आइतबार प्रहरीद्वारा ५ सय ३६ अक्सिजन सिलिण्डर सङ्कलन गरी वितरण

डिसी नेपाल
२ जेठ २०७८ १८:३६

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ३६ अक्सिजन सिलिन्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिन्डरमध्ये २ सय ३७ वटा भरिएका र २ सय ९९ खाली छन् ।

प्रहरीले आज सङ्कलन गरेका ५ सय ३६ वटा र यसअघिको स्टक १ सय ९ वटा गरी जम्मा ६ सय ४५ वटा सिलिण्डर आइतबार ५ सय ८६ कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी रहेका ५९ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ८ हजार ७ सय ३९ सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको उनले जानकारी दिए।

महामारीको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि सिलिण्डर स्टक नगर्न अनुरोध गर्दै प्रहरीले तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिसँग आवश्यकताभन्दा बढी सिलिन्डर भए उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *