भरतपुर नगरपालिकाकाे शिवनगरमा १५ शैयाको आइसोलेशन
चितवन । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि भरतपुर महानगरपालिकाले वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेशनको शुभारम्भ गरेकी हुन्। शुभारम्भ कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेशन तयार गर्न सफल भएको बताइन्। भरतपुर महानगरपालिकाले कोभिड–१९ को दोस्रो प्रकोप रोकथाम तथा सङ्क्रमितको उपचारका लागि आइसोलेशन तयार गरेको हो।
आवश्यकअनुसार आइसोलेशन थप्दै लैजाने प्रमुख दाहालको भनाइ छ। कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको उनले बताइन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधि, स्वास्थ्य मापदण्डको पालना, बिरामीको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको उनले जानकारी दिइन्।
उनका अनुसार कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ।महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेशन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेशन निर्माण गर्ने तयारी गरेको छ। महानगरले यसअघि नै शिवनगर र शारदानगरमा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरेअनुसार शिवनगरमा आइसोलेशन निर्माण गरिएको हो।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेशन सञ्चालन गरेको बताइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १४ का अध्यक्ष ओमप्रकाश पोखरेललगायतले धारणा राखेका थिए।
कोभिड आइसोलेशनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा कोभिडका सङ्क्रमितले निःशुल्क पाउनेछन् । अस्पतालमा दुई मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकले सेवा दिनेछन्। यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववतरूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ।रासस
Facebook Comment