स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधी घरघरमा

डिसी नेपाल
७ जेठ २०७८ ७:४१

तनहुँ । जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो।

घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए। गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ सङ्क्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उनले बताए। रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहित गएको हो।

रामकोट क्षेत्रमा घरहरू जोडेर बनाइएको छ। यहाँ १०० बढी मगर समुदायको बाक्लो बस्ती छ । सङ्क्रमित भई होम आइसोलेशनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। सङ्क्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उनले जानकारी दिए। घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन्।

सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जिल्लाका सञ्चारकर्मीलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। श्रेष्ठले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। श्रेष्ठले २०० एन्–९५ मास्कसहित सामग्री प्रदान गरेकाे शाखाका अध्यक्ष पौडेलले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *