४२ करोडमा निर्माण भएको अस्पताल भवन एक वर्षमै भयो चुहिने

सुर्खेत। ४२ करोडमा निर्माण भएको कर्णाली प्रदेशको प्रादेशिक अस्पताल निर्माण भएको १ वर्ष भित्रै कोठा भित्र पानी पसेर बिरामीहरुलाई उपचार गर्नका लागि कठिन भएको छ।
२०७३ माघमा चितवनको आशिष कन्ट्रक्सनले करिब ४२ करोड रुपैयाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेर कर्णाली प्रदेश अस्पतालको भवन निर्माण सुरु गर्यो। २०७६ साउनमा म्यादभन्दा ६ महिना अगावै भवन निर्माण सम्पन्न गरेर अस्पताललाई हस्तान्तरण गरी कम्पनीले पुरस्कार समेत पायो।
अस्पतालको भवन बाहिरबाट हेर्दा भब्य देखिए पनि भवनको भित्री अबस्था हेर्दा नाजुक देखिएको छ। आकाशको पानी सिधै कोठाभित्र चुहिन्छ। पानी चुहिँदा विरामीहरुको उपचार गर्न निकै कष्ट हुने गरेको अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए।
अहिले अस्पतालको नयाँ भवनमा सेवा विस्तार भएको प्रसूति वार्डलगायतमा पानी चुहिएर विरामीलाई समस्या पर्ने गरेको छ। नयाँ भवनमा ओपीडी सेवा र कोरोना संक्रमित बिरामीको उपचार सेवा थालिएको करिब दुई हप्ता भयो। तर भवनको अबस्था राम्रो नहुँदा निकै सास्ती खेप्नु परेको छ।
अस्पतालले नवनिर्मित भवनको जिम्मा लिए पनि प्रयोगमा ल्याएको थिएन। तर, पछिल्ला दिनमा कोरोनाको दोस्रो भेरियन्ट शुरु भएयता कोरोनाका बिरामी बढेसँगै सम्पूर्ण भवनको ब्लकहरु प्रयोगमा ल्याउन खोज्दा सिलिङबाट पानी चुहिने, विद्युतको वाइरिङ, प्लम्बरिङ र फ्लोरिङमा थुप्रै समस्या देखिएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘भवन बुझेको वर्ष दिन भयो, तर, प्रयोगमा ल्याएको दुई हप्ता जति, पानी चुहिने, शौचालय थुनिएर कोठा भरिने, धाराहरु आफैँ फुट्ने, विद्युत् वाइरिङ पनि गुणस्तरीय नभएको, फ्लोरिङ पनि ठाउँठाउँमा च्यातिएको छ।’
डा. खड्काका अनुसार अहिले गर्भपतन गराउने कक्ष (क्याक) मा पानी चुहिएकै कारण बेड राख्न नसकिएको हो। ‘पानी चुहिने समस्या भयो, मर्मत काम गर्दिन अनुरोध गर्दासमेत कम्पनीले बेवास्ता गरिदिँदा अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीले समस्या भोगिरहनु परेको छ,’ निर्देशक डा. खड्काले भने।
सामान्य अवस्थामा पनि बिरामीको संख्या धेरै हुने प्रदेश अस्पतालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणका बिरामीले थेगी नसक्नु छ। जसले गर्दा पनि अहिले बिरामी र स्वास्थ्यकर्मीले समस्या भोग्नु परेको अस्पतालको भनाइ छ।
भवन त्यत्तिबेलै प्रयोगमा नल्याई लामो समयपछि प्रयोगमा ल्याउँदा निर्माण कम्पनी पन्छिन खोजिरहेको छ। निर्माण कम्पनीले हस्तान्तरण गरेको एक वर्षसम्म रेखदेखको जिम्मेवारी लिनुपर्ने भए पनि अस्पतालको म्याद नाघिसकेको भन्दै निर्माण कम्पनी पन्छिन खोजेकोे हो। तर निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेकै कारण यस्तो समस्या आएको अस्पतालको भनाइ छ।
अस्पताल भवन निर्माण निरीक्षणको जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले निर्माण कम्पनीलाई मर्मत सुधारका लागि बारम्बार ताकेता गरिरहेको जनाएको छ।
‘निर्माण कम्पनीलाई हामीले मर्मतका लागि जानकारी गराइसकेका छौँ,’ इन्जिनियर नरेन्द्र बुढाले भने, ‘निषेधाज्ञाका कारण पनि समस्या भइरहेको छ, जतिसक्यो छिटो आएर मर्मत सुधार गर्न कम्पनीलाई ताकेता गरेका छौँ।’
Facebook Comment