पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी
दमाैली । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र पिसिआर परीक्षणको रिपोर्ट आउन ढिलाइ भएपछि तनहुँका सबै पालिकाको सहभागितामा प्रयोगशाला स्थापनाको तयारी थालिएको छ। स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाइ हुन थालेपछि जिल्लाका १० वटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन्।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय बैठकले व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो। त्यसका लागि सम्बन्धित निकायमा अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व व्यास नगरपालिकाले लिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उक्त प्रयोगशालामा रोटरी क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ बाट प्राप्त मेसिनको समेत प्रयोग गरिने भएको छ। गत वर्ष असोजमा क्लबले नगरपालिकालाई एक थान पोर्टेबल मेसिन हस्तान्तरण गरेको थियो तर कोरोनाको जोखिम कम हुँदै गएको र पोखराबाट रिपोर्ट तत्कालै आउन थालेपछि उक्त मेसिन प्रयोग गरिएको थिएन। तनहुँका १० वटै पालिकाको सहभागितामा गत वर्ष जिपी कोइराला श्वासप्रश्वास उपचार केन्दमा आइसोलेशन भवन निर्माण सम्पन्न भएको थियो। पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहनुभएका दाजुभाइ दिदीबहिनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आग्रह गरिएको छ।
“कोभिडसँग लक्षण मिल्दाजुल्दा बिरामी पिसिआर परीक्षणको दायरामा नआउने, आउँदा ढिलो आउने गरेको अवस्था छ,” प्रवक्ता श्रेष्ठले भने, “त्यसपछि स्वाब सङ्कलन गरेर पठाउँदा कम्तीमा रिपोर्ट आउन एक हप्ता लागेको स्थिति छ। यसले गर्दा सङ्क्रमितको पहिचान र उपचार प्रक्रियामा कठिन भयो।”
बैठकले अक्सिजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएकामा धन्यवाद दिएको छ। साथै यस प्रक्रियामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने भएका छन्। हरेक पालिकाले आ–आफ्नो क्षमता, सामाजिक सङ्घ संस्था, निजी क्षेत्रसमेतको सहभागितामा स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय बैठकले गरेको छ।रासस
Facebook Comment