विपक्षी दलहरुको बहुमत पुगेन, सरकार बनाउने दावी नगर्ने

डिसी नेपाल
३० वैशाख २०७८ १८:०६

काठमाडौं। विपक्षी दलहरुले बहुमत जुटाउन नसकेपछि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउका लागि दावी पेश गर्न गरेको आव्हान अनुसार दावी पेश नगर्ने भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन विपक्षी दलहरुले प्रयास गरे पनि अर्को विपक्षी दल जसपाले समर्थन नगरेपछि बहुमत नपुगेको हो।

बहुमत नपुग्ने देखिएपछि दुबै विपक्षी दल काँग्रेस र माओवादी केन्द्रले आ आफ्नो बैठक राखेर सरकार बनाउन नसकिने निष्कर्ष निकालेका छन्। काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर समूहले समर्थन नगरेको र एमालेको माधव समूहले पनि राजीनामा नदिएकाले सरकार बनाउन नसकिने निष्कर्ष सुनाएका छन्।

यस्तौ पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको ब्रिफिङ गरेका छन्। माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्ति बस्नेतले अब विपक्षी गठबन्धनले सरकार बनाउनका लागि दावी नगर्ने बताए। उनले भने, ‘बहुमत नपुगेपछि दावी गर्ने कुरा त आएन।’

२७५ सदस्यीय प्रतिनिधिसभा हाल २७१ सदस्यीय कायम छ। बहुमतका लागि १३६ सिट आवश्यक पर्छ। तर, काँग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपाको उपेन्द्र समूहको १६ सिटमात्र यो गठबन्धनमा देखिँदा विपक्षीलाई बहुमतका लागि १० सिट अपुग भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *