महतोको नाम विज्ञप्तिबाट हटाइयो, यो थाहा पाएर महतोले पुरानो पत्र दर्ता गराए

डिसी नेपाल
५ जेठ २०७८ १०:५६

काठमाडौं। जनता सामाजवादी पार्टीमा सत्ता राजनीतिको खेलले उग्ररुप लिँदा दुई अध्यक्षबीचको सम्झौतापत्रबाट अर्का नेता राजेन्द्र महतोको नाम काटियो भने महतोले पुरानै हस्ताक्षर प्रयोग गरी आफूलाई संसदीय दलको नेता घोषित गर्दै संसद सचिवालयलाई पत्र पठाए।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सत्ता गठबन्धनमा विभाजित जनता समाजवादी दलका दुई अध्यक्षले एक अर्कालाई दुबै गठबन्धनबाट रोक्ने निर्णयसहितको सम्झौत पत्रमा हस्ताक्षर गरे।

ओलीसँग ज्यादै निकट हुँदै गएको कारण महन्थ ठाकुरसँग झक्किएका उपेन्द्र यादवले ओलीसँगको गठबन्धनमा महन्थलाई रोक्ने प्रयासमा सफलता मिलेको ठाने भने महन्थले ओलीविरोधी गठबन्धनमा उपेन्द्र र उनको समूहलाई जानबाट रोक्न सकेको ठाने।

समाचार स्रोतका अनुसार उपेन्द्र यादवले ‘माननीय राजेन्द्र महतोलाई संसदीय दलको नेता निर्वाचित गरिएको हल्लालाई अस्वीकार गर्ने’ बुँदा पनि थप गरेर हस्ताक्षरका लागि महन्थसमक्ष लगेका थिए। तर, महन्थले सो पत्रमा हस्ताक्षर गर्न मानेनन्।

स्वीकार वा अस्वीकार गर्ने भन्ने कुरै यहाँ उल्लेख नगारौं, महतोको नाम नै उल्लेख नगरेपछि यो प्रसंगले थप विवाद ल्याउँदैन। मुलरुपमा दुबै अध्यक्ष कुनै पनि सत्ता गठबन्धनमा सामेल नहुने, आफ्नो नेतृत्वमा सरकार बन्ने भएमात्र सरकारमा सामेल हुने भन्ने कुरामै फोकस गरौं भन्ने ठाकुरको जोड थियो।

महतो नाम अस्वीकार गर्ने बुँदा राख्नै पर्ने कुरामा लामो गलफत्तीपछि उपेन्द्र यादव सो बुंदा हटाएरै भए पनि पार्टी एकतासम्बन्धी विज्ञप्तिमा हस्ताक्षर गर्न तयार भएका थिए। सत्ताको खेलमा नराम्रोसंग जाकिएको जनता समाजवादी पार्टीमा मंगलबार एकाएक घटनक्रमहरु तीब्ररुपमा विकसित भए।

विहान दुई अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवबीच लिखित सम्झौता भयो भने दिउँसो महन्थको एकलौटी हस्ताक्षरमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइएको पत्र संसद सचिवालय पुग्यो। यी दुई घटनाक्रमका पछाडिका खेल भने निकै रोचक छन्।

सोमबार मध्यराति अध्यक्ष ठाकुर बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरी फर्किपछि अर्का अध्यक्ष उपेन्द्र यादव झन् सशंकित भएका थिए। उनले ठाकुरलाई पार्टी एकताको सन्देश जाने गरी एउटा संयक्त विज्ञप्ति प्रकाशित गर्ने प्रस्ताव गरे।

सोही प्रस्तावअनुसार, दुई अध्यक्षहरुले एक अर्कालाई सम्भावित सत्ता गठबन्धनमा सामेल हुनबाट रोक्न सफल भएका थिए। ठाकुर समूहबाट सत्तामै सहभागी हुनुपर्छ भन्ने जोडमा महतो छन्। उनले १० वटा मन्त्रालय र आफूलाई रोजेको मन्त्रालयसहित उपप्रधानमन्त्री पदको माग ओलीसमक्ष राखिसकेका पनि छन्।

ठाकुरले महतोको सो प्रयासलाई मन पराएका थिएनन्। ठाकुर ओलीलाई समर्थन गर्ने तर संसद विघटन गरी निर्वाचनमा जाने शर्तमा मात्र तयार छन्। त्यसका लागि जसपाले ओलीलाई मत दिनुपर्दैन तटस्थ बस्दामात्रै पुग्छ। उता, उपेन्द्र यादव माओवादी र कांग्रेस गठबन्धन बनाई सरकारमा जाने खेलका मुख्य पात्र नै हुन्।

उनलाई पनि त्यो गठबन्धनमा जानबाट रोक्न यो सम्झौता विज्ञप्ति सफल भएको बुझाइ ठाकुर पक्षको छ। समाचारअनुसार, विज्ञप्तिमा नबौं बुँदामा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइएको भन्ने कुरा बेठीक भएको र त्यसलाई अस्वीकार गरिएको छ भन्ने कुरा उल्लेख गरिएको थियो।

महन्थले सो बुंदा हटाउन लगाएपछि मात्र हस्ताक्षर गरे। यादव निकट स्रोतका अनुसार, बुँदा हटाइए पनि यादवले ठाकुरलाई प्रष्टसँग महतोलाई आफू संसदीय दलको नेता मान्न नसक्ने कुरा बताएका थिए। तपाईं हुने भए म पाँचै वर्ष हुने भए पनि मान्छु तर महतोलाई नेता मान्दिन भन्दै यादवले महतोलाई जथाभावी गर्न रोक्न ठाकुरसँग आग्रह गरेका थिए।

यता, दुई अध्यक्षबीच यस्तो वार्तालापसहित एकतासम्बन्धी सम्झौता विज्ञप्तिमा हस्ताक्षर भएको थाहा पाएका राजेन्द्र महतोले मंगलबार आफूलाई संसदीय दलको नेता भएको पत्र एकाएक संसद सचिवालय पठाइदिए। महतो संसदीय दलको नेता भएको पत्रमा ठाकुरको हस्ताक्षर छ।

सो हस्ताक्षर ठाकुरले केही दिनअघि गरेका थिए। हस्ताक्षर गरेर जसपाका नेता केशव झालाई दिएका उनले तत्काल सो पत्र संसद सचिवालय नपठाउनु भनेर रोकेका थिए। तीन दिन रोकिएपछि हिजो पत्र पठाउनुमा दुई अध्यक्षका बीचको सम्झौता विज्ञप्ति र आफूलाई दलको नेता हुनबाट रोक्ने प्रपञ्च भएको महतोको ठम्याइले काम गरेका थियो। पार्टीभित्रको समीकरणमा झा राजेन्द्र महतो निकट व्यक्ति मानिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *