निर्माण कार्यको मजदुरीमा मधेसी महिलाको अग्रसरता

डिसी नेपाल
२९ वैशाख २०७८ ९:०१

राजविराज। मधेसी समाजमा महिलालाई घरबाहिरको काममा जान रोक लगाउने परम्परा हिजोआज तोडिदै गएको छ । घरेलु र कृषि पेशासम्बन्धी मजदुरीमा मात्र संलग्न मधेसी महिलाहरु हिजोआज पक्कि भवन बनाउन समेत मजदुरी गर्न थालेका छन्।

सप्तरीमा पक्कि घर बन्दै गरेको स्थानमा गइयो भने महिलाहरु कतै ईंटा र बालुवा ओसार्दै गरेको त कतै ‘प्लास्टर’का लागि मसला बनाउँदै गरेको पाइन्छन्।

कोही महिला मजदुरहरु जोडाईमा सजिलो बनाउन बाँस बाध्ने र ‘सेटरिङ्’ बाध्ने काम गरिरहेका हुन्छन् भने कतै जोडाईमा होस वा ईंटा र मसलामा पानी पटाइरहेका भेटिन्छन् । दैनिक गुजारा गर्न कतैबाट कुनै सहयोग नपाए पछि आम्दानीका लागि विपन्न परिवारका महिला भौतिक निर्माण काममा मजदुरी गर्न आकर्षित हुदैगएका हुन् ।

राजविराजमा नयाँ घर बनाउने काममा संलग्न सप्तरी, महदेवा गाउँपालिका, चिम्टिकी ४३ बर्षिया सुनितादेवी सरदार भन्छिन्, ‘श्रीमान् गुमाएको १२ बर्ष भयो । घरमा दुई छोरा र छोरीलाई रेखदेख र पढाई खर्च जोहो गर्न अरुभन्दा बढी आम्दानी हुने घर बनाउने ठाउँमा मजदुरी गर्न लागेकी हुँ ।’ उनको कान्छो छोरा सात महिनाको गर्भमा नै भएको बेला श्रीमानको मृत्युु भएको थियो ।

शुरुका केही बर्ष त सासु ससुराको भरमा जीविकोपार्जन चले पनि उनीहरु बृद्धभई काम गर्न नसक्ने अवस्थामा पुगेपछि सुनिता कामका लागि घरबाट बाहिर निस्कन थालेकी हुन । उनी भन्छिन्, ‘शुरुमा जङ्गल गएर ३ बर्ष लगातार दाउरा काटेर बेचे ।’

सर्वसाधारणले ग्याँस बढी बाल्न थालेपछि दाउरा कम बिक्री हुन थाल्यो । सरदारले भनिन्, ‘दाउराबाट आम्दानी नभएपछि ठेकेदारले गर्ने निर्माण काममा मजदुरी गर्न बाध्य भए।’ काम अप्ठेरो भएपनि अरुभन्दा बढी पैसा आउने भएकोले उक्त पेशा रोजेको उनको कथन छ ।

सरदारमात्र होइन अहिले भौतिक पूर्वाधारका कामहरु भइरहेका स्थानमा महिला कामदारहरु पाँचमा दुई रहेकै हुन्छन् । २०६३ साल माघको मधेस आन्दोलन पछि महिलामा जागरण आएपछि सप्तरीमा भौतिक पूर्वाधार निर्माणको काममा महिला मजदुरको संख्या बढ्दै गएको हो ।

भवन बनाइरहेको ठाउँमा लगातार एक महिनादेखि ४ महिनासम्म काम पाइराख्ने भएकोले महिला मजदुरले यसलाई नियमित आम्दानीको रुपमा लिएका छन् । उनीहरुलाई ठेकेदारले फोन गरेर काममा बोलाउँछन् ।

हप्ता–हप्तामा हाजिरी अनुसारको मजदुरी गरेबापतको दैनिक ६ सय रुपैयाँका दरले भुक्तानी पाउँछन् । यहाँका महिला मजदुरहरुले यही आम्दानीबाट घरखर्च टार्ने, छोराछोरीको पढाई र औषधीमूलोको जोहो गर्ने तथा चाडपर्व मेलामा नयाँ लुगा, मिठो खानाका लागि खर्चको व्यवस्थापन गर्ने गरेका छन् ।

सरदार भन्छिन्, ‘म ईंटा, बालुवा ओसार्ने, मसला बनाउने, ‘प्लास्टर’ गर्ने, बाँस बाध्ने, ‘सेटरिङ’ बाध्ने, पानी पटाउने सबै काम गर्छु ।’
राजविराज कै ३० बर्षीया गुल्सन खातुनले मजदुरी गर्न थालेको २ महिना भयो । उनी भन्छिन्, ‘दुई छोराछोरीको लालनपालन गर्र्ने जिम्मेवारी आएपछि भारी कामको रुपमा चिनिएको घर बनाउन मजदुरी गर्न थाले ।’

उनको श्रीमान् राजविराजकै लुगा सिउने टेलर्समा सिलाई कटाईको काम गरिराख्दा उनले घर बाहिरको काम गर्नु परेको थिएन । तर पाँच बर्ष अगाडी श्रीमान्को मृत्यु भएपछि शुरुमा अर्काको घरमा भाँडा मस्काउने कामगर्न थालिन । भाँडा मस्काएर आउने मासिक ३ हजार रुपैयाँबाट छोराछोरीलाई पढाउन, खुवाउन, लगाउन कठिनाइ भएपछि मजदुरी गर्न शुरू गरेको उनले बताइन् ।

खातुन भन्छिन् ‘सधैं चिन्ताले सताउँथ्यो । कति राति त निदाउन सक्थिन । पढेलेखेको छुइन । एक्लै छोराछोरीलाई कसरी उच्च शिक्षा दिन सकुला ? भन्ने लाग्थ्यो ।’ उनले थपिन, ‘ अहिले मजदुरी गर्न थालेपछि दैनिक ६ सय रूपैयाँ गरी मासिक १० देखि १२ हजार रूपैयाँसम्म कमाउँदै छु ।’ अब छोराछोरीलाई पढाउन सक्ने हिम्मत बढेको उनको अनुभुति छ ।

खातुन दिनहुँ विहान ८ बजेसम्ममा छोराछोरीका लागि खानेकुरा तयार गरी काममा हिड्छिन् । दिनभरीको काम पछि बेलुका पाँच बज्छ । घरमुलीले उनको दिनभरको ज्याला ६ सय रूपैयाँ हातमा राखिदिन्छिन् । हातको पैसा सुरुवालको खल्तीमा घुसार्दै उनी हतार हतार बजार तिर लम्किन्छिन् । बजार गएर दुई छाकका लागि चामल, दाल, तरकारी ,आवश्यक सामग्री तथा छोराछोरीका लागि कोसेली किनेर हतार–हतार घर फर्किन्छिन् ।

आमा कतिबेला के लिएर घर फर्कनुहुन्छ भन्ने आशमा बाटो कुरेर १० वर्षिय छोरा र १२ वर्षिया छोरी टुलुटुलु हेरिरहेका हुन्छन् । आमा घर तिर आएको देखेर छोराछोरी दुबै आमातिर दौडिन्छन् । आमा झोलामा राखेको कोसेली दुबैको हातमा दिदै आँगानमा छिर्छिन् । यो उनको दैनिकी जस्तै बनेको छ । उनी भन्छिन्, ‘अब आफ्नो आम्दानीले जे पनि गर्न सक्छु भन्ने आँट आएको छ ।’

सरदार र खातुन जस्तै सप्तरी जिल्लाको ग्रामीण तथा शहरी भेगका महिलाहरू सडक, भवन निर्माण, ईंटा बनाउने काममा मजदुरी गर्दै आम्दानी गर्न थालेका छन् ।

लामो समयदेखि निर्माणको कामको ठेक्कापट्टा गर्दै आएका राजविराज नगरपालिका –१३ बिसहरीया टोलका ८० बर्षीय ठेकेदार भैरव चौधरी भन्छन्, ‘डेढ दशक यता भौतिक पूर्वाधारको काम गर्ने महिला मजदुरको संख्यामा बृद्धि हुँदै आएको छ ।’

चौधरीले पढ्ने अवसर नपाएका महिलाहरुले मजदुरीबाट राम्रो आम्दानी गरेर परिवारलाई सहयोग गर्न सक्ने लगानी बिनाको काम भएको बताए । उनले भने, ‘यो काम गर्न कुनै सीप पनि सिकिराख्नु पर्दैन । हेर्दाहेर्दै गर्दागर्दै सिक्ने काम हो ।’ दिनभर काम गरेर बेलुका पैसा पाउने भएकोले काम प्रति महिलाहरूको आकर्षण बढ्दै गएको चौधरीको अनुभव छ ।

ठेक्का लिएर भवन निर्माणको काम गर्दै आएका मोहम्मद ताहिरका अनुसार महिलाहरू इमानदार हुन्छन् मन लगाएर काम गर्छन् । ताहिर भन्छन्, ‘महिला मजदुरसंग काम गर्दा घरमुलीलाई दिएको समयमा सक्किन्छ भने विश्वास हुन्छ ।’ महिलासंग काम गर्न सजिलो हुने उनले बताए ।

हिजोआज घर बनाउने मालिकहरुले महिला मजदुरको काम प्रतिको बढी विश्वास गर्न थालेको ताहिरले बताए । ताहिर थप्छन ‘पुरूषहरूको इमानदारितामा घरमुलीहरू शंका गर्छन् । महिला मेहनती भएकोले उनीहरूको इमानदारितामा शंका गर्दैनन । ’

ताहिरले थपे, ‘मिस्त्रीजस्तै आफू पनि पुरूष नै हुँ भनेर पुरूष मजदुरहरू महिला जस्तो छिटो टेर्दैनन । कामसंगै आराम गर्न खोज्छन् ।’ महिलाहरूले त्यसो नगर्ने ताहिरको तर्क छ ।

घर निर्माण काम गराउँदै आएका राजविराज नगरपालिका २ का रूपा झा भन्छिन् ‘मजदुर महिलाहरूले इमानदारीपूर्वक काम गर्छन् । विश्वासिलो र भरपर्दाे हुन्छन् ।’ झाले थपिन, ‘महिलाले महिलालाई काम अह्राउन पनि सजिलो, पुरूषले एकछिन नसुनेको जस्तै अटेर गर्छन् ।’

पुरूषसंग काम गराउनभन्दा महिलासंग सजिलो हुने झाको अनुभव छ । एउटै घरमा लामो समयसम्म कामगर्ने महिला मजदुरबाट अरू सहयोग समेत पाइने झाको कथन छ । महिला मजदुरलाई घर र बच्चाको हेरचाहको जिम्मा दिएर बाहिर निस्कन मिल्ने झा बताउँछिन् ।

जिल्लाकै पहिलो महिला शिक्षक ७१ वर्षीया बच्ची मिश्र भन्छिन्– ‘पहिले पहिले मधेसी महिलाहरू कुनै काम गरी आर्थिक उपार्जनका लागि घरबाट बाहिर जानेबित्तिकै श्रीमानको कमाईले पुग्दैन र ? अब श्रीमती नै बाठी भई भनेर परिवार, समाजमा कुरा काट्थे ।’ उनले थपिन, ‘त्यतिले पनि भएन भने संस्कृति, परम्पराको कुरा गरेर होस या समाजमा घर बस्ने महिलाको उदाहरण दिएर होस, सासू, ससुरा, नन्दसमेतले घरबाट रोजगारीको लागि बाहिर निस्कन दिंदैनथे ।’

मिश्रका अनुसार कतिको काम गर्ने क्षमता भएपनि परिवारले कामगर्ने अनुमती नदिएकाले आर्थिक अभावमामा दुःखकष्टमा जीवन विताउन बाध्य हुनुपर्दथ्यो । परिवर्तित समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा पहिलेभन्दा अहिले निकै परिवर्तन भएको उनको तर्क छ ।

मिश्र भन्छिन्,‘ अहिले आफ्नो क्षमता र दक्षता अनुसार काम गर्न चाहने महिलाले घर, परिवारबाट सक्दो सहयोग पाउँछन् ।’ उनले दुई पैसा कमाएर ल्याओस भन्ने चाहना सबैको हुने गरेको बताइन । अहिले कामलाई सकारात्मक रूपमा मात्र नभएर अवसरको रूपमा लिन थालेको मिश्र स्वीकारछिन्।

जिल्लामा कार्यरत पुरूष तथा महिला मजदुरको एक्किन संख्या नभएपनि घर बनाउने, बाटो बनाउने काममा पाँचमा तीनजना महिला मजदुर रहेको मजदुर संगठन प्रदेश नं २ का सचिब केदार देवले बताए ।

देवका अनुसार सप्तरीमा रहेको ५६ वटा ईटा भट्टामा त ८० देखि ९० प्रतिशत महिला मजदुर कार्यरत छन् । ईंटा बनाउने, पोल्ने, ओसार्ने लगायत भट्टामा हुने ९० प्रतिशत काम महिला मजदुरले नै गर्ने गरेको सचिव देवको भनाइ रहेको छ ।

मजदुर संगठन सप्तरीका अध्यक्ष विरेन्द्र यादव भन्छन्, ‘मजदुरी गर्ने अधिकांश महिला अशिक्षित नै हुन्छन् । अशिक्षा कै कारण कहिलेकाही ठगिने गरेका छन् ।’ मजदुर महिलाहरूले कार्यक्षेत्रमा असुरक्षित महशुस गर्ने गरेका छन् । उनीहरू आफ्ना सहकर्मी तथा घरमुलीबाट समेत यौन हिंसाको सिकार हुनेगरेको उजुरी मजदुर संगठन सप्तरी आउँने गरेको अध्यक्ष यादवले बर्ता ।

यादवका अनुसार मजदुरी गर्ने क्रममा ठेकेदारले ज्याला नदिएको उजुरी आउने गरेको र त्यस्ता उजुरीलाई सकेसम्म समाधान गरेर पठाउने गरिएको छ । तर, मजदुर संगठन के हो ? कहाँ छ ? जानकारी नै नपाएर घटना भए पनि लुकाएर बस्नुपर्ने बाध्यता महिला मजदुरलाई रहेको अध्यक्ष यादवको भनाइ रहेको छ ।

जिल्लामा मजदुरीको दररेट कायम गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला दर रेट निर्धारण समिति रहने व्यवस्था छ । सप्तरीमा उक्त समितिको बैठक असार मसान्तमा वर्षको एकपटक बस्ने जानकारी सप्तरीका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोखरेलले दिए । उनले भने ‘खासगरि सरकारी भवन, सरकारी काम, टेन्डरको ‘डकुमेन्ट’ बनाउँदाको ‘स्टिमेट’ गर्दा मजदुरको पनि पारिश्रमिक निर्धारण गर्ने गरिएको छ ।’

सरकारी काम बाहेक भौतिक निर्माण गर्ने वा अन्य मजदुरको हकमा श्रम मन्त्रालयले मजदुरको लागि तोकेको पारिश्रमिक अनुसार हनेगरेको प्रजिअ पोखरेलले बताए । सप्तरीमा मजदुर र मालिकको सम्झौतामा पारिश्रमिक निर्धारण भइरहेको अवस्था छ । प्रजिअ पोखरेलले मजदुर र मालिकले मिलेर निर्धारण गरेको पारिश्रमिकलाई जिल्ला स्तरीय समितिले आधिकारिक नमान्ने बताए ।

श्रम ऐन, २०७४ अनुसार मजदुरलाई ८ घण्टा काम ८ घण्टा आरामको व्यवस्था गरेको छ । मजदुर संगठन सप्तरीका अध्यक्ष यादवका अनुसार कहिलेकाँही महिला मजदुरलाई परिवार, समाजले चरित्रहीनको आरोप लगाएपछि थप पीडा खेप्नु पर्ने बाध्यता छ । यादवले थपे,‘ महिलालाई मजदुरी पेसातिर आकर्षित गर्न समय समयमा तालिम दिन आवश्यक छ ।’

मजदुरलाई श्रम ऐन अन्तर्गत नियूक्तिगर्ने व्यवस्था भएपनि भौतिक निर्माणको काम जस्तैः ईंटा भट्टामा काम गर्ने मजदुरलाई नियुक्ति नदिइएको यादवले बताए । यादव भन्छन्, ‘उनीहरू नियुक्ती बिना नै काम गर्दै आएका छन् । मजदुरलाई वर्षको १६ दिन बिदा दिने व्यवस्था पनि व्यबहारमा कार्यान्वयन भएको छैन् ।’

महिला मजदुरले ऐन, कानुन अनुसार पाउने अधिकार व्यवहारमा प्राप्त गर्न सके घरमा बेरोजगार भएर बसेका महिलालाई समेत यस पेशामा आकर्षित गर्न सकिने यादवको धारणा छ । उनले भने, ‘महिलालाई सीप दिएर मजदुरी पेशामा आबद्ध गराउनका लागि सर्वप्रथम महिला हिंसा रोक्न आवश्यक छ ।’ यादवले धेरै महिलाहरुलाई कामगर्ने इच्छा हुँदाहुँदै सुरक्षाका कारण घरबाहिर निस्किन हिच्किचाई रहेको बताए ।
(सौजन्य : सञ्चारिका समूह, नेपाल )

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *