दुश्मन !
सरकारले निशेषज्ञा जारी गरेको छ। स्थानीय सरकाले पीसीआरका लागि अनुरोध गरेको छ। तर, नागरिक आफू ज्वरोले थलिएको छ ,जाँच्न जाँदैनन्। कतिपय स्वस्थ नागरिकहरु मोटरबाईक सिक्नका लागि मैदानमा गुरुरुरु दौडिएका छन्।
साइकल सिकिरहेका छन् हुल बनाएर। मर्निङ र इभिनिङ वाक गर्नेहरु उस्तै भीडभाडमा छन्। विहे र पूजाका नाममा उस्तै लस्कर देखिन्छन्। पीडा र गुनासा हुन् यी स्थानीय जनप्रतिनिधिहरुका।
उता नागरिकहरु भन्छन्–सरकारले केही गरेन। अस्पतालमा बेड छैन। बेड पाए पनि अक्सिजन छैन। डाक्टर र नर्सहरुले मात्र कसरी बचाउन सक्छन्? जोखिममा भएकाहरुलाई सुरक्षा छैन।
कुकुरजस्तै मान्छेको मृत्यु। महामारीले गर्दा अनाहकमा नागरिकको ज्यान जाँदासम्म प्रदेश र संघीय संसदले सरकार बनाउने खेलो बाहेक अरु केही गर्न सकेन।
सरकारका मन्त्रीहरु भन्छन्–अस्पतालमा बेड छ। लैजान र भर्ना गर्न सकिन्छ विरामीहरुलाई। अक्सिनजको आपूर्ति भएकै छ। कहिलेकाँही कम हुनु सरकारको गैरजिम्मेवारी होइन। सक्दो प्रयास गरिएकै छ। सरकारले बनाएका निशेषज्ञाका नियमहरु नागरिकहरुले मान्दैनन्। अनि कसरी बचाउन सकिन्छ त नागरिकहरुलाई?
जुहारी चलेको छ यो कोरोनाको दोस्रो लहरमा। हिलो छ्यापाछ्याप भएको छ। केन्द्र,प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि, नागरिकक बीच तालमेल देखिँदैन। यतिबेला रिस साँध्ने बेला जस्तै भएको छ।
निरोगी अवस्थामै भवितव्यमा परिएला भनेर भोलिका लागि अक्सिजन लुकाएर राख्नेहरु आज कोरोना रोग लागेर मर्नेहरुका हत्यारा हुन्। अक्सिजन कुनै अन्न होइन भोकमरीमा काम लाग्ने। यो त मान्छेलाई श्वास फेर्नका लागि तत्कालै आवश्यक पर्ने अमृत हो। खाँचोको बेलामा काम लाग्ने खर्च हो। आजै खर्च गर्नु पर्ने अमृत जस्तै अक्सिजन, लुकाएर,छक्काएर भोलिका लागि साँच्नेहरु देशकै दुश्मन हुन्।
सक्ने स्थानीय सरकारहरुले नागरिकहरुको हितका निम्ति पीसीआर फ्रि, एम्बुलेन्स सेवा चौबीसै घण्टा, आफैं चढेको गाडीलाई समेत विरामी ओर्सानका निम्ति प्रयोग गर्न दिइ रहेका सूचना, जानकारी प्राप्त भइरहेकै छन्।
तर कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या केही तलमाथि बाहेक साम्य हुन सकेको छैन। महामारी विज्ञहरुले अझै दुई वा तीन साता यस्तै भयावह स्थिति देखिन सक्ने आँकलन गरेका छन्। नेपालमा दोस्रो लहर घात र विषाक्त भएर देखा परेको छ। ज्यान जानेको संख्या ह्वात्तै बढेको छ।
कोरोनाले सामाजिक दूरी बढाएको छ तर बढाउनु पर्ने भौतिक दूरी हो। समाज चाहिन्छ भन्थे–मर्दा र पर्दा। तर छिमेकीलाई कोरोना लागेर वा आफ्ना घरपरिवारमा कोरोना लाग्दा वा दुःख पर्दा न सहयोग दिन सकिएको छ न सहयोग दिन आएका छन्। छिमेकीको मृत्युमा मलामी जान सकिएको छैन। हाल बेहाल छ। हाम्रो सामाजिक संस्कारलाई यो रोगले थला पारेको सत्य हो।
उच्च जातिकाका खुब घरानियाँ भनिएका आफ्नै सदस्य कोरोनाले अस्पताल भर्ना हुँदा घरकै परिवार भेट्न जाँदैनन् डरले। अनि कथित दलित जातिका छिमेकीले दैनिक खाना पुराउन जाँदा त्यहाँ जातीय समानता देखिन्छ। के यतिबेलामात्र हो ,जातीय समता चाहिने?
अरुबेला छिछी र दूरदूर गर्ने हाम्रा समाजमा उच्च जाति वा घरानियाँ भनाउँदाहरुले यो रोगबाट केही सिक्लान्? सबैका रगत रातै र सबैका भावना प्रशंसनीय हुन सक्छन् भनेर मान्छेहरुले कहिले बुझ्लान्? मेरो एकजना आदरणीय महानुभावको भोगाई हो यो। उनले समाजको जातीय चरित्र बुझेर नै आफ्नो विश्लेषण गरेका हुन्।
दुःख लाग्दो अवस्था छ। आउँछ यस्तो अवस्था भन्नेहरु पनि थिए। आउन्न,आइहाले पनि थेगिन्छ भन्नेहरु पनि थिए र छन् पनि। आखिर यतिबेला कोरोनाबाट शिथिल भएकाहरुलाई नै बचाउने, पीडित भएकाहरुलाई हो जोगाउने। एकले अर्कालाई धारे हात पछि लगाउँला,आरोप प्रत्यारोप पछि नै गरौंला। यतिबेला सबैका ज्ञान र ध्यान कोरोना नियन्त्रणमा नै लगाउनु पर्ने बेला आएको छ।
डाक्टर,नर्स,,प्यारामेडिक्सहरु,स्वास्थ्यसँग सरोकार राख्ने सबैले आफ्नो जीवनलाई हत्केलामा राखेर अहोरात्र खटिएकै छन्। सक्दो सहयोग,सेवा र सुरक्षा दिएकै छन् तर अपुग मात्र हो। पूरा गर्नु सबैको दायित्व हो।
कारण नखुलेर मृत्यु हुनेका लास सढ्ने स्थितिमा छन्। घरपरिवार डराउएका छन्। छिमेकी बाहिर निस्किन्न। टोल विकास संस्थाहरु डरले थरररर काँपेका छन्। अर्थात् मृत्युसँग सबै डराएका छन्।
मेरा एकजना मित्रले भन्दैथिइन्–अस्पताल पुर्याउँदै गर्दा छिमेकीको मृत्यु भयो। फर्काएर घर ल्याए तर घाटमा लैजान कसैले मानेनन्। एउटा सरकारी अस्पतालका निम्नस्तरका कर्मचारीलाई अनुनय र विनय गरी पचास हजार रुपैयाँ दिएर सतगद् गर्नु परेपछि यो समाज,छिमेकी किन चाहियो?
बाँचुञ्जेल रोगी हुँदा ओखतीका लागि पैसा,उपचार गर्न पैसा अनि मरेपछि लासलाई व्यवस्थापन गर्न समेत पैसा चाहिने भएपछि हामीमा रहेलपहेल मानवीयता कता गयो? हार्दिकता कहाँ गयो?
रोगले शोक ल्यायो। सबैमा त्रास छ। मेरेर जानेहरुलाई त हाइसुक्कै भयो होला तर यहाँ बाँच्नेहरुलाई पीडा छ अति पीडा हुने छ। फेसबुकमा कुनचाँही महानुभावले के नियत वा प्रसंगमा लेखेका हुन् उनैलाई थाहा होला तर उनले लेखेका थिए–सरकारी अस्पताल लैजाऔं ज्यान घर आउन्न। निजी अस्पतालमा लैजाऔं बाँचेर आउँदा घर रहन्न।
यो सिनारियो बुझौं। उपचारका लागि हेलिकप्टर अनि महंगा अस्पताल र त्यहाँ तिर्नुपर्ने दस्तुर? हिसाब जोडिसक्नु छैन। के सरकारी अस्पतालको सेवामा गुनासो हो त? त्यसो पनि होइन। सक्दो सहयोग,सेवा दिएकै छन् तर हामी नेपालीलाई आफ्नै कुरामा विश्वास छैन।
मनोरोग विशेषज्ञ डाक्टर मनोज ढुंगाना भन्छन्–यतिबेला कोरोनाका कारणले भन्दा पनि मनोवैज्ञानिक असरका कारण मानिसको मृत्यु भइरहेको पाइन्छ। कोरोनाबाट बच्न सुरक्षाका विधिहरु अपनाउने, यो रोग देखिएमा चिकित्सकको सल्लाह र नियमित औषधि, पौष्टिक खाना खाने गर्नुपर्छ। आत्मबल बढाउने, त्रासलाई मनैबाट हटाउने र सकारात्मक चिन्तन गर्न सकिएमा कोरोनाबाट बच्न सकिन्छ।
आफैं सरकारी स्कूलमा पढाउनेले संस्थागत विद्यालयमा सन्तान पढाउँछन्। आफैंप्रति कम विश्वास भएरै त होलान नि? सरकारी अस्पतालमा भर्ना हुन पत्यार नलागेर नीजि अस्पतालमा भर्ना हुन रहर गर्नेहरुलाई के भन्न सकियो र? सरकारी अस्पतालमा बेड,साधन,स्रोत कम होलान्, निजी अस्पालको तुलनामा। कम व्यवस्थित होलान् तर सेवा दिने क्षमतामा नै कमजोर होलान् त?
सुनिएको छ,बजारभरि यतिबेला हुनेखाने र बाठो हुँ भन्नेहरुले घरघरमा अक्सिजनका सिलिण्डर लुकाएर राखेका छन्। यता कोरोना रोगीहरु अक्सिजन नपाई तड्पेर मर्नुपर्ने अवस्था सिर्जना भएको छ। भोकाएकाहरुले डाँडा वारि नै खानुपर्छ अनि अघाएकाहरुले डाँडा पारि खाए पनि फरक पर्दैन।
निरोगी अवस्थामै भवितव्यमा परिएला भनेर भोलिका लागि अक्सिजन लुकाएर राख्नेहरु आज कोरोना रोग लागेर मर्नेहरुका हत्यारा हुन्। अक्सिजन कुनै अन्न होइन भोकमरीमा काम लाग्ने। यो त मान्छेलाई श्वास फेर्नका लागि तत्कालै आवश्यक पर्ने अमृत हो। खाँचोको बेलामा काम लाग्ने खर्च हो। आजै खर्च गर्नु पर्ने अमृत जस्तै अक्सिजन, लुकाएर,छक्काएर भोलिका लागि साँच्नेहरु देशकै दुश्मन हुन्।
Facebook Comment