कोरोना महामारी व्यवस्थापनमा सार्क र बिम्स्टेक मुलुकहरूको अनुभव

डिसी नेपाल
३० वैशाख २०७८ ९:२०

कोभिड-१९ का कारण विश्वमा होनहार मानिसहरूले ज्यान गुमाउनु परेको छ। मानव पूँजीको रूपमा रहेका अनुभवी ज्येष्ठ नागरिकहरू तथा उत्पादनशील वयका युवाहरूलाई गुमाउँदा विश्वलाई अपूरणीय क्षति भएको छ।

हालसम्म विश्वमा करिब साढे तेत्तीस लाख मानिसले अनाहकमा ज्यान गुमाउनु परेको छ। अप्रत्याशित रूपमा आएको महामारीका कारण भएको मानव जीवनको क्षति अपूरणीय छ। यसका अलावा यसले ठूलो आर्थिक क्षति पनि गरेको छ।

विशेष गरी दैनिक ज्यालादारी गर्ने श्रमिकहरू लकडाउनको कारण भोकमरीमा परेका छन्। सन् २०२० को विश्वको कूल गार्हस्थ्य उत्पादन ८३.८५ ट्रिलियन अमेरिकी डलर रहेको तथ्याङ्क अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको छ।

यसैका आधारमा गणना गर्दा कोभिडको कारण सम्पूर्ण आर्थिक कार्यहरू बन्द हुँदा विश्वको अर्थतन्त्रमा एकदिनमा २३० बिलियन अमेरिकी डलर घाटा हुन्छ। केन्द्रीय तथ्याङ्क विभागका अनुसार सन् २०२० को नेपालको कूल गार्हस्थ्य उत्पादन २०.५ बिलियन अमेरिकी डलर छ।

एकदिन आर्थिक कारोबार बन्द हुँदा नेपाली अर्थतन्त्रले ५६.३ मिलियन डलर घाटा व्यहोर्नु पर्छ। लकडाउनको ठूलो आर्थिक असर भएपनि जीवन रहे आर्थिक उपार्जन गर्न सकिन्छ नरहे त सबै सकियो। तसर्थ जीवन जोगाउन लकडाउन गर्नु परेको सर्वविदितै छ। नेपालमा हाल पहिलो दुई साताको लकडाउन सकिएर दोस्रो दुई साताको लकडाउन शुरू भएको छ।

यस सन्दर्भमा नेपाल सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनहरूको सक्रिय सदस्य रहेको कारण यी दुई सङ्गठनका सदस्यहरूमा कोभिड-१९ को वर्तमान अवस्था र व्यवस्थापन सम्बन्धमा तुलनात्मक विवरण प्रस्तुत गरिएको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आठ सदस्य राष्ट्रहरू र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सात सदस्य राष्ट्रहरू छन्। नेपाल, बाङ्लादेश, भुटान, भारत र श्रीलङ्‍का गरी पाँच राष्ट्र दुबै सङ्गठनका सदस्य छन्।

हाल अधिकांश सार्क र विम्स्टेक सदस्य राष्ट्रहरूमा खोपको अभाव, स्वास्थ्य पूर्वाधारको अभाव, अस्पताल र शैयाको अभाव तथा अक्सिजनको अभावमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। तर यस्तो अवस्थामा पनि ठूलो जोखिम मोलेर, घरपरिवार र व्यक्तिगत काम छोडेर स्वास्थ्य कर्मीहरूले दिनरात नभनी बिरामीको सेवा गरिरहनुभएको छ। उहाँहरूलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ।

यी पाँच बाहेक सार्कमा पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स तथा बिम्स्टेकमा म्यानमार र थाइल्याण्ड सदस्य छन्। म्यानमार र थाइल्याण्ड दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पनि सदस्य राष्ट्र हुन्। यस अर्थमा बिम्स्टेकले सार्क र आसियानलाई जोड्ने काम समेत गरेको छ।

हाल विश्वको १६ करोडभन्दा बढी जनसङ्ख्या कोभिड-१९ को सङ्क्रमणमा परिसकेको छ। जसमध्ये करिब साढे तेत्तीस लाख अर्थात् कुल सङ्क्रमित सङ्ख्या मध्ये २.१ प्रतिशतको मृत्यु भइसकेको छ, ८६.८ प्रतिशत निको भएका छन् भने ११.१ प्रतिशत अझै सक्रिय सङ्क्रमितको रूपमा छन्। दिनानुदिन नयाँ सङ्क्रमित थपिने क्रम जारी छ। अहिले भारत नयाँ सङ्क्रमित हुनेमा उच्च स्थानमा छ। दिनमा नै चार लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भइरहेका छन्।

सार्क राष्ट्रहरूभन्दा विम्स्टेक राष्ट्रहरूमा कूल सङ्क्रमितको सङ्ख्या केही बढी छ। तलको तालिका हेर्नुहोस्। कुल सङ्क्रमित सङ्ख्यामध्ये सबैभन्दा कम मृत्युदर भुटानमा छ भने सबैभन्दा बढी मृत्युदर अफगानिस्तानमा छ।

नेपालको मृत्युदर १ प्रतिशतको हाराहारीमा छ जुन भारत, पाकिस्तान, बाङ्लादेश, म्यानमार र अफगानिस्तानभन्दा कम तथा भुटान, श्रीलङ्‍का, माल्दिभ्स र थाइल्याण्डभन्दा बढी छ। बाङ्लादेशमा सबैभन्दा बढी अर्थात् ९२.२ प्रतिशत निको भएका छन् भने थाइल्याण्डमा सबैभन्दा कम अर्थात् ६६.४ प्रतिशतमात्र निको भएका छन्। नेपालमा निको हुनेको प्रतिशत ७५.५ छ।

देशको नाम कुल सङ्क्रमित सङ्ख्या कुल सङ्क्रमित सङ्ख्या मध्ये प्रति १० लाखमा मृत्यु हुने सङ्ख्या
मृत्यु हुने प्रतिशत निको भएका प्रतिशत सक्रिय सङ्क्रमित प्रतिशत

स्रोतः https://www.worldometers.info/coronavirus/ (मिति २०२१ मे १२)

कुल सङ्क्रमित सङ्ख्यामध्ये सक्रिय सङ्क्रमितको प्रतिशत यी देशहरूमध्ये थाइल्याण्डमा सबैभन्दा बढी अर्थात् ३३.० प्रतिशत छ। नेपालमा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या २३.५ प्रतिशत छ। सक्रिय सङ्क्रमितबाट नै कोरोना भाइरस सर्ने गर्छ।

यसरी हेर्दा अहिलेको स्थितिमा क्रमशः थाइल्याण्ड, माल्दिभ्स, नेपाल, श्रीलङ्‍का र भारतमा सक्रिय सङ्क्रमित प्रतिशत ठूलो भएकोले सार्क तथा विम्स्टेक क्षेत्रमा यी देशहरू कोरोना सङ्क्रमणको उच्च जोखिममा छन्।

सङ्ख्याको हिसाबले हेर्दा भारतमा ३७ लाखभन्दा बढी, नेपालमा ९७ हजारभन्दा बढी, पाकिस्तानमा ७६ हजारभन्दा बढी, बाङ्लादेश ४९ हजारभन्दा बढी, थाइल्याण्डमा २९ हजारभन्दा बढी र श्रीलङ्‍कामा २३ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन्। तसर्थ सार्क तथा विम्स्टेक सदस्य राष्ट्रहरू कोरोना भाइरसबाट उत्तिकै आक्रान्त छन्।

युके, ब्राजिल र दक्षिण अफ्रिकापछि हाल भारतमा कोरोना भाइरसका चार भेरियन्ट विकसित भएको पाइएको छ। भारत भेरियन्टसमेत संसारका ४४ मुलुकमा पुगिसकेको समाचार आएका छन्। भारतमा मृत्यु हुनेको शव व्यवस्थापन गर्न नसकेर नदीमा फालिएका भयावह समाचार सुनिएका छन्।

भारतमा हालसालै पश्चिम बंगाल, असम, केरला, तामिलनाडु र पुडुचेरी गरी पाँचवटा राज्यमा सम्पन्न विधानसभाको चुनावका कारण भएका सभा, जुलुस, र्‍याली, प्रचारप्रसार तथा भर्खरै सम्पन्न कुम्भ मेला अनि जनतामा सचेतानाको कमी र सरकारको पूर्वतयारीको अभावका कारण कोभिड व्यवस्थापनमा भयावह स्थिति देखिएको छ।

अफगानिस्तान, पाकिस्तान, बाङ्लादेश, माल्दिभ्स, भारत तथा अन्य मुस्लिम जनसङ्ख्या उल्लेख्य भएका मुलुकहरूमा समेत इदमा हुने चहलपहलले पनि कोरोना लाई बढाइरहेको छ।

यस्तो विषम परिस्थितिमा सरकार, निजी क्षेत्र, नागरिक समाज, विदेशमा बस्ने नागरिकसमेत मिलेर अस्पताल, अक्सिजन, बेड र रेम्डेसिभिर तथा अन्य अत्यावश्यक औषधीको व्यवस्था गर्न आफ्ना प्रयास केन्द्रित गर्ने बेला हो।जीवन रक्षा गर्ने बेला हो। व्यवसायमा नाफा कमाउने, कालोबजारी गर्ने र अवैध धन कमाउने बेला कदापि होइन। धर्म, नैतिकता वा कर्तव्य सम्झेर सबैले सकेको सहयोग गर्ने बेला हो।

यसै बेला विवाहका साइत परेको, सांस्कृतिक जात्राहरू, राजनीतिक चहलपहल र भारतबाट घर फर्किएका नेपालीका कारण पनि नेपालमा कोरोना महामारीले बढ्ने अवसर पाएको हो। भीडभाड, जमघट र स्वास्थ्य मापदण्डको उल्लङ्घन नै कोभिड-१९ लागि फस्टाउने मलिलो माटो हो।

विश्वका धनी देशहरूमा स्रोत र साधन बढी छ। उनीहरूसँग स्वास्थ्य पूर्वाधार छ। न्यूजिल्याण्ड इजरायल जस्ता विकसित र धनी राष्ट्रहरूले कोभिड-१९ को राम्रो नियन्त्रण गरेका छन्।

तर केही गरिब देशहरूले समेत कोभिड-१९ को राम्रो व्यवस्थापन गरेको देखिन्छ। भियतनाम, रुवान्डा र सेनेगल जस्ता देशहरूमा मृत्युदर एकदमै थोरै छ। तर यहाँ चर्चा गर्न खोजिएको सफलताको कथा भने हाम्रै दक्षिण एसियाली मित्रराष्ट्र भुटानको हो।

दक्षिण एसियामा भुटानले सबैभन्दा राम्रो तरिकाले कोभिड १९ को व्यवस्थापन गरेको देखिएको छ। भुटानले नागरिकको जीवनलाई सबैभन्दा ठूलो महत्त्व दिएको छ। बाहिरबाट भुटान प्रवेश गर्ने सबैका लागि २१ दिने अनिवार्य क्वारेन्टाइनको व्यवस्था छ। राजादेखि रङ्कसम्म सबैलाई समान कानुन लगाएको छ। यस सम्बन्धमा एउटा घटना यहाँ उल्लेख गर्न चाहन्छु।

सन् २०२१ मार्च २३ देखि २५ सम्म भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ्ले बंगलादेशका संस्थापक नेता तथा राष्ट्रपिता सेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा बंगलादेशको भ्रमण गर्नुभयो। ढाकामा उहाँलाई भेट्ने समेत अवसर जुरेको थियो।

सरल र बौद्धिक व्यक्तित्वका धनी प्रधानमन्त्री छिरिङ्ले ढाकाबाट फर्किएपछि भुटानमा २१ दिन अनिवार्य रूपमा होटेल क्वारेन्टाइनमा बस्नुभयो। यस अवधिमा भुटान सरकारले सबै नागरिकलाई एकैचोटी कोभिड भ्याक्सिन दिने नीति अन्तर्गत प्रधानमन्त्रीलाई पनि भ्याक्सिन दिइयो। उहाँ क्वारेन्टाइनबाट बाहिर जानु अघि कोभिडको परीक्षण गरियो।

आफू मेडिकल डाक्टर समेत भएकोले उहाँले कोभिड परीक्षणसँगै रोग प्रतिरोधी क्षमताको समेत परीक्षण गर्नुभयो। उहाँको कोभिड नेगेटिभ देखियो र भ्याक्सिनको पहिलो डोजले रोग प्रतिरोधी क्षमता राम्रोसँग बढेको देखियो। उहाँले त्यसपछि आफ्नो जिम्मेवारी सम्हाल्नुभयो।

प्रधानमन्त्री छिरिङ्का अनन्य मित्र महामहिम तेन्जिन लेक्फेल हाल बिम्स्टेकाका महासचिव हुनुहुन्छ। उहाँबाट नै यो जानकारी प्राप्त भएको हो।
हाल भुटानमा करिब ९० प्रतिशत नागरिकले खोपको पहिलो डोज पुरा गरिसकेका छन्। भुटानमा भारतबाट खुला आवतजावत गर्न मिल्ने भएपनि क्वारेन्टाइनका माध्यमबाट व्यवस्थापन गर्दा कोभिड-१९ ले धेरै क्षति गर्न पाएको छैन।

भुटानले समयमै कोभिड-१९ को तयारी गर्‍यो। सन् २०१९ को नोभेम्बरमा चीनको वुहान प्रान्तबाट शुरू भएको यस महामारीको दोस्रो लहर आउनु अघि अन्य देशहरूले सामान्य अवस्थामा फर्किएको जस्तो महसुस गरेर कोभिडको तयारी छोडेको तथा अन्य मापदण्डहरू पालना गर्न बिर्सिएको समयमा पनि भुटानले आफ्नो तयारी गरिरह्यो।सरकारलाई निजी क्षेत्र, धार्मिक संस्थाहरू र नागरिक समाजले भरपूर सहयोग गरे। सबैको साझा प्रयासले भुटानमा कोरोना भाइरस नियन्त्रणमा रह्‍यो।

अहिलेसम्म भुटानमा कोभिड-१९ का कारण एक जनाको मात्र मृत्यु भएको छ। मृत्यु हुनेमा ३४ वर्षीय अमेरिकी नागरिक थिए जो कलेजो र मृगौलाका दीर्घ रोगी थिए। उनी हवाइयात्राबाट भुटान आउने क्रममा ट्रान्जिटबाट कोरोना शुरू भएको अनुमान छ। उनी भुटान पुगेपछि मात्र लक्षण देखा परेपछि परीक्षण पश्चात् क्वारेन्टाइनमा बस्दा मृत्यु भएको थियो।

हालसम्म कुनै पनि भुटानी नागरिकले कोभिड-१९ का कारण मृत्युबरण गर्नु परेको छैन। कुल जनसङ्ख्याको ९४ प्रतिशतको कोभिड टेस्ट भएको छ र हाल जम्मा सक्रिय सङ्क्रमित सङ्ख्या १५० भन्दा कम छ। सङ्क्रमितको उपचार भइरहेको छ।

भुटानमा प्रधानमन्त्री आफै बाङ्लादेशमा अध्ययन गरी फर्केका एक वरिष्ठ मेडिकल डाक्टर भएको कारण पनि राज्यले नागरिकको स्वास्थ्यमा विशेष ध्यान पुर्‍याएको देखिएको छ।

हाल अधिकांश सार्क र विम्स्टेक सदस्य राष्ट्रहरूमा खोपको अभाव, स्वास्थ्य पूर्वाधारको अभाव, अस्पताल र शैयाको अभाव तथा अक्सिजनको अभावमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। तर यस्तो अवस्थामा पनि ठूलो जोखिम मोलेर, घरपरिवार र व्यक्तिगत काम छोडेर स्वास्थ्य कर्मीहरूले दिनरात नभनी बिरामीको सेवा गरिरहनुभएको छ। उहाँहरूलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ।

कोभिड-१९ ले मृत्युमात्र होइन मृत्युको त्रासका कारण ठूलो मानसिक तनाव पनि दिएको छ। आज भोलि दिनानुदिन परिवारका सदस्य, आफन्त, चिने जानेका व्यक्तिहरू, साथी भाइहरू होनहार व्यक्तिहरू यसको चपेटामा परेको खबर आइरहेका छन्।

अझ सामाजिक सञ्जालमा शेयर भएका मृतकहरूको विवरण हेर्दा कहालीलाग्दो अवस्था पैदा भएको छ। यस्तो अवस्थामा हाम्रो मानसिकता एकदमै कमजोर भइरहेको छ। बच्चाहरूको मानसिकता झन् कमजोर भएको छ।

विशेष गरी बहालमा सानो कोठामा बस्ने वा खेल्ने ठाउँ नभएको घरमा बस्ने तथा कोभिडका कारण करिब डेढ वर्षदेखि राम्रोसँग घरबाहिर निस्कन नपाएका बालबालिकाको अवस्था दयनीय छ।

यस्तो विषम परिस्थितिमा सरकार, निजी क्षेत्र, नागरिक समाज, विदेशमा बस्ने नागरिकसमेत मिलेर अस्पताल, अक्सिजन, बेड र रेम्डेसिभिर तथा अन्य अत्यावश्यक औषधीको व्यवस्था गर्न आफ्ना प्रयास केन्द्रित गर्ने बेला हो।

जीवन रक्षा गर्ने बेला हो। व्यवसायमा नाफा कमाउने, कालोबजारी गर्ने र अवैध धन कमाउने बेला कदापि होइन। धर्म, नैतिकता वा कर्तव्य सम्झेर सबैले सकेको सहयोग गर्ने बेला हो। सबैको एकता बिना यसलाई परास्त गर्न पनि सकिन्न किनभने यो साझा शत्रु हो। एकजना सङ्क्रमित रहेसम्म कोही सुरक्षित हुँदैन। जीवन रह्‍यो भनेमात्र अन्य कुरा हुँदै गर्छन्।

कोभिडसँग जुध्न आवश्यक पर्ने औषधि रेम्डेसिभिरको नेपालमा एकदमै अभाव देखिएको बेला बाङ्लादेशका लागि नेपाली राजदूतावासले अथक प्रयास गरी सन् २०२० को अगष्टमा पाँच हजार भाइल र हालसालै ३० हजार भाइल रेम्डेसिभिर नेपाल पठाएर सराहनीय कार्य गरेको छ।

यसका लागि बंगलादेशको औषधि कम्पनी बेकसिन्को फर्मा, बंगलादेश सरकार, नेपाली राजदूत महामहिम डा. वंशीधर मिश्र र राजदूतावास परिवारलाई विशेष धन्यवाद दिनैपर्छ।

कोभिडबाट बच्ने रामवाण भनेको सामाजिक दूरी कायम गर्ने तथा स्वास्थ्य मापदण्डको कडाइकासाथ पालना गर्ने नै हो। यसका साथै सुपाच्य, हल्का तथा प्रोटिनयुक्त खाना खाने र खानामा गुलियो तथा कार्वोहाइड्रेटको मात्रा घटाउँदै साथमा व्यायाम र योग गरेमा रोग प्रतिरोधी क्षमता सजिलै बढाउन सकिने कुरा विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरूले सुझावका रूपमा औँल्याएका छन्।

तनावरहित रहने, निराशा आउन नदिने, आफ्ना भावना सञ्चार माध्यमबाट भए पनि साट्ने, असल चलचित्र हेर्ने, नकारात्मक समाचार नहेर्ने र शेयर नगर्ने गरेमा पनि यसबाट फाइदा हुने विशेषज्ञको राय छ। साथै उच्च मनोबल, एकता, संयम, धैर्य, आपसी सहयोग र सामूहिक प्रयासबाट मात्र कोरोना विरुद्धको युद्ध जित्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *