कोभिड नियन्त्रणमा यहाँ चुक्यो नेपाल, अब यसो गरौं
कोभिडको संक्रमणबाट अहिले नेपाल आक्रान्त छ। बिरामीले अस्पतालमा बेड नपाएको, अक्सिजनको चरम अभाब भएको, अस्पतालमा बेड खोज्दाखोज्दै ज्यान गएको जस्ता अप्रिय समाचारहरु निरन्तर आइरहेका छन्।
सामाजिक संजालका भित्ताहरु कोभिडवाट मृत्यु भएकाहरुप्रतिको समवेदनाले भरिएका छन्। दुखद् कुरा के छ भने अहिलेको संक्रमणको गति हेर्दा यो घटनाक्रम छिटै रोकिने देखिँदैन।
आखिर कोभिड नियन्त्रणमा हामी कहाँ र कसरि चुक्यौं त?
भनिन्छ विषम परिस्थितिमा नै असल नेतृत्वको पहिचान हुन्छ। तर हामी नेपालीको दुर्भाग्य भन्नुपर्छ, हामीले प्राकृतिक प्रकोप होस् वा महामारी कुनै पनि विषम परिस्थितिमा जनताप्रति उत्तरदायी राजनेताको महसुस गर्न पाएनौं।
पूरै देश महामारीमा फसिरहेको बेला एकजना पनि राजनीतिक नेतृत्व भेटिएन जसले अहिलेको आवश्यकता भनेको कोभिड नियन्त्रण हो त्यसैले एकआपसका राजनीतिक खिचातानीलाई थाँती राखेर पुरै राज्यसंयन्त्र यसको नियन्त्रणमा लगाऊँ भनेर आवाज उठाओस्।
उल्टै सभा सम्मेलन, नारा जुलुस, र आन्दोलनलाइ प्रश्रय दिइयो जसले कोरोना भाइरसको संक्रमण फैलाउन महत्वपूर्ण भूमिका खेल्यो। महामारीमा जनताको जनजीविका र स्वास्थ्य उपचारको सुनिश्चितता गर्न लाग्नुपर्ने राजनीतिक दलहरु घिनलाग्दो राजनीतिक खिचातानीमै लागिरहे ।
केही पढेलेखेका र बुद्धिजीवी भनिने व्यक्तिहरु, जसको कुरा हजारौ आममानिसले विश्वास गर्छन्, तिनीहरु सम्पूर्ण तथ्यहरुलाई लत्याउँदै कोभिड केही होइन, यसले हामी हिमालका हावापानी खाएका नेपालीलाई केही गर्दैन, मरेकाहरु त बुढा बुढी र दीर्घ रोगी मात्र हुन् भन्दै आममानिसमा भ्रम छरिरहे
केही पढेलेखेका र बुद्धिजीवी भनिने व्यक्तिहरु, जसको कुरा हजारौ आममानिसले विश्वास गर्छन्, तिनीहरु सम्पूर्ण तथ्यहरुलाई लत्याउँदै कोभिड केही होइन, यसले हामी हिमालका हावापानी खाएका नेपालीलाई केही गर्दैन, मरेकाहरु त बुढा बुढी र दीर्घ रोगी मात्र हुन् भन्दै आममानिसमा भ्रम छरिरहे। खोपमा माइक्रोचीप हालेको हुन्छ र त्यसले हाम्रो गतिबिधि नियाल्छ भन्नेजस्ता अत्यन्तै कपोलकल्पित तथा भ्रामक हल्लाहरु समेत फैलाइए, अझै फैलाइँदैछ।
आम नागरिकमा पनि अनुशासन देखिएन। बिहे, भोज, भ्रमण, सभा, सम्मेलन चलिरहे। भिडभाड कम गर्न, सामाजिक दूरी कायम राख्न, र मास्कको निरन्तर प्रयोग गर्न गरिएका अनुरोधहरुको पालना राम्रोसँग हुन सकेन। लकडाउन पनि निमुखा र राजनैतिक पँहुच नभएकाहरुको लागि मात्रै हो जस्तो बन्न पुग्यो।
रोग फैलिएको अबस्थामा जो जहाँ छ त्यही राखेर जनजीविकाको सुनिश्चितता गर्दै रोकथाममा ध्यान दिनुपर्ने सरकारी निकायले नागरिहरुलाई ठेलमठेल गाडीका गाडी असुरक्षितरुपमा गाउँ पठाएर भाइरसको संक्रमण गाउँ गाउँ सम्म फैलाउन मद्दत गर्यो।
एक वर्षभन्दा धेरै समय बितिसक्दा पनि संक्रमितहरुको समयमै पहिचान गरी सुरक्षित ब्यवस्थापन गर्ने परिपाटी निर्माण भएन। परीक्षणको दायरा बढाउने र अस्पतालका संरचनाहरुको स्तरोन्नति गर्ने काम पनि हुन सकेन।
खोपको लागि जति पहल गर्नुपर्ने हो त्यो पनि भएको देखिएन। कुनै देश वा संस्थाले खोप उपलव्ध गरिदिन्छौं भन्दा समेत हामीसँग खोप भण्डारण र वितरणका लागि चाहिने शीतभण्डार क्षमता छैन भनेर पन्छिनुपर्ने दुखद अवस्था अझै कायम छ।
हामी ठूलो संकटवाट गुज्रिरहेका छौं। यो संकटबाट पार पाउन राजनीतिक नेतृत्व, सरकार र आम नागरिक सबैको जिम्मेवारीपूर्ण सहभागिताको आवश्यकता पर्दछ। राजनीतिक दलहरुले राजनीतिक खिचातानी पर सारेर एकजुट भै आफ्ना कार्यकर्ताहरुको अनि आम जनताको जनजीविका र स्वास्थ्योपचारको सुनिश्चितता गर्न समय खर्चनु अत्यावश्यक भैसकेको छ।
लकडाउनले आक्रान्त पारेका जनताको दैनिक गुजाराको लागि आर्थिक सहयोगको अबिलम्व व्यवस्था गरिनुपर्छ। यो कार्यमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोग पनि अत्यावस्यक हुन्छ। कोभिडको चेपटामा पर्नेहरुले मात्र चोट बुझेका छन् अरुले संबेदनशीलता नदेखाएको हो कि जस्तो देखिएको छ। परेपछि त परिगयो, त्यसअगावै सचेत हुनु आवश्यक छ जनताको तहबाट नत्र पीडा सहनुको विकल्प नहुनसक्छ।
राज्यले आफ्नो सबै स्रोत र साधन कोभिड नियन्त्रणमा लगाउन जरुरी छ। परीक्षणको दायरा बढाउनुपर्छ। संक्रमितहरुलाई हिनताबोध नहुने वाताबरण निर्माण गरेर निरन्तर स्वास्थ्यसेवा प्रदान हुनेगरी सस्थागत क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्था गर्नुपर्छ।
राज्यले आफ्नो सबै स्रोत र साधन कोभिड नियन्त्रणमा लगाउन जरुरी छ। परीक्षणको दायरा बढाउनुपर्छ। संक्रमितहरुलाई हिनताबोध नहुने वाताबरण निर्माण गरेर निरन्तर स्वास्थ्यसेवा प्रदान हुनेगरी सस्थागत क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्था गर्नुपर्छ।
अस्पतालका सेवा सुविधाहरु पूर्णरुपमा संचालनमा ल्याउने, बिग्रेका र पुनर्निमाण गर्न सम्भब भएका स्वास्थ्य स्रोत र साधनको अबिलम्ब पुनर्निर्माण गरेर स्वास्थ्य क्षमता बढाउने, तथा अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई अधिकतम क्षमतामा संचालन गर्नुपर्ने देखिन्छ । खोपको आपूर्तिका लागि निरन्तर प्रयास जरुरी छ भने संगसंगै खोप भण्डारण र वितरणको लागि आवश्यक पर्ने शीतभण्डार र अन्य संरचनाको निर्माण पनि तत्काल गरिनुपर्छ ।
अहिले विश्वभर रहेका नेपालीहरु आफ्नो घर परिवार र आफन्तको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित छन्। आफूले के र कसरी सहयोग गर्न सकिन्छ भनेर एकआपसमा जुटिरहेका छन् र सक्दो सहयोग गरिरहेका छन्। यसरी सकिनसकी गरिएको सहयोगको सदुपयोग हुने व्यवस्था मिलाउनुपर्छ।
यो सबै कार्यका लागि दह्रो शासकीय प्रतिबद्धताको आवश्यकता छ त्या कसरी सम्भव छ त्यसरी मिलाउनु जरुरी छ। जनताको ज्यानभन्दा ठूलो कुरा अरु केही हुनसक्दैन।
आम नागरिकले पनि कोभिडको गाम्भीर्यतालाई बुझेर रोकथामका उपायहरु निरन्तररुपमा अबलम्वन गर्नुपर्छ। कोभिडवाट बच्न के गर्नुपर्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि अटेर गर्ने गरेको देखिन्छ।
आफैं वा आफ्नै घरका मान्छे विरामी नभएसम्म कोभीडलाई समस्या नै नमान्ने परिपाटी व्याप्त छ। त्यसैले सवैले जिम्मेवार भएर भेटघाट, सभा, सम्मेलन, भोज भतेर बन्द गर्नुपर्छ। भेटघाट गर्नै परे सामाजिक दुरी कायम राख्ने र मास्कको निरन्तर प्रयोग गर्नुपर्ने हुन्छ।
अन्त्यमा, घरमुनि डोजर लगाएर बाटो अर्को साल खन्दा पनि हुन्छ, भ्यू टावर बनाउदै गरौंला, चोकमा कृतिम रुख रोप्ने महान कार्य पनि पछि गरौंला, यो पार्टी र त्यो पार्टी पनि भन्दै गरौला तर अहिले यो राष्ट्रिय संकटवाट बच्न सम्पूर्ण स्रोत साधन र शक्ति कोभिड विरुद्ध खर्च गरौँ।
सरकार, राजनैतिक तथा गैरराजनीतिक संघ संस्था अनि आमनागरिक सबैको जिम्मेवारीपूर्ण सहभागिताबाट मात्र कोभिड विरुद्धको युद्ध जित्न सकिन्छ।
Facebook Comment