के सेना अझै लाछी भएर बस्ने ?
यो महामारीमा आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खट्टिरहेको नेपाली सेनालाई राजनीतिकरण र भ्रष्टाचारको एम्बुसको जालो बिछ्याइँदै आइएको छ। त्यो एम्बुस तोडेर सेना बाहिर नआएको भए आज ‘जस्तो सरकार उस्तै सेना’ अथवा ‘सबै जोगी कान चिरेका’ भन्ने बदनामी जोडिएको बात लाग्ने थियो।
विभिन्न एम्बुस, श्रोत साधनको अभाव, राजनीतिक इच्छाशक्तिको कमी, तरल राजनीतिक धरातल, अवैज्ञानिक र अव्यवहारिक आर्थिक नियमका बावजुद जवाफदेहितालाई शिरोपर गरेर सेना स्वास्थ्य संकटसँग अग्रपंतिमा रहेर लडिरहेको छ। संकटापन्न समूहलाई मनोवैज्ञानिक ढाढस, भरोसा र उद्धार गर्न दत्तचित्तसाथ त्याग गरिरहेको छ।
नेपाली सेना नेपालको आन्तरिक राजनीतिक शुद्धिकरण छिटो होस् र अनुशासित एवं मर्यादित् राजनीतिले आफूमाथि आदेश निर्देशन शासन गरोस् भन्ने चाहना राख्दछ। अनुशासित राजनीति निर्देशित विधि र प्रक्रियाको कानूनी शासन सेनाको चाहना हो। तर त्यो लंकाको सुन जस्तो टाढाको पाउँदै नपाउने कुरा भएर टरेको छ।
सुशासन र सम्वृद्धि नेपाली सेनाको चाहना मात्र होइन प्रार्थना हो। किनभने ऊ आएको सामाजिक धरातल कुशासन, गरिबी, रोग र भोकले ग्रसित छ। तर सुशासन र सम्वृद्धिको सपना साकार हुनु होइन उसैलाई कुशासन र भ्रष्टाचारको मतियार बनाउन चौतर्फी प्रयासहरु जारी छन्। सिभिल सुप्रिमेसीले एउटा हलो १० ठाउँमा अड्काएर द्रुतर सडक मार्गको समय, लागत र लगानी बढाएर बद्नाम गराउन सबै हथकण्डा अपनाइरहेको छ।
पहिलो, मुलुकमा स्वास्थ्य संकट लगाउने। भारतको संक्रमणलाई सीमामा होल्डिङ्ग सेन्टर, ट्रेसिङ्ग र क्वारेण्टाइन् मार्फत रोक्ने। तराईको पहाड, पहाडको हिमालमा संक्रमण फैलिन नदिने। उस्तै सहरको संक्रमण गाउँमा फैलिन रोक्ने। पूर्वी, मध्य र पश्चिम नेपाललाई पूर्ण आइसोलेसनमा राख्ने। लकडाउन र निषेधाज्ञा अस्थायी हुन्, क्षणिक हुन र जनस्वास्थ्यका लागि हुन् भनेर रहस्य जनतालाई बुझाउने। नेपाली सेनाको अर्थपूर्ण र लाभपूर्ण लकडाउनलाई मात्र जनताहरु हार्दिकताकासाथ मान्न तयार देखिन्छन्।
नेपाली सेनाको शान्तिको चाहनालाई दुत्कार्दै भाइभाइबीच लडाउन युद्धमा उतार्ने हिजोको षड्यन्त्र होस् वा जानीबुझिकन हातहतियार लुकाएर सामाजिक सहिष्णुता बिथोल्ने तथा जातीय, क्षेत्रीय, धार्मिक बिखण्डनको बिजारोपण गर्ने राष्ट्रिय बुझक्कडहरुको छलकपटपूर्ण केटाकेटी खेल।
यी क्रियाकलापहरु सरासर राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा विरुद्ध परिलक्षित छन् र नेपाली सेनाले अन्धकारमा पिरोलिएर निस्सासिएर जनता जनार्दनको अटुट सेवा गरिरहेको छ।
सेनाले खोल्नुपर्ने आँखा
कोरोनाको पहिलो लहरको पूर्व तयारी, योजना, सावधानी र सतर्कता किन अपनाएन सरकारले? दोश्रो लहर सरकार आफ्नै क्रियाकलाप, हर्कत र नियतले किन निम्त्यायो? महासंकटमा सत्ता र कुर्सीको एकोहोरो बिना अर्थको खेल र नागरिकको जीउ धनको सुरक्षाको जिम्मेवारीको बेवास्ता किन? स्वास्थ्य संकटको उत्कर्षमा पनि कमिसन र घुसको खुलेयाम अमानवीय तथा राष्ट्रिय लज्जाबोधको लगातार नाटक किन?
सेनाले सरकारलाई आँखा जुधाएर औपचारिक रुपमा सोध्नुपर्ने प्रश्नहरु यिनै हुन्। प्रश्नहरुको फेहरिस्त लामो छ तर स्वास्थ्य संकट सामना गर्न र पार लगाउन सेनाले जवाफ माग्नैपर्ने कुरा हुन् यी।
सवाल जवाफ हुँदैन भने सेनाले एकीन गर्नुपर्ने कुराहरु उल्लेख गर्न चाहन्छु– सरकारको सक्रियता, लोकप्रियता घटेको छ। आन्तरिक कमाण्ड कन्ट्रोल र व्यवस्थापन क्षमता कमजोर भएको छ। हिजो र आजको सत्ता कलह, सम्झौता र समिकरणले सरकार झन् कमजोर निरीह हुने निश्चित छ। सरकारले वर्तमान र भावी स्वास्थ्य संकटको सामना गर्ने क्षमता गुमाइसकेको छ।
वर्तमान महासंकट राष्ट्रिय क्षमता बाहिर गइसकेको छ। अन्तर्राष्ट्रिय उद्धारको प्रतीक्षामा छ। तर अन्तर्राष्ट्रिय समुदायलाई सम्झाउने बुझाउने पट्याउने सामर्थ्य र नैतिक साहस यो सरकारसँग देखिँदैन। न त विश्व समुदायले यो सरकारलाई भर पत्यार नै गर्दछ। मुलुक कुटनीतिक विफलताको उत्कर्षमा पुगेको छ।
जनताको राजनीतिक वितृष्णा आक्रोश र विद्रोहमा परिणत हुने अवस्थामा पुगेको छ। यो दल होस कि त्यो दल। अथवा चुनाव होस् कि नहोस्। मुलुकका दल, राजनीतिकर्मी र नेतागणबाट न स्वास्थ्यउद्धार न भोलिको शासन सम्भव देखेका छन् आम जनताहरुले।
अब के के गर्ने ?
पहिलो, मुलुकमा स्वास्थ्य संकट लगाउने। भारतको संक्रमणलाई सीमामा होल्डिङ्ग सेन्टर, ट्रेसिङ्ग र क्वारेण्टाइन् मार्फत रोक्ने। तराईको पहाड, पहाडको हिमालमा संक्रमण फैलिन नदिने। उस्तै सहरको संक्रमण गाउँमा फैलिन रोक्ने।
पूर्वी, मध्य र पश्चिम नेपाललाई पूर्ण आइसोलेसनमा राख्ने। लकडाउन र निषेधाज्ञा अस्थायी हुन्, क्षणिक हुन र जनस्वास्थ्यका लागि हुन् भनेर रहस्य जनतालाई बुझाउने। नेपाली सेनाको अर्थपूर्ण र लाभपूर्ण लकडाउनलाई मात्र जनताहरु हार्दिकताकासाथ मान्न तयार देखिन्छन्।
दोश्रो लकडाउन आफैं औषधि होइन। तर संक्रमण फैलिन नदिने एकमात्र असरदार उपाय हो। संक्रमण नियन्त्रण गर्न चाहिने खोप उपलब्ध गराउन सैन्य कुटनीतिको भरपुर प्रयोग गर्ने। नेपाली सेनाको विश्वास र गौरव व्यापक धेरै छ।
नेपाली सेनाले बढाएको मागलाई सम्बोधन गर्न छिमेकी र शक्ति राष्ट्रहरुको तछाड् मछाड् हुने छ। प्राप्त खोपलाई सर्वमान्य विधि र प्रक्रियामार्फत सकल नेपालीलाई अनिवार्य लगाउँदै जाने।
तेश्रो, अनाहकमा सास नपुगेर संक्रमण निको नभई ज्यान जाने बिडम्बनालाई हटाउन अक्सिजन आपूर्तिको व्यवस्था मिलाउने। स्वास्थ्य संकटमा घुमाउरो आर्थिक नियमलाई गोली मारेर आफ्ना हवाईसाधनबाट सिधै अक्सिजन सिलिण्डर ढुवानी गर्ने।
चौथो, आफ्नो संरचना र डिप्लोयमेण्टलाई हदैसम्म टुक्रयाएर चार–चार जनाको टीममा गाउँगाउँ र टोलबस्ती र घरघरसम्म संक्रमणको सर्भे, अध्ययन, ट्रेसिङ्ग उपचार र प्रतिवेदन गर्न खटाउने। इन्फ्यान्ट्रीलाई स्वास्थ्यकर्मीको आधारभूत तालिम दिएर उद्धार उपचार गर्न सक्षम बनाउने। विज्ञको उपचार अगाडिको घरेलु उपचार र मनोवल बढाउने माध्यम हुन सक्छ त्यो चार जनाको निशस्त्र टीम।
सरकारको सक्रियता, लोकप्रियता घटेको छ। आन्तरिक कमाण्ड कन्ट्रोल र व्यवस्थापन क्षमता कमजोर भएको छ। हिजो र आजको सत्ता कलह, सम्झौता र समिकरणले सरकार झन् कमजोर निरीह हुने निश्चित छ। सरकारले वर्तमान र भावी स्वास्थ्य संकटको सामना गर्ने क्षमता गुमाइसकेको छ। वर्तमान महासंकट राष्ट्रिय क्षमता बाहिर गइसकेको छ। अन्तर्राष्ट्रिय उद्धारको प्रतीक्षामा छ।
पाँचौं, मुख्य संस्थागत इरादालाई बदल्ने। अबको सैनिक इरादा भू–अखण्डता रक्षा होइन, जनताको स्वास्थ्य सुरक्षा हुनुपर्ने छ। भू-अखण्डता राजनीतिक जालझेल, विकाउ र सम्झौताले क्रमशः क्षयीकरण भइरहकै छ, स्वास्थ्य सुरक्षा प्राथमिक जिम्मेवारी हाेस् अनिश्चित कालको लागि।
अथवा, संक्रमण नियन्त्रण नभएसम्मको लागि स्वास्थ्य सुरक्षा सेनाको प्राथमिक कार्य हुन सक्दछ। यो प्राथमिकता बदली गर्न सेनाले कसैको निर्देशन माग गर्ने होइन। बिरालाका घाटीमा आफैले घण्टी झुण्ड्याउने। कसैलाई बोधार्थ समेत दिईरहनुपर्दैन। जनता रहे न जमिनको खोज हुने हो। जनता पहिला बचाऊ अनि जमिन साँध सीमाना खोजौंला।
छैटौं, अस्पताल सुरक्षा, स्वास्थ्यकर्मीको सुरक्षा, समग्र शान्ति सुरक्षा अर्को महत्वपूर्ण सवाल हो। रोगसँगै आउने अनिकाल र भोकले अस्तव्यस्तता र अव्यवस्थाको सृजना गर्ने छ। त्यसको नियन्त्रण गर्ने गुरु योजना नेपाली सेनासँग हुनुपर्दछ।
सामान्यीकरण, रोजगारी, आर्थिक पुनरुत्थान मद्यकालीन र सुशासन र सम्वृद्धि दीर्घकालीन कदम हुन सक्दछन्।
अन्त्यमा, राजनीतिक सर्गर्मी र कुर्सी कलह उत्कर्षमा पुगेको बेला स्वास्थ्य संकट महासंकटमा परिणत भएको छ। दोश्रो लहर ल्याउन सरकार र कुर्सी झगडाका स्टेकहोल्डरहरु स्वयं जिम्मेवार छन्।
मानव जीवनसँग खेलवाड गर्ने र तिनको ज्यान लिने काम सरकार र उसका संरचना, संयन्त्रहरु स्वयंबाट भइरहेको र स्वास्थ्यसामाग्री खरिद र आपूर्तिमा सेकेण्ड सेकेण्डमा भ्रष्टाचार गर्न लागेको सरकार आफ्नो प्राथमिक जिम्मेवारीबाट विमुख भइसकेकोले अब जनताको जीवन रक्षा गर्न सेना अगाडि सर्न बिलम्ब गर्नु हुँदैन।
स्वास्थ्य संकटको सामनाको बागडोर अब नेपाली सेनाबाहेक अरुले सम्हाल्न सक्दैन। नत्र, लाछी सेना भएको फगत आरोप लाग्ने छ। त्यही अवसरमा राजनीति सङ्लिनु र सुध्रिनु पर्दछ ।
(लेखक उद्धारकर्मी र संरक्षणकर्मी हुन्)
Facebook Comment