१४ करोडको स्वास्थ्य सामाग्री लिएर आइपुग्यो स्पेनी चार्टर जहाज
काठमाडौं । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री आज(बिहीबार) नेपाल आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहितको टोलीले १४ करोड बराबरको अति आवश्यक स्वास्थ्य सामाग्री स्पेनको चार्टर जहाजबाट काठमाडौं ल्याइपुर्याएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानलस्थल पुगेर ती सामान बुझेका छन् । राजदूत शेर्पाको पहलमा ती सामग्री नेपाल ल्याइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार स्पेनी सहायता निकायले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सनट्रेटर, एन्टिजिन टेस्ट किट, पीपीई लगायत छन् ।
Spanish aid agency @AECID_es handed over ventillators, oxygen concentrators, antigen test kits, PPEs etc. to Hon. Health Minister at TIA.
Timely support from #Spain will be valuable in our fight against #COVID19. We thank the Gov and people of Spain for the solidarity. pic.twitter.com/s4iZKPFhAt— MOFA of Nepal ?? (@MofaNepal) May 20, 2021
यसअघि बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनी समकक्षी अरन्जा गोन्जालेजबीच टेलिफोन संवाद भएको थियो । ज्ञवालीले स्वास्थ्य सामाग्री सहायताबारे स्पेनलाई धन्यवाद दिएका थिए ।
यतिबेला नेपाल कोभिड १९ को नयाँ भेरियन्टको संक्रमणबाट आक्रान्त छ । कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि अक्सिजनलगायतका स्वास्थ्य सामाग्री अभाव हुँदा नेपालीले अकालमै ज्यान गुमाउनु परेको छ । कोरोनाका कारण बुधबार मात्र २ सय ४६ जनाको मृत्यु भएको थियो ।
अस्पतालहरुमा बिरामीको लागि प्रयाप्त बेड, अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभावका कारण स्थिती थप भयावह हुँदै गएको छ । जसलाई मध्यनजर गर्दै गैरआवासीय स्पेनबासी नेपालीहरु आर्थिक संकलनमा जुटेका थिए ।
एनआरएनए स्पेनको पहलमा सम्पूर्ण क्षेत्रीय समितिहरू, सामाजिक, जातीय तथा राजनीतिक संघसंस्थाको सहकार्यमा पहिलो चरणमा अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल ल्याउन सफल भएको हो । एनआरएनए स्पेनले त्यहाँका विभिन्न भूभागबाट सहयोग संकलन गरी स्वास्थ्य सामाग्री नेपाली दूतावासमार्फत स्पेन सरकारको चार्टर फ्लाइटमा नेपाल पठाएको हो ।
एनआरएनए स्पेनका अनुसार पहिलो सहयोग अन्तर्गत पहिलो चरणमा १७ हजार ६ सय सर्जिकल माक्स, सेनिटाइजर, पन्जा तथा चिकित्सकको लागि फेस शिडलगायतका स्वस्थ्य सामाग्री पठाइएको हो । ती सामाग्री संघका उपाध्यक्ष उत्तर कुमार राईको नेतृत्वमा एनआरएनए स्पेन क्षेत्रीय समिति मड्रिडका अध्यक्ष सुजिल गोले, सचिव मेघनाथ ढकाल, एनआरएनए पूर्व युरोप उपसंयोजक तथा एनआरएनए स्पेनका पूर्व अध्यक्ष एकराज गिरीलगायतको टिम एअरपोर्टमा पुगेर राजदूत शेर्पालाई हस्तान्तरण गरेको थियो ।
एनआरएनए स्पेनका प्रवक्ता सुन्दर रानाभाटका अनुसार संकलित सहयोग सामाग्री एनआरएनए स्पेन, क्षेत्रीय समितिहरू भएका क्षेत्रहरू क्रमशः म्याड्रिड, कोस्टाब्लान्का, पाईसभास्को, ग्रान कानारिया, बार्सिलोना लगायतका स्थानबाट संकलन गरिएको थियो ।
एनआरएनए स्पेनका अनुसार स्पेनिस सरकारसँग सहयोगको अपिल गरी लगभग १० लाख यूरो बराबरको स्वास्थ्य सामग्रीसहित स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानको टिमसहित राजदूत दावाफुटी शेर्पा आइवेरिया एयरलाइन्सको चार्टर फ्लाईटमार्फत सहयोग हस्तान्तरणको लागि नेपाल आएकी हुन् ।
दूतावास स्रोतका अनुसार स्पेन सरकारको सहयोग अन्तर्गत १५ रेस्पिराटोर, १० अक्सिजन कन्सन्ट्रेटर र त्यसका लागि आवश्यक पाटपुर्जा, १ लाख २५ हजार एन्टिजेन टेस्ट किट, १ लाख ४४ हजार मास्कलगायत रहेको छ।
स्वास्थ्य सामाग्री जुटाउनमा एनआरएनए स्पेनका उपाध्यक्ष उत्तर कुमार राई, पूर्व युरोप संयोजक एकराज गिरी, क्षेत्रीय समिति मड्रिडका अध्यक्ष र सचिव क्रमश सुजील गोले, मेघनाथ ढकाल, क्षेत्रीय समिति कोस्टाब्लान्का अध्यक्ष र सचिव क्रमशः सुरेन्द्र भुजेल थापा तथा कमल पराजुलीको पहल रहेको छ ।
त्यस्तै, क्षेत्रीय समिति पाईसभास्कोका अध्यक्ष कमला बराल, क्षेत्रीय समिति ग्रान कानारिया अध्यक्ष पावनलाल राजभण्डारीलगायत सम्पूर्ण स्पेनबासी संघसंस्थाका पदाधिकारी तथा सदस्यहरु, सामाजिक व्यक्तित्वहरुका र सम्पूर्ण स्पेनबासी नेपालीहरुको सहयोग रहेको एनआरएनए स्पेनले जनाएको छ ।
Facebook Comment