन्फिडेन्सले संक्रमित बनाउँछ

डिसी नेपाल
२६ वैशाख २०७८ १४:२०

‘चीनमा देखियो कोरोना नामको भाइरस’। उ बेला यो शीर्षकको समाचार सुन्दा उति सारो ध्यान गएन। किन भने त्यो चीनमा देखिएको थियो, नेपालमा थिएन। त्यो भन्दा अगाडि सार्स, इबोला, एचआइभि जस्ता भाइरसको नाम सुनेको थिएँ।

एचआइभी भाइरस त सानै देखि सुन्दै आएको पनि हो। पछिल्लो पटक सुनेको भाइरस भनेको रोटाभाइरस थियो जुन बालबालिकाहरुमा झाडा पखाला गराउने भाइरस हो भन्ने बुझेको थिएँ। त्यो पनि रोटाभाइरस विरुद्धको खोप नेपालमा आउन लाग्दा त्यसमा केही समय काम गर्ने अवसर पाएकाले त्यसबारे नजिकबाट बुझ्न पाएको थिएँ।

त्यही भएर पनि भाइरस भन्ने वित्तिकै उत्ति सारो डर लाग्ने अवस्था थिएन। किनभने हाम्रो पुस्ताले न कुनै पनि भाइरससँग जुध्नु परेको थियो, न त महामारीकै रुपमा नेपाल तथा भारतमा देखिएको थियो। यहाँ भारत नै उल्लेख गर्नु पर्ने खुल्ला सिमाना हुँदा भाइरसलाई पनि आवतजावतमा सहजता हुने रहेछ भन्ने त अहिले बुझियो।

चीनको वुहानमा देखिएको भाइरस विस्तारै डरलाग्दो भाइरस हो भन्ने समाचार सुन्न थालियो। त्यसका बारेमा यत्रतत्र सर्वत्र गफ हुन थाल्यो। मुसाबाट सरेको, चमेराबाट सरेको भन्ने जस्ता कुराका बारे चर्चा हुनुको पछाडि चिनियाँहरुले ती जिवजन्तुको मासु खान्छन् भन्ने थियो।

सामाजिक संजालहरुमा फाट्टफुट्ट त्यस्ता भिडियोहरु भाइरल भइरहेका थिए। यहाँ कुरो आयो खानपानको, बानी व्यवहारको। यदि खानपान र बानी व्यवहार संतुलित र सभ्य भएमा कुनै पनि समस्या आउँदैन भन्ने कुरा त हामी सबैलाइ थाहा नै थियो र छ पनि।

कोरोनाको चर्चा बाक्लिएसँगै एन्टेना फाउण्डेसन नेपाल र युनिसेफले कोरोना भाइरसको बारेमा अव जनमानसमा सचेतना दिन ढिलो गर्नु हुँदैन भनेपछि नेपालमा नोभल कोरोना वा कोभिड १९ का लक्षण र जोगिन सक्ने उपायहरुका बारेमा रेडियो सन्देश निर्माण गरियो।

त्यो नै नेपालको सन्दर्भमा पहिलो कोभिड १९ को रेडियो सन्देश थियो। जुन देशभरीका रेडियोहरुबाट बारम्बार प्रशारण भएको थियो। म पनि आफ्नो आवाजमा पनि त्यो सन्देश रेकर्ड गरिएकाले मख्ख हुनु स्वभाविकै थियो। संचारकर्मी भएका नाताले जनमानसलाई सूसुचित गर्नका लागि केही त गर्न सकियो भन्ने हल्का घमण्ड गरियो भनुम् न।

दिन, हप्ता थपिँदै जाँदा कोरोना भाइरसका बारेमा हामीलाई धेरै कुराहरु थाहा हुन थाले। कहिल्यै नसुनेका वा प्रयोग नगरिएका शब्दहरुसँग हाम्रो राम्रै परिचय हुँदै गयो। भाइरसले चीन हुँदै सात समुन्द्र पारि युरोप, अमेरिकामा ताण्डव मच्चाइरहेको अवस्थासँग हामी जानकार हुँदै गर्दा नेपालमा पनि कोभिड १९ का संक्रमित भेटिए भन्ने कुराले डर थप्दै लगेको थियो।

छिमेकी मुलुक भारतमा पनि अवस्था बिग्रदै गइरहेको सुन्दै गर्दा विपद् नजिकै आइसकेको कुरा हामीले अनुमान गरिसकेका थियौं। कार्यालयमा पनि हामी सबै पूर्वतयारी कसरी गर्ने भन्ने निरन्तर छलफलमा थियौ साथै हामीसँग प्लान ’ए’, प्लान ’बि’ हरु पनि बन्दै गरेका थिए।

त्यो बेलासम्म हामीले कोरोना बीमा पनि गराइसकेका थियौं तर भरसक त्यो विमा कसैले दावी गर्न नपरोस भन्ने सबैको आशय थियो।
२०७६ चैत्र ११ गते देखि ’लकडाउन’ शुरु भएसँगै दिनचर्याहरु फेरिँदै गए। चहलपहल शून्य प्राय हुन थालिसकेको थियो।

ढल बग्ने खोलाहरुको पानी पनि संग्लो देखिन थालिसकेको थियो। प्रदुषण नहुँदा हावा पनि स्वच्छ र सफा भएको भान हुन थालिसकेको थियो। आकाश खुल्ला थियो। बसन्त ऋतु वास्तवमै राम्रो देखिएको थियो। एक प्रकारले प्रकृतिले सकारात्मक उर्जा प्रवाह गरिरहेझैं महशुश भइरहेको थियो। तर यस्तो अवस्था सिर्जना त त्यही भाइरसको कारणले नै भएको थियो।

संक्रमितको संख्या थपिँदै गएका समाचारहरु पनि थपिँदै गएका थिए। धुलिखेल अस्पतालमा एक जना महिलाको कोरोना भाइरसका कारण मृत्यु भयो भन्ने सुनिसके पछि सबैको मनमा चिसो पसिसकेको थियो। एकातिर लकडाउनले गाँउ शहर सुनसान हुँदै गइरहेको थियो भने घरको बसाइ, डेराको बसाई संकुचित हुँदै गइरहेको थियो।

‘ए नेपालीलाई केही हुँदैन। नेपालीको खानपानमा पहिलादेखि नै भाइरसलाई परास्त गर्ने मसालेदार खानेकुराहरु, जडिबुटीहरु जस्तै बेसार, अदुवा, अलैची, दालचिनी, हर्रो, बर्रो, अमला, ठूलो ओखती, पाखनवेत, जेठीमधु, मरिच, ल्वाङ, सुकुमेल र धेरैलाई नयाँ लागेको गुर्जो जस्ता जडिबुटी खाए पछि त कोरोना सोरोना छेउ नि पर्दैन।’

यी र यस्ता कुरा सुने पछि ’हो कि क्या हो’ लाग्ने धेरै भए। मलाई पनि कहिलेकाँही त्यस्तै लाग्थ्यो र एक किसिमले ढुक्क जस्तै भइन्थ्यो पनि। ‘सूचनाका विश्वाशिला श्रोतहरु’ बाटै त्यस्ता कुरा आए पछि त पत्याउनु नि पर्यो। यसैबीच रेडियो, टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजालमा धेरै नयाँ नयाँ विज्ञहरुका कुरा हामीले सुन्यौं। यता कोरोनाको संक्रमण त बढी नै रहेको थियो।

मृतकको संख्या सरकारले गन्न थालिसकेको थियो। मैले पनि आफूलाई घरमै बसेर प्रविधिमैत्री बनाउँदै आफ्ना कार्य गर्नुको विकल्पसँग अभ्यस्त हुनै पर्ने थियो। सँगसँगै दैनिकीलाई तनावमुक्त बनाउनका लागि मनोरञ्जन र अन्य रचनात्मक कार्यमा आफूलाई व्यस्त गराउन प्रयत्न गरियो।

लकडाउनका बेला घर घरमै बसेर रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्ने अभ्यास पनि गरियो। रेडियो नाटक रेकर्डिङलाई पनि त्यसै गरि रेकर्डिङ गरियो, जुन अर्को नौलो र सफल प्रयोग थियो। असहजताले चुनौती सँगसँगै अवसर पनि दियो र चुनौतीलाई च्यालेन्ज गर्दै अवसरहरुलाई नतिजामा बदल्दै लगियो।

कोरोनासँग जोगिँदै जोगिँदै दिन महिनाहरु वितिरहेका थिए। पर्वहरुको मौसम शुरु भइसकेको थियो र पर्वहरुलाई सभ्य र संयमित भएर स्वास्थ्य मापदण्ड अपनाउँदै मनाउनु पर्ने पनि थियो। हर सम्भव प्रयास गर्दा गर्दै पनि, स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै पनि दशैँको टिकाको दुई दिनपछि विहान उठ्दा अचानक स्वाद र गन्ध गएको थाहा पाएपछि केही न केही गडबड त भयो भन्ने लाग्यो।

धेरै सम्झिँदा पनि सम्भावित संक्रमणको अवस्था कसरी आयो भन्ने यकिनका साथ ठम्याउनै सकिन। अँ, त्यो बेला आफूलाई कोरोनाको लक्षण देखियो भनेर फ्याट्ट भनि हाल्न सक्ने अवस्था पनि थिएन। किन भने कोरोनाले समाजलाई भयंकर डर दिइसकेको थियो भने कोरोना संक्रमितलाई वा संक्रमित बस्ने घर वा टोललाई नै निषेधित जस्तो अवस्था सिर्जना गरिसकेको थियो।

सम्भावित लक्षण देखिए पछि आफूलाई जोगाउँदै परिवारका अन्य सदस्यलाई पनि जोगाउनु पहिलो सर्त थियो नै। संक्रमण भएको हो कि हैन भन्ने जँचाउन केन्द्रीय प्रयोगशाला टेकू गएँ। भोलिपल्ट मोबाइलमा मेसेज आयो। त्यो मेसेज खोलेर हेर्न निकै गाह्रो भयो। जिउमा निकै नै प्रेशर परे जस्तो र जिउ पुरै ताते जस्तो भएको थियो।

अन्ततः नतिजा आयो ‘पोजेटिभ’। भइयो कोरोना संक्रमित र सरकारी तथ्यांकमा पनि म एक थपिएँ। हुन त शंका लागेदेखि नै घरमा आफूलाई ’आइसोलेट’ गरिसकेको थिएँ र अव संक्रमण नै भएपछि त अझ सतर्क हुनु पर्ने नै भइयो।

त्यस्तो अवस्थामा परिवारका सदस्य चिन्तित हुनुको सट्टा आ केही हुँदैन, पोषिलो झोलिलो खानेकुरा खाने, घाममा बस्ने, योगा गर्ने, ध्यान गर्ने, नाच्ने गाँउने गर्ने, डाक्टरले सल्लाह दिए अनुसारका केही ‘सप्लिमेन्ट्री’ हरु खाने, बाफ लिने गरे ठिक भैहाल्छ भनिसके पछि आधा उधी त त्यही बेला ठिक भैसकेको जस्तो लागि सकेको थियो।

पुस्तकहरु पढ्ने, सिनेमाहरु हेर्ने, ‘स्टारमेकर’मा गीत रेकर्ड गर्ने, योगा तथा व्यायाम गर्ने, खानपानमा ध्यान दिने र केही नयाँ कुराहरु सिक्ने गर्दै जान थालेपछि विस्तारै विस्तारै स्वाद र गन्ध पनि फर्किँदै गएको थियो। एउटा कुरा चाँही जीवनमा स्वाद र गन्ध नहुँदा पनि एक प्रकारको रमाइलो नै हुने रहेछ। जे खाए पनि उस्तै। मिठो भयो भएन भन्ने कुराले केही असर नै नगर्ने। जस्तो पकाए पनि भयो, जसरी बनाए नि भयो। खानेकुराको नामले नि केही फरक नपार्ने। जे होस सम्झन लायकको अचम्मका लक्षणहरु दियो कोरोनाले।

कोरोनाको औषधि नभएको यस्तो बेला आत्मविश्वास, साथीभाइ आफन्तसँगको कुराकानी, सुधारिएको दैनिकी र सकारात्मक सोच नै ठूलो औषधि हुने रहेछ। जित्छु भन्ने दृढता र इच्छाशक्तिले कति फरक पार्न सक्दो रहेछ भन्ने त्यो बेलाको ठूलो सिकाइ र बुझाइ भयो।

योबीचमा धेरै साथीभाइ र आफन्तहरुलाई आफ्नो अनुभव र भोगाइका आधारमा कोरोनालाइ जित्न सकिन्छ है भनेर हौशला दिन पाइयो। वर्षौं वर्ष कुराकानी हुन नपाएका साथीभाइ र आफन्तहरुसँग यही बीच कुराकानी पनि हुन पायो, सम्बन्ध सुधारमा पनि सहयोग भयो।

अनुशासनमा बसेर करिब ३ हप्तामा कोरोलाई जित्न सफल भएँ। कोरोना नेगेटिभ भएको रिपोर्ट हात पर्ने बित्तिकै म एकैछिनमा मख्ख पर्दै कार्यालय पुगिसकेको थिएँ। पुग्ने बित्तिकै आफ्नो वजन नापेँ। २ किलो ज्यान थपिएछ।

खाएरै रोग निको पारेकाले २ केजी वजन बढेको भन्दै सबै जना साथीहरुको हँस्यौलीका साथै बधाई र शुभकामना दिनुभयो। साथै आफ्ना ‘कोरोना अनुभवहरु’ पनि बाँडियो। त्यसछि समय मिलाएर कार्यालय आउजाउ गर्न थालेँ।

जिउमा केही शिथिलता अवश्य महशुस गरे पनि विस्तारै त्यो पनि हराँउदै गयो। यसैबीच कोरोना बीमा गर्दा जुन कुरा अपेक्षा गरिएको थिएन त्यही गर्नु पर्यो। अर्थात बीमा गरेको रकम दावी गर्नु पर्ने अवस्था आयो। त्यसका लागि सबै कागजातहरु बीमा कम्पनीलाइ बुझाइयो।

त्यसबेलासम्म खोपको चर्चा चरम अवस्थामा थियो। नेपालमा खोप कहिले आउँला भन्नेमा तर्क बितर्क चलिरहेका थिए। हामीसबैमा खोपको अभिलाषा हुन थालिसकेको थियो। उता खोपको विकासमा विश्वस्तरमा ठूलै प्रतिस्पर्धा पनि चलिरहेको थियो।

यता लकडाउन निकै खुकुलो भइसकेको थियो। हामीले ’न्यू नर्मल लाइफ’ अभ्यास गर्न थालिसकेका थियौं। यसैबीच नेपालमा अपेक्षा भन्दा चाँडो खोप आउने कुरा आयो। यसले एक प्रकारको खुशी र आशा जगाएको थियो। खोप पनि आयो। सरकारले प्राथमिकताका आधारमा खोप लगाउने निर्णय पनि गर्यो। यसैबीच कोरोनाको बीमा रकम  पनि हात लाग्यो। बीमा गरे अप्ठ्यारोमा सहयोग हुन्छ भन्ने कुरो पनि पुष्टि भयो।

प्राथमिकताकै क्रममा कोरोनाको खोप लगाउने अवसर पाइयो र आवश्यकता अनुसार कोरोना विरुद्धको दुवै खोप निर्धक्कसँग लगाइयो। एक त कोरोलाई जिते पछि शरीरमा रोगसँग लड्ने ‘एन्टीबडी’ आफै निर्माण भएको थियो साथै खोप पनि लगाइसके पछि एक प्रकारले ढुक्क महशुस भयो कि यत्रो ’महामारी’ त जितियो र अब आफूलाई त्यसै अनुसार परिष्कृत गर्दै लैजाने, बानी व्यवहारमा सुधार ल्याउने, ’इम्यूनिटी’ बढाउने र खुशी र स्वस्थ जीवन बिताउने। आफू पनि बाँच्ने अरुलाई पनि बचाउने। यो सोच हामीसबैमा निरन्तर हुनु जरुरी छ।

हेलचेक्र्याइ, लापरवाही, अति आत्मविश्वासी र गैह्र जिम्मेवारी कुनै पनि रोगका मित्र हुन्। हामीले रोगका मित्रसँग मित्रवत हैन शत्रुवत नै व्यवहार गर्नु उचित हुने रहेछ। सिकाइले नै मान्छेलाई परिपक्व बनाउँदै लैजान्छ। म आफू त्यही परिपक्व हुने बाटोमा निरन्तर हिँड्ने कोशिस गरिरहेको छु । आशा छ तँपाइ पनि…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *