नेपालको संकटमा चीनको नुनचुक
विगत केही समयदेखि मुलुक स्वास्थ्य संकटमा परेको छ। हुन त नेपाल र नेपालीजन यसअघि पनि कहिले प्राकृतिक र कहिले छिमेकीबाट प्रताडित हुँदै अनेकौं गम्भीर संकटहरु भोगेर र तिनीहरुलाई सफलतापूर्वक पार लगाएर जीवन चलाइरहेका छौं।
तर, अरु संकट र महामारीजन्य स्वास्थ्य संकट तुलनै गर्न नसकिने हुँदो रहेछ। जनजीवनमा जुन त्रास छ अहिले त्यो नेपाल र नेपालीको इतिहासमै कहिले पनि थिएन होला सायद । कतिबेर कसलाई के हुन्छ र सास फेर्न चाहिने सामान्य अक्सिजनको अभावमा ज्यान गुमाउनु पर्ने हो भन्ने त्रासले हरेक नेपाली आत्तिएका छौं।
नआत्तिनुहोस् तपाईंहरुका लागि सरकार छ, सरकारले अक्सिजनको व्यबस्था गर्छ, अस्पतालमा उपचार गर्ने व्यबस्था मिलाउँछ भनेर आँट दिनुभन्दा अम्बाका पात खाएर बस, जुलुस र सभामा आऊ मेरो जयजयकार गर भन्नेमात्र सरकार छ यतिबेला। मुलुकको स्वास्थ्य क्षेत्र पुरै कोल्याप्स भइसकेको छ।
हामीले जानी जानी स्वास्थ्य सुरक्षाको धरातल भत्कायौं। स्वास्थ्य मापदण्डको उपहास गर्यौं। ठूलठूला सभा सम्मेलन आयोजना गर्यौं। कानून शासकलाई होइन शासितलाई मात्र भन्ने खराब नजिर स्थापित गरिदियौं। त्यसकै श्रृङ्खला थियो बैशाख २७ गतेको संसदीय अभ्यासको नाटक-विशेष अधिवेशन। जो अगुवा उही जीउ छाडा भएपछि न प्रणालीले काम गर्दछ न कानूनलाई कसैले टेर्दछ।
सरकार नियम बनाउने आफैं तोड्ने। नीति तर्जुमा गर्ने आफूलाई लागू नहुने विकृतिका पराकाष्ठाको परिणाम कसरी सुखद् होस्? कुम्भ मेलाको भिड्भाड् होस अथवा विभिन्न जात्राहरुको रङ्गरउस् वा सीमा नाकाहरुबाट अटेरी भई हुलका हुल संक्रमितहरुको प्रवेश सरकारी कमीकमजोरीका दुःख निम्त्याउने परिणाम थिए।
सानो देशको सुन्दर राजधानी विदेशी संक्रमितहरुको नाचगान रमाइलो गर्ने र अन्तर्राष्ट्रिय उडान भरेर तेश्रो मुलुक जाने ट्रान्जिट क्याम्प भएको थियो। सरकार महामारी रोकथामको सावधानी अपनाउनु होइन महामारी भित्र्याउन उद्यत् जस्तो देखिन्थ्यो।
न विज्ञहरुको सचेतनाले सरकारको ध्यानाकर्षण गर्यो न त सुरक्षा निकायहरु र अन्य सरकोकारवालाहरुको अनुनय विनयको सुनुवाइ भयो।अन्तर्राष्ट्रिय आँखा कानलाई हाम्रो सरकार लापर्वाही र उपद्रव गर्ने महाघामट् भयो।
आन्तरिक राजनीतिमा छुद्र व्यबहार देखाए देखिए पनि सगरमाथाको चुचुरोमा चिनियाँहरु धर्को कोर्न जाने घोषणा गर्दै नेपालको शीरमाथि धावा बोल्दा पनि हाम्रो सरकार प्रतिक्रियाविहीन भएको छ। चिनियाँ सरकारले आधिकारिकरुपमै सगरमाथाको चुचुरोमा सीमा धर्को कोर्ने कुरा त्यहाँको सरकारी मिडियामार्फत सार्वजानिक गरिसकेको कुरालाई हाम्रो सरकारले नसुनेझैं, नदेखेझैं गरेर बसेको छ। यो के का लागि हो?
अन्तर्राष्ट्रिय कानूनका अगाडि अपराधी सावित भयो यदि छानबिन र मूल्याङ्कन गर्ने हो भने। आफ्नो जनतालाई आधारभूत स्वास्थ्य सुरक्षा दिन नसक्ने सरकारको निरीहतालाई विश्व समुदायले के भन्यो होला? इतिहासले के मूल्यांकन गर्ला? भावी पिँढीले कसरी क्षमा देलान्?
अझ स्वास्थ्य सामाग्री खरिद र आपूर्तिको नालीबेली कथाव्यथा सुनिनसक्नु अक्षम्य छ। मानवता विरोधी निन्दनीय कृत्य। कसरी सरकार र सरकारको संयन्त्र त्यति असम्बेदनशील हुन सक्दछ? भ्रष्टाचार कसरी मौलाएको छ र बिचौलियाहरुले कसरी पर्दा पछाडिबाट रिमोट दबाएर सरकार र राज्य संचालन गरिरहेका छन् स्वास्थ्य सुरक्षा भ्वाङ्ग पार्ने ऐनामा हेर्न देख्न सकिन्छ सजिलै आजकाल।
हामी किन कसरी केका लागि चुक्दै गयौं जगजाहेरै छ। खरानीको लुछाचुडीलाई घर पोल्ने राजनीतिक प्रपञ्च र आन्तरिक कलहले स्वास्थ्य सुरक्षासँगै राष्ट्रिय सुरक्षा धरापमा पर्दा समेत हामी कानमा तेल हालेर बस्नुको ताप्पर्य हाम्रो संवेदना र जवाफदेहिता मरिसकेको छ।
प्रकृति, मातृभूमि र जनताको स्वामित्व लिने नैतिक साहस नष्ट भइसकेको छ। संविधान, कानुन, सामाजिक आदर्श रद्दीको टोकरीमा फ्याँकेर हामी सीमित व्यक्तिगत स्वार्थमा लिप्त छौं। राष्ट्रिय हित र राष्ट्रिय स्वार्थको मर्म बुझ्न र बोक्न हामी तयार छैनौं।
सरकारको कमाण्ड कन्ट्रोल फितलोबाट शून्यमा झरेको छ। कसलाई किन केको लागि टेर्ने मान्ने भन्ने मनोविज्ञानले सबैलाई उक्साएको छ। राष्ट्रिय उचाइका नेतृत्वहरु असल घरमुली समेत होइनन् र आफ्नो परिवारमा समेत तिनीहरुको कमाण्ड कन्ट्रोल छैन भन्ने शंकाको होइन सतप्रतिशत् विश्वासको ऐना देख्न पाइयो। गुट उपगुट दल माथिको कमाण्ड कन्ट्रोल धेरै परको कुरा।
राज्यको शासन सत्ता संचालनको खुबी झन् टाढाको कुरा। असल परिपक्क कुटनीतिले विश्व समुदायमा आवद्ध हुने र इज्जतले बाँच्ने तथा अस्तित्व रक्षा गर्ने क्षमता झन् कल्पना बाहिरको कुरा। भुँइफुट्टा नेतृत्व र नेतृत्व खडेरीले राष्ट्रिय सुरक्षाको सबाल सम्बोधन गर्ने गुञ्जायस देखिँदैन। राष्ट्रिय सुरक्षाका स्टेकहोल्डहरुको समयमै आँखा खुल्नु अपरिहार्य छ।
सरकारको कमाण्ड कन्ट्रोलभित्र मन्त्रालय, मन्त्री, कर्मचारी, प्राविधिक नरहेको स्पष्ट देखियो। कतिपय सरकारका मन्त्रालय र मन्त्री पनि सरकार बिफल बनाउन उद्यत समेत देखियो।
सरकारले चेन अफ कमाण्डले काम नगरेपछि आफ्नो विश्वासको सहसचिव, उपसचिव, प्राविधिकसँग सोझै समन्वय राखेर काम फच्चे गर्नुपर्ने बिडम्बनाले चेन अफ कमाण्डको जुइनो चुँडिसकेको देखिन्छ। दलीयकरणको भासबाट बाहिर आउन ब्युरोक्य्राट्स, टेक्नोक्र्याट्स न्यायालय र गृह प्रशासन अन्तरगतको सुरक्षा निकायहरुलाई सजिलो देखिँदैन।
न त संघको चेन अफ कमाण्ड प्रदेश र स्थानीय तहसम्म छ। समन्वय र अनुगमनको जुइनो पनि चुँडिसकेको देखिन्छ। यो राष्ट्रिय विकृतिबाट राष्ट्रिय सुरक्षाका खम्बा भनाउदा अंगहरु जोगिन जरुरी छ कतै त्यो खराब विकृति संगठनभित्र नभित्रियोस्।
मुलुक सक्ने अर्को महारोग भ्रष्टाचार हो। जुन खुलेयाम मौलाएर फैलिएर गएको छ। स्वास्थ्य सुरक्षाको यति धेरै र उति ठूला भ्वाङ भ्रष्टाचारकै उपज् हुन्। अहिले पनि महामारी कसैलाई स्वर्ग भएकै छ। लुट्पाट् गर्ने सुवर्ण अवसर भएको छ।
आज्ञाकारी सुरक्षा निकायहरु र आदर्शवान् स्वास्थ्यकर्मीहरुको एकोहोरो बल र त्यागले मात्र हो पहिलो लहरको महामारी नियन्त्रणमा आएको। तर खोई पहिचान, सम्मान र सुविधा?
आन्तरिक कलहले ल्याएको विकृति
इतिहासमा यति धेरै बिदेशी हस्तक्षेप कम्तीमा पंक्तिकारले चाहीँ देखेको थिइन। हस्तक्षेप आक्रमणमा रुपान्तरण हुन सक्दछ भन्ने खोइ हामीले हेक्का राखेको? ब्यास क्षेत्रको कब्जा र सगरमाथा चुचुरोको कब्जा यसका ज्वलन्त उदाहरण हुन्।
आन्तरिक व्यवस्थापन चिप्लिएको र घर अस्त व्यस्त भएको मौकामा अरुले हानेका चौका हुन्। महामारीको दौरान हामीले स्वास्थ्य सुरक्षा मात्र भत्काएनौं नेपाल राज्यलाई संचालन गर्न काबिल र जवाफदेखि राष्ट्रिय नेतृत्व छैन भन्ने सन्देश छिमेकीहरु लगायत विश्व समुदायलाई दियौं।
लुट्पाट र कब्जाका श्रृङ्खलाहरु अब तीब्ररुपमा बढ्ने छन्। यसको दोषी अरु कोही होइन हामी आफैं हौं। नेपाल अस्तव्यस्तताको भूमरीमा परेको बेला उत्तरतिरको छिमेकी मुलुक चीनले हाम्रो सगरमाथामाथि धावा बोलेको समाचारहरु आइरहेको छन्।
२०७२ को महाभूकम्पको पीडाले थलिएको मौका छोपेर चीन र भारत दुई छिमेकी मित्रले नेपालको सुदूर उत्तर पश्चिम कुनो छिनेर लगेको सम्झौता होस वा भारतले लादेको अमानवीय नाकाबन्दी होस्।
मुलुक र जनताको स्वाधिनता र स्वाभिमानमाथि धावा बोलिएका यस्ता घटनाहरुबाट मुलुकको नेतृत्वले पाठ सिक्नु पर्ने थियाे। एक वर्ष अगाडिको महामारीको पीडा र लकडाउनको बन्देज कसरी सडक उद्घाटनको लागि अनुकूल भयो? त्यसको सन्देश दिन दहाडै एउटा सानो छिमेकी मुलुकको सामरिक महत्वको हिस्सा हडप्नु मात्र थियो कि यहाँ आन्तरिक कलहको बिजारोपण गरेर ‘टुटाउ फुटाउ शासन गर’ गर्दै भीमकाय चीनलाई दह्रो रक्षाकवचको बिगुल फुकेर सुनाउनु देखाउनु थियो भनिरहनु परेन।
चुच्चे नक्शाले हामीलाई कहाँ पुर्यायो, कति भस्सायो, ताछ्यो र नाङ्गो पार्यो त्यो पनि भनिरहनु परेन। र, अहिले दोश्रो लहरको महामारी झेलेर सास देऊ सास देऊ पुकारिरहेको बेला सगरमाथा कब्जाको प्रायोजित हमलालाई हामीले कसरी बुझ्ने? हाम्रा हरेक ऐतिहासिक कमीकमजोरीमा हामीले यसैगरी कैयौं चिज गुमाएका मात्र छौं।
नेपाल महामारीले सोत्तर भएको बेला चीन व्यापक आर्थिक उन्नति गरिरहेको छ र महामारीमुक्त भएर सगरमाथाको चुचुरोमा परेड खेल्न सक्षम छ भन्ने सन्देश दिन चीनले हाम्रो नाजुक समयलाई रोजेको छ। भारत लगायत पश्चिमा मुलुकहरुलाई सम्बृद्धिको बिगुल फुकेर सबैलाई सुनाउने उसको अभिप्राय हुन सक्दछ।
गुमाउने क्रम तीब्र बढ्दो छ। रोकथामको न संकेत छ न आशा गर्ने ठाउँ, सरकार त मुखमा पानी हालेर बसेको जस्तो देखिएको छ। आन्तरिक राजनीतिमा छुद्र व्यबहार देखाए देखिए पनि सगरमाथाको चुचुरोमा चिनियाँहरु धर्को कोर्न जाने घोषणा गर्दै नेपालको शीरमाथि धावा बोल्दा पनि हाम्रो सरकार प्रतिक्रियाविहीन भएको छ।
चिनियाँ सरकारले आधिकारिकरुपमै सगरमाथाको चुचुरोमा सीमा धर्को कोर्ने कुरा त्यहाँको सरकारी मिडियामार्फत सार्वजानिक गरिसकेको कुरालाई हाम्रो सरकारले नसुनेझैं, नदेखेझैं गरेर बसेको छ। यो के का लागि हो? के सरकार हाम्रो पुर्खाको शान, नेपालीहरुको विश्वको मान सगरमाथा जोगाउन सक्दैन? सक्दैन भने जनतासंग त्यो जोगाउन सहयोगको आह्वान किन गर्न सक्दैन? केले छेकेको छ सरकारलाई?
सगरमाथा सीमाकंनको मिसन
१५ सदस्यीय टोलीले सीमाङ्कन गर्ने कुरा चीनकै सरकारी सञ्चारमाध्यममा आएको छ यदि यो सत्य हो भने त्यो हाम्रो थाप्लोको कपाल लुछेको पीडा हो। सगरमाथा कब्जाको नियत पुरानै खुल्ला किताबको खुला एजेण्डा हो।
नेपाल महामारीले सोत्तर भएको बेला चीन व्यापक आर्थिक उन्नति गरिरहेको छ र महामारीमुक्त भएर सगरमाथाको चुचुरोमा परेड खेल्न सक्षम छ भन्ने सन्देश दिन चीनले हाम्रो नाजुक समयलाई रोजेको छ। भारत लगायत पश्चिमा मुलुकहरुलाई सम्बृद्धिको बिगुल फुकेर सबैलाई सुनाउने उसको अभिप्राय हुन सक्दछ।
दुई तिहाइको सरकार सुचारु हुँदा पनि चीनले नाकाहरु सहज गर्ने हार्दिकता देखाएन। सैन्य तालिम र सैन्य सहयोगको ढोका बन्द भएको पनि लामो समय भइसक्यो। छिमेकीलाई रिझाउने खुबी पनि हामीले गुमायौं। छिमेकीलाई प्रयोग गर्ने खुबी कल्पना बाहिरको कुरा। अब हाम्रो सत्ताको हैसियत भनेको अरुको इशारामा चल्ने र अरुद्वारा प्रयोग मात्र हुनेमा झरिसकेको छ।
अब कति गुमाउने ?
विद्यमान राजनीतिक गतिरोधले हामीले अझ धेरै कुरा गुमाउने संकेत गर्दछ। अब कति गुमाउने? महामारीका बीचमा हजारौ मिटिङ भए। लाखौं कानेखुशी। करोडौं तिगडम्बाजी। तर सबै सत्ताको फेरबदलका लागि।
कुर्सीका लागि यो हदसम्मको निकृष्ट खुट्टा तानातान र घटिया आन्तरिक झगडा सायद मातृभूमिमा भएको थिएन होला। अब जनता जनार्दनले आफूलाई हेर्ने कि मातृभूमिलाई थेग्ने कि सरकारलाई रामराम भनेर बोक्ने? त्यही धर्मसंकट छ, नेपाली सेना र सुरक्षा निकायहरुलाई।
कुर्सीका लागि यो हदसम्मको निकृष्ट खुट्टा तानातान र घटिया आन्तरिक झगडा सायद मातृभूमिमा भएको थिएन होला। अब जनता जनार्दनले आफूलाई हेर्ने कि मातृभूमिलाई थेग्ने कि सरकारलाई रामराम भनेर बोक्ने? त्यही धर्मसंकट छ, नेपाली सेना र सुरक्षा निकायहरुलाई।
हामीले स्वास्थ्य सुरक्षाको धरातल भत्काउँदा राष्ट्रिय सुरक्षाको छानो भत्किने पूर्वानुमान गर्न सकेनौं। सगरमाथाको चुचुरोमा सीमा रेखा कोर्न चिनियाँ पर्वतारोही दलको तयारीको समाचारले दिन खोजेको सन्देश अमिलो, तितो र पिरो झापट हो भन्ने पंक्तिकारको बुझाइ हो।
किन हामीले आफ्नो जनधन जमिनको सुरक्षा गर्न सकेनौं र अझै तीब्र गतिमा धेरै गुमाउँदै गएका छौं र गुमेको कुरामा मौनता साँधरे बसेका छौं। सरकारले तत्काल चीनसँग यसबारे कुरा गर्न हिच्किचाउनु हुन्न मात्र होइन कडा प्रतिबादको जरुरी छ कुटनीतिकरुपमा। सगरमाथा नेपालको हो र त्यसको चुचुरोमा सीमाना कोर्ने अधिकार चीनलाई किमार्थ छैन।
मौका आउँछ पर्खिँदैन
हामीले गुमाएका अवसरहरुको फेहरिस्त लामो छ। महामारीको रुप आकार भविष्य अन्यौल र अनिश्चित छ। महामारीलाई हिजो जस्तो मलजल गरेर थप अपराधका बितण्डाहरु मच्चाउन बन्द गरौं। महामारी जित्न पुनः राष्ट्रिय एकताको आह्वान गरौं।
आफू मरेर अरुलाई बचाउने प्रण गरौं। सर्वाधिक राष्ट्रिय खतरा स्वास्थ्य सुरक्षाको भ्वाङ्ग सबै मिलेर टालौं। थप क्षति हुन नदिऊँ। भुटानले रोकथाम गर्ने उस्तै हिमाली सुन्दर मुलुक नेपालले गर्न नसक्ने भन्ने कुरै हुँदैन।
स्वास्थ्य सुरक्षाको प्रत्याभूत गरिसकेपछि फुटेर होइन जुटेर, जुधेरे होइन मिलेर राष्ट्रिय सुरक्षाको खातिर एक ढिक्का भएर लागि परौं। सरकारलाई चुनौती होइन अवसरको हिमचुली छ। नेतृत्वलाई नैतिक साहस जुटाएर त्याग गर्ने र मातृभूमि र जनतालाई गुन लगाउने अपूर्व अवसर प्राप्त छ।
महामारी पीडादायी छ तर यस्तो बेला जनता र मुलुक दुबै बचाउने योग्यता राख्ने शासक नै भविष्यमा अमर बन्ने हो। अहिले लुट गरौं अमरता चाहिएको छैन भन्नेहरुलाई जनताले गलहत्याउनु बाहेक अरु विकल्प छैन।
(लेखक उद्धारकर्मी र संरक्षणकर्मी हुन्)
Facebook Comment