धौलागिरी बेसक्याम्पबाट उद्धार गरिएकी पर्वतारोही माया शेर्पालाई कोरोना पुष्टि
काठमाडौं। नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्ष माया शेर्पालाई कोरोना संक्रमण पुष्टि भएको छ। शेर्पालाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो।
हाल आफू अस्पतालमा भर्ना भएको र स्वास्थ्य अवस्था सामान्य रहेको शेर्पाले डिसी नेपाललाई बताइन्। अन्नपूर्ण हिमालको सफल आरोहणपछि धौलागिरि आरोहणका लागि बेसक्याम्प पुगेकी शेर्पा क्याम्प १ तर्फ जाने क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो । स्वास्थ्यमा समस्या र कोरोनाको लक्षण देखिएपछि शनिबार उनलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
आइतबार कोरोना परीक्षणको रिपोर्ट पोजिटभ आएको उनले आफ्नो फेसबुक मार्फत जानकारी दिएकी छिन् । उनले कोरोना संक्रमण भएकाहरुलाई हिम्मत नहार्न सल्लाह दिँदै सबैको मायाको लागि धन्यवाद दिएकी छिन् । उनले अस्पतालबाट आफ्ना केही तस्वीरहरु पनि सार्वजनिक गरेकी छिन्।
आरोही माया शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने अभियानमा लागेकी छन्। उनले यस अघि नै सगरमाथा, कंचनजंगा र केटुलगायतका हिमालहरु आरोहण गरिसकेकी छिन्।
Facebook Comment