जापानमा श्रमिक पठाउन पहल गर्दै सरकार, परराष्ट्रमन्त्रीले छलफल गर्ने

डिसी नेपाल
२८ कार्तिक २०७५ १३:५९

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान भ्रमणमा जाने भएका छन्। उनी समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणा पाँच दिने औपचारिक भ्रमणका लागि मंसीर १ गते शनिबार जापान जान लागेका हुन्।

बुधबार परराष्ट्र मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए। जापान नेपालको मुख्य दाता राष्ट्रमध्ये एक हो। मन्त्री ज्ञवालीले लगानीको थप वातावरण बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने पनि बताए।

भ्रमणका क्रमममा जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन पनि पहल गरिने मन्त्री ज्ञवालीले बताए। जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको उनको भनाई छ। उनले जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास पनि व्यक्त गरे। जापानले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ।

मंसीर १ गतेदेखि ५ गतेसम्म जापानको भ्रमणपछि मन्त्री ज्ञवालीले फर्कने क्रममा थाईल्यान्डमा रहेका प्रवासी नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *