प्रधानमन्त्रीमा ओलीलाई फेरि नियुक्त गर्न राष्ट्रपतिसमक्ष हिजै हस्ताक्षर बुझाइयो

डिसी नेपाल
७ जेठ २०७८ ११:४४

काठमाडौं । बिहीबार राति जनता सामाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित राष्टपति निवास शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै दलका सांसदहरुको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा आफ्नो दावी पेश गरेका छन्।

स्रोतका अनुसार, ओलीलाई जसपाको तर्फबाट २० जना सांसदको हस्ताक्षर बुझाइएको छ भने ओलीले एमालेका सबै १२१ जनाकै हस्ताक्षर राष्टपतिलाई बुझाइएको छ। राष्ट्रपतिले सांसदहरुको हस्ताक्षर प्रमाणित गरिरहनुपर्ने नभएकाले कुनै अप्रत्यासित घटनाक्रम विकसित नभएमा हिजै बुझाइएका हस्ताक्षरका आधारमा ओली प्रधानमन्त्रीमा आज साँझ ५ बजेपछि नियुक्त हुनेछन्।

र, संसद विघटनको निर्णय पनि ओलीले सकेसम्म तत्काल गर्ने बताइएको छ। यसपल्टको ओली सरकारमा ठाकुरपक्ष सहभागी हुने छ।

म रिसोर्ट जान्न : ठाकुर
आफू पक्षीय सांसदहरुलाई अहिले सिंहदरबारमा ठाकुरले जम्मा पारेका छन्। उनलाई फेरि पनि सुरक्षित स्थानमा सांसदहरुको भेला गर्न राजेन्द्र महतोले सुझाव दिएको भए पनि ठाकुरले नमानेको बताइएको छ। यसअघि पनि सांसदहरुसँग बैठक भन्दै महतोले ठाकुरलाई रिसोर्ट लिएर गएका थिए र यो विषय विवादमा परेको थियो।

जसपाको विभाजन औपचारिक घोषणामात्र बाँकी

बीसजना सांसदहरुको हस्ताक्षर ओलीलाई बुझाइसकेका ठाकुरले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि आफूसँगै ओलीको सरकारको समर्थनमा आउन आग्रह गरेका छन्। सांसदहरुको हस्ताक्षर बुझाएको सुइको पाएका यादवले आज विहानै यसबारे ठाकुरसँग चासो राखेपछि ठाकुरले सो आग्रह गरेको बताइएको छ।

‘ठाकुरले प्रस्ताव गरे भन्दैमा ओलीको सरकारलाई समर्थन गर्ने प्रश्नै आउँदैन’,  यादव निकट एक नेताले डिसी नेपालसँग भने, ‘पार्टी फोडेर ठाकुरले मधेशी जनतामाथि घात गरेका छन्।’ यादव ओली सरकारमा जाने सम्भावना कम भएकाले सरकारमा जाने र नजाने दुई खेमामा जसपाको विभाजन हुने भएको छ।

सांसदहरु पनि विभाजित भइसकेको अवस्थामा पार्टीको औपचारिक फुटको घोषणामात्र हुन बांकी रहेको बताइएको छ। ठाकुर समूह सरकारमा सामेल भएपछि फुटको औपचारिक घोषणा हुनेछ।

प्रधानमन्त्री बन्ने प्रस्ताव ठाकुरले मानेन्

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूलाई प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने कांग्रेस नेताहरुलाई सबैभन्दा पहिला पार्टी सभापति शेरबहादुर देउवाको समर्थन ल्याउन सुझाव दिएका छन्।

बुधबार र विहीबार पनि प्रधानमन्त्रीसँग निकै लामो वार्तालापमा देखिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई नेपाली कांग्रेसको एकपक्षले प्रधानमन्त्री पदका लागि तयार रहन प्रस्ताव गरेको थियो।

जसपानिकट स्रोतका अनुसार, ओलीको विकल्प खोज्दा सर्बसम्मति महन्थको नाममा हुनसक्ने भन्दै नेपाली कांग्रेसको रामचन्द्र पौडेलसमूहका केही नेताहरुले महन्थलाई प्रधानमन्त्री पदका लागि प्रस्ताव गरेका थिए।

तर, नेपाली कांग्रेसमा देउवाले निर्णय नगरेसम्म अरुको केही नलाग्ने भएकाले त्यस्तो प्रस्तावले आफूलाई प्रभावित पार्न नसक्ने जवाफ दिएका हुन्। उनले यदि कांग्रेस साँच्चिनै प्रधानमन्त्री पदमा प्रस्ताव गर्न चाहान्छ भने सभापति देउवाले निर्णय गरेर प्रस्ताव गर्नुपर्ने जवाफ दिएका थिए।

तर, देउवाले सकेसम्म चाडो चुनावमा गए कांग्रेसलाई फाइदा हुने, कम्युनिष्ट फुटेका बेला चुनावबाहेक अरुमा अल्मलिनु नहुने धारणा राख्दै आएकोले संसदको पूर्ण अवधि भन्दा अर्ली इलेक्सनमा जानु उचित भएको निकटस्थ नेताहरुलाई बताउँदै आएका छन्।

त्यसैले महन्थ नेतृत्वको सरकार बनाएर पूरै अवधि संसद चलाउनुभन्दा ओलीबाटै संसद विघटन गराएर चुनावमा जानुपर्ने पक्षमा देउवा देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *