नेपालीको रोग प्रतिरोधात्मक क्षमता प्रणालीबारे प्रधानमन्त्री ओलीले आफ्नो गल्ती स्वीकारे

डिसी नेपाल
२ जेठ २०७८ १७:२८

काठमाडौं। कोरोना महामारीको पहिलो लहरका बेला देश लकडाउनमा थियो। र लकडाउनकाबीच संसदको अधिवेशन शुरु भयो। २०७७ जेठ २८ प्रधानमन्त्री केपी शर्मां ओलीले कोरोनाबारे सांसदहरुसँग प्रश्नोत्तर गरे।

जसमा उनले नेपालीको इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) बलियो भएकाले नेपालमा कोरोनाले खासै प्रभाव पार्न नसकेको दावी गरे। त्यस लगत्तै प्रश्न गर्दै काँग्रेस सांसद गगन थापाले प्रश्न गरे, ‘नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो?’

प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिए। उनले भने, ‘एकजना माननीयज्यूले प्रश्न गर्नुभएको छ– नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भनेर कसले भनेको? भर्खंरै मैले भनेको सुन्नुभएन? नेपालीको प्रतिरोध क्षमता बढी छ। आधा नेपाली स्वच्छ हिमाली र पहाडी भेगमा बसेका छन् र त्यहाँ स्टामिना छ। तराईमा बस्नेले पनि, मरुभूमिबाट आएको तातो हावा, हिमालबाट ठोक्किएर बरफ भई आएको स्वच्छ हावापानी पाउँछन् । ढुंगाबाट शिलाजित निस्किन्छ जडीबुटी र औषधिको देश हो यो। पानी हिउँबाट, हिमालमाथि बसेर पग्लेर अनेक मिनिरल तत्वसँग खेल्दै रसाएर निस्केर आउँछ । त्यसैले नेपाली निरोगी छन्। नेपालीको प्रतिरोधात्मक क्षमताबारे कुनै वैज्ञानिकले प्रमाािण्त नगरेसम्म म यसमा दावी गर्छु।’

एक वर्षपछि प्रधानमन्त्री ओलीको यो भनाइमा परिवर्तन आएको छ। पहिलो लहरमा विश्वमा तुलनात्मक रुपमा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम थियो।

तर, संक्रमण भने बढेकै थियो। अहिले दोस्रो लहरमा नेपालको अवस्था छिमेकी मुलुक भारतको भन्दा पनि भयाहव छ। सरकारी तथ्यांकले नै नेपालको अवस्था दयनीय देखाएको छ। दैनिक सयौंको संख्यामा निसहरु मरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुने दर प्रतिदश लाखमा करिब ६ जना छ। भारतमा भने यो दर साढे २ छ। यस्तै नेपालमा हाल कोरोना संक्रमण दर ४६ प्रतिशत छ। भारतमा भने २० प्रतिशत छ।

देशको अवस्था यस्तो भयाहव भएकाले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठक बस्यो। बैठकमा प्रधानमन्त्री विशेष अतिथिका रुपमा उपस्थित थिए। उनले सो बैठकमा भनेका छन्, ‘मैले के ठानेको थिएँ भने नेपालमा कोभिड यसरुपमा बढ्छ भन्ने ठानेको थिएँन। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम स्ट्रोङ् छ त्यसकारण अलि अलि सर्छ, धेरै यस तहमा चाही वृद्धि हुन सक्दैन भन्ने लागेको थियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *