सेनाद्वारा बुटवल र भैरहवाका अस्पतालमा अक्सिजन आपूर्ती
काठमाडौं । नेपाली सेनाले भैरहवा र बुटवलका अस्पताललाई ४० सिलिण्डर अक्सिजन उपलब्ध गराएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)का अनुरोधमा सेनाको २८ नम्बर बाहिनीले बाराको सिमरामा संकलन गरेको अक्सिजन हेलिकोप्टरद्वारा ढुवानी गरी आज हस्तान्तरण गरेको हो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा अक्सिजन सप्लाई नहुँदा अस्पतालको आईसीयूमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका डाक्टर विष्णु गौतमका अनुसार अक्सिजन सप्लाइ नभएपछि आईसीयूमा रहेका विरामीको मृत्यु भएको हो।
डा. गौतमका अनुसार लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा १३६ जना विरामी भर्ना छन्। ती मध्ये १६ जना आईसीयूमा रहेकोमा ५ जनाको मृत्यु भएको छ।
भैरहवास्थित भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनका कमीबाट बिरामी उपचारमा समस्या आएपछि सिमरामा संकलित अक्सिजन ती दुवै अस्पताललाई आज साँझ हस्तान्तरण गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
यसअघि सेनाले लामो समयदेखि बन्द पनौती र थानकोटस्थित अक्सिजन उद्योग दक्ष प्राविधिक जनशक्ति खटाएर सञ्चालनमा सहयोग पुर्याएको थियो । सेनाले अक्सिजन ढुवानीमा समेत सहयोग पुर्याउँदै आएको छ ।
Facebook Comment