नियात्रा : बाल्टिमोरको त्यो बृद्धाश्रम

डिसी नेपाल
८ जेठ २०७८ ८:३०

त्यो बखत अमेरिकाको सान मार्कोसमा बसिरहेको थिएँ। त्यही बेला एउटा शुन्य रातमा आफैँले दिग्दारी भावले सोचेथेँ–यो कोरोनाले संसारलाई थेप्च्याइसक्यो। गिजोलिसक्यो। गाँजिसक्यो। मर्ने दिन र रात एउटै त हुन् अकाल वा सकाल मर्नेका लागि।

यद्यपि मृत्यु सकाल हुने कुरा त होइन। मर्नेको त खिसा खतम हुने हो। मर्नु भनेको यथार्थ हो, सत्य हो। जन्मेपछि मर्नु पर्छ भन्ने कुरा पक्का हो। तर मृत्युका बहानाहरू अस्वाभाविक, असान्दर्भिक र अकल्पनीय भइदिँदा बाँच्ने मान्छे भने जब्बर पीडामा हुन्छ।

ऊ रुन्छ, चिच्याउँछ र विह्वल बन्छ। यो कोरोनाले यस्तै जब्बर पीडा दिइरहेछ मेरो विश्वलाई, मेरो देशलाई। मेरो परिवेशीय चिन्तनलाई। किन यस्तो हुँदै गयो यो संसार?

यही तर्कनामा थिएँ म त्यो रात। सम्झिँदै थिएँ कि कोरोनाका कारणले ठ्याक्कै एक वर्ष चार महिना भएछ कोठामा थुनिएको। याने आफैँ थुनिएको। सरकारले थुनिनु पर्छ भनेर सल्लाह त दिएको थियो, तर उर्दी थिएन। मान्छेलाई उर्दी लाउनु स्वतन्त्रताको खिलाफ मानिदो रहेछ अमेरिकामा। सचेतना तथा सूचना दिने काम भने सरकारले गर्दोरहेछ।

अघिल्लो वर्ष नै आफ्नो मातृभूमि नेपाल जान नपाएको विषय खिलझैँ गडेको थियो मनमा। दिलमा, दिमागमा। नेपालमा पनि कोरोना विदो भएका खवरहरू थिए त्यो बेला। तर नेपालमा कोरोना कहरकै बीचमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक जात्राका भिडहरू उत्ताउला भएका थिए।

ती भिडहरू कोरोना जितेको भन्दै गोर्खाली बुद्धि झिक्दै थिए। यो परिवेश दुःखद थियो मेरा लागि। दुःखद यस कारण थियो कि कोरोना र विज्ञान सङ्घर्षमै थिए। विज्ञानले कोरोनालाई नजिती निमिट्यान्न नपारी यी विविध खाले जात्रा गर्नु थप कहर निम्त्याउनु थियो। त्यस्ता जात्रा त बाँचियो भने फेरिफेरि पनि गर्न सकिन्थ्यो।

तर नेपालीले सोचेजस्तो परिवेश रहेन। कोरोनाको भारतीय भेरियन्ट आयो र नेपालीलाई सोत्तर पार्न थाल्यो। आफ्ना साथीभाइ, इस्टमित्र तथा चिनारु अचिनारु सबैलाई भटाभट लडाउन थाल्यो। खोस्न थाल्यो। यस्तो कहर वातावरणमा मेरो नेपाल जाने हवाइजहाजको टिकटले केही काम गरेन। मैले जान पाइनँ।

तर कोठामा थुनिँदाथुनिँदा ममा एक प्रकारको अटेसमटेस भएको थियो। नेपाल जाने सम्भावना थिएन। नेपाल जान नपाएको तृष्णा व्यापक भएको थियो। कतै घुमू भन्ने विचार नआएको होइन। कुम्लोकुटुरो बोकेर हिँडिहालूँ भएको थियो। तर जाने कहाँ? संसार कोरोनाले गाँजेको छ।

मान्छे त्रसित छन्। यस्तो महामारीका बेलामा घुम्न जान नपाएको पीडा पनि के पीडा हो र? बग्रेल्ती मान्छे सोत्तर भएका अवस्थामा के खुसी मन लिएर घुम्नु? रामरउसका फोटा के खिच्नु? मनमा त्यसैत्यसै उराठ लागेर आएको थियो । यही रनभुल्लमा थिएँ म।

यसै बीचमा बाल्टीमोरस्थित मेरो साइँलो भाइ चन्द्रका छोराहरूको ब्रतमन्नको सूचना ३ महिना पहिले नै आएको थियो। चरम महामारी काल। कोरोनाकाल। म जाऊँ कि नजाऊँ भएको थिएँ । यद्यपि अमेरिकामा कोरोना बिदो भएको थियो। सरकारका तर्फबाट कुनै रोकटोक थिएन।

तर मैले कोरोनाको भ्याक्सिन लगाएको थिइनँ। पालो पर्खेर बसेको थिएँ। कहिले पो आउने हो पालो? अनि कसरी पो जानू र? दिमागमा एक दम चिन्ता बढेको थियो। एक हप्ता सोच्दासोच्दा गरेपछि म निष्कर्षमा पुगेको थिएँ कि ब्रतमन्नमा नजाने। किनभने ब्रतमन्नका कारणले कोरोना बोक्नु थिएन। ब्रतमन्नको भीडभाडमा कोरोना रमाउने पक्कापक्की थियो। हुलमुलमा जिउ जोगाउनु नै थियो।

अर्कोतिर नेपालमा दोस्रो लहर कोरोना आएर नेपाली आक्रान्त थिए। नेपालमा भकाभकी मान्छे मरिरहेका थिए। साथीभाइ, इस्टमित्र तथा हितैसीको मृत्युका खवरहरू आइरहेका थिए। नेपालको कुनै पनि चिनेका परिबारहरू कोरोनाग्रस्त नभएका थिएनन्। मेरा आत्माले यस्तोमा रामरउस गर्न उपयुक्त ठानिरहेको थिएन।

तर संयोग यो बीचमा कोरोना खोपका दुबै डोज लगाउन अनुकूल भयो। बिनाभेदभाव कोरोनाको भ्याक्सिन लगाउन पाएँ। र यो बेला मनमनै भनेँ – धन्य अमेरिकी सरकार।

र बहाना पनि जुरेको थियो ब्रतमन्नको। ब्रतमन्नका लागि नेपालबाट बुबा आउनसक्ने परिस्थिति थिएन। त्यसैले परिवारकै जेठो सदस्यका रूपमा मैले सो ब्रतमन्नमा भाग लिनु पारिबारिक दायित्व थियो। कर्तव्य थियो।

यही कारणले सन २०२१ अप्रिल २४ तारिकका दिन म मेरी श्रीमती सुशीलासहित टेक्ससको सान एन्टोनियो एयरपोर्टबाट साउथवेस्टको हवाइ जहाज चढेर बाल्टिमोर पुग्यौँ।

बाल्टिमोर पुग्दा दिनको २ बजेको थियो। त्यो सहर एकदम जङ्गलभित्र बनेजस्तो थियो। हरियोपरियो थियो। बाटाघाटा सुन्दर र फराकिला थिए। बाटाका छेउछाउमा रहेका वनजङ्गलले अमेरिकीहरूको पर्यावरण चेतको उदाहरण दिन्थ्यो। समुद्रमुनिबाट टनेल बनाएर हाइवे कुदाइएको देखेर म छक्क परेको थिएँ। धन्य छ अमेरिकीहरूको पौरख। विकास योजनाको चेत।

ब्रतमन्नको दिन २९ अप्रिल थियो। यसका लागि माइलो भाइ सुरेश पनि परिवारसहित अघिल्लो दिन अमेरिकाको डालसबाट आएको अवस्था थियो। ऊसँग बाल्टिमोरको डाउनटाउनका बीचमा रहेको इनर हार्वर घुम्न गएको सम्झना आइरहेको छ। इनर हार्वरको डिलमा पुग्दा यस्तरी हाबा चलेथ्यो कि तुरुन्त फर्केर आउनु परेथ्यो। यो हावाले गर्दा मेरो हार्वर हेर्ने धित भने मरेन।

अँ त म बाल्टिमोरका नेपालीहरूको कुरा गर्दै थिएँ। अमेरिकाको पुरानो सहरमा नै गनिने यो बाल्टिमोर सहर नेपालीहरूको अत्यधिक बसोबास भएको क्षेत्र मानिँदो रहेछ। मिनी नेपाल नै रहेछ। नभन्दै लाग्दथ्यो हरेक अर्को घर नेपालीहरूको हो।

त्यहाँ भएका नेपालीहरूलाई एक अर्काले सबैलाई चिन्ने सम्भावना नै रहेन छ। पायक पर्ने केही जिल्लाका नेपालीहरू तथा चिनारुहरूले आफ्नो समूह बनाएका रहेछन्। त्यही घेरा छिचल्नु पनि निकै गाह्रो रहेछ। तर नेपालीहरू निकै सहयोगी र संस्कारी रहेछन्।

नेपालमा हराइसकेको सहयोग र संस्कार यहाँ भने जिउँदो थियो। उदाहरणका लागि मैले प्रत्यक्ष रूपमा नचिनेका र सञ्जालमा पनि भर्खरभर्खर चिनिएका डिसी नेपालका प्रधानसम्पादक सीएम भट्टराईले म आएको थाहा पाउनेबित्तिकै घरैमा बोलाएर बिहानको खानासहित सत्कार गर्नुभयो । यो सत्कारको अन्तर्य निकै हृदयआह्लादितजन्य थियो।

यसै गरी प्रशिद्ध कलाकार रतन सुबेदीको परिबार तथा छोरी रश्मिताले घरमै बेलुकाको खानखान बोलाउनु भयो । धेरै दिनपछि त्यो रातमा मजाले दिल खोलेर हाँस्न पाइयो । यो क्षण अभूतपूर्व रह्यो । यति मात्र कहाँ हो र ? भाइ चन्द्रको साली/साडुभाइ र भाइबुहारीको मितिनीले पनि खान बोलाउनु भयो। अचाक्ली रमाइलो भयो । मेराप्रति गरिएको यो सौहार्दताले म पुलकित भइरहेँ।

ती त भए मेरा निजी अनुभूतिहरू । तर अचम्म त के भयो भने त्यो ब्रतमन्नमा नेपालीहरूले गरेको सहयोग निकै उम्दा थियो । नेपाली सौहार्दताको सुरम्य यहाँ देख्न पाइन्थ्यो । नेपालीको पुरानो सभ्यता, संस्कृति र सहयोगी भावना त्यहाँ प्रस्ट देखिन्थ्यो ।

फूलबारीमा चटक्क मिलाएर राखिएका ढुङ्गाका इँटाहरूले सुरम्यता थप्दै थिए । छेवैमा भलिबल तथा बास्केटबलका कोर्टहरू थिए । त्यसको नजिकै केटाकेटी खेल्ने पिङ, चिप्लेँटी आदि राखिएको हरियो दुबोले शोभित चौर थियो । चिसो र अग्र्यानिक हावा सरर्र बहिरहेथे । पार्किङ लटमा एक/दुई गाडी पनि थिए । तर एक दम सुनसान थियो । लाग्दथ्यो यो ठाउँ पृथ्वीको स्वर्ग हो।

यद्दपि म नेपालमा छँदा पनि पार्टी प्यालेस संस्कृतिले व्याप्त पारेको÷देखेको थिएँ । न्वारानदेखि लिएर बिबाह ब्रतमन्नसम्म पार्टी प्यालेसमा नै गर्ने गरेको नयाँ सभ्यताकाबारेमा म ज्ञात थिएँ । मेरो चेत यहाँ आइपुगेर अचम्म भयो । नेपालीहरू आफैँ मिलेर त्यत्रो ब्रतमन्नको भोज उतारे ।

दिनभरि शारीरिक काम गरे । जग्गे बनाउनेदेखि लिएर भातभान्सासम्म, पकवान्न बनाउनदेखि लिएर सुग्घरसफासम्म सबै काम आफैँ गरे । नेपालमा हराइसकेको संस्कृति यहाँ विद्यमान देख्दा निकै अचम्म लाग्यो मलाई । यसले नेपाली परम्परामाथि एक पल्ट गौरव गरेँ ।

पण्डित रामप्रसाद घिमिरे संस्कृत विश्वविधालय दाङका उत्पादन रहेछन् । अङ्ग्रेजीका पनि ज्ञाता रहेछन् । कर्मकाण्ड गरिँदा प्रयोग हुने कुनैकुनै सूक्ति वा मन्त्रलाई अङ्ग्रेजीमा उल्था गरी बटुकलाई बताइरहेका थिए । किनभने बटुकले सबै नेपाली बुझ्न सक्दैनथे । यसरी भए पनि हिन्दुधर्मसंस्कृतिको जगेर्ना भइरहेको थियो ।

त्यहाँ आएका नेपालीहरू मध्ये कतिले मास्क लगाएका थिए । तर धेरै बिनामास्क थिए । मैले यसका बारेमा सोधेको थिएँ – किन मास्क नलगाएको ?

जबाफ आएको थियो – यो बाल्टिमोरमा एक पल्ट कोरोना नलागेको कुनै मान्छे छैन सायद । फेरि कोरोनाको खोप पनि करिबकरिब सबैले लाइसकेको अवस्था छ । त्यो खोपको क्षमता तेस्रो र चौथो भेरियन्ट आए पनि थेग्ने खालको छ भनिएको छ । सरकारका तर्फबाट पनि यो मास्कलाई बाध्यकारी बनाइएको छैन ।

यति नै बेला मेरो देशमा नेपालीहरू भटभट कोरोनाको सिकार भइरहेका थिए । साथीभाइ, इस्टमित्र तथा चिनारु÷अचिनारु लपेटमा आउँदै यो धर्ती छोड्दै थिए ।

ब्रतमन्नको एउटा बटुक भाइ चन्द्रको छोरो आशिषको त्यो बेला फाइनल परीक्षा चलिरहेको थियो । मैले एक दिन उसलाई सोधेको थिएँ – ए बाबु, तँ कोठामा त्यसरी नखाई थुनिएर पढ्छस् कि सिनेमा हेर्छस् ?

उसले हाँस्तै जबाफ दिएको थियो – १८ घण्टा नपढी कहाँ हुन्छ र ठूलोबाबा अमेरिकामा । पास भएर मात्र हुँदैन । प्रतिस्पर्धामा आउनसक्नु पर्छ नि । यहाँ त सोर्सफोर्सले काम दिँदैन ।

मैले तत्क्षण आफूले पढ्दाताका तथा पढाउँदा ताकाका विद्यार्थीलाई सम्झेँ । कठै नेपाली विद्यार्थी ।

बटुक आशिषले आफ्नो प्रोफेसरसँग आफ्नै उपनयन छ भनेर त्यो दिन बिदा मागेको थियो । प्रोफेसरले उपनयन जान्ने कुरा थिएन । त्यस कारण उपनयन के हो भन्ने बारेमा युकिपेडियाको लिङ्क डाउनलोड गरेर पठाउनु परेको थियो उसले ।

अनि प्रोफेसरले सोही दिन दिउँसोको १२ बजे लिइने परीक्षालाई उसका लागि भनेर त्यसको ड्युडेट रातिको बाह्र बजेसम्म दिएका थिए । ब्रतमन्न सकिनेबित्तिकै तथा पाहुनापासा दर्घदिशा लागेपछि आशिष कोठामा गएर परीक्षाको तयारी गर्दै थियो । परीक्षा दिँदै थियो । धन्य छ पढाइको महत्व ।

त्यहाँ जीवनको अर्को पाटो पनि थियो । छोरा आशिषले आइतबार पारेर आफ्ना साथीभाइ बोलाएर ब्रतमन्नको पार्टी दिएको थियो घरको ब्याक यार्डमा । ओभनमा कुखुराको मासु पोलिँदै थियो । वाइन र ककटेलका ग्लासहरू नाचिरहेका थिए ।

सङ्गित बजिरहेथ्यो । गीत घन्की रहेथ्यो । टिनेजरका केटाकेटी आफ्नो जीवनको अलमस्तताको पूरापूर उपभोग गर्दै थिए । त्यहाँ कुनै कठमूल्ला समाज थिएन । त्यसैले कुनै बन्धेज थिएन । कुनै रोकटोक थिएन । आफ्नो स्वतन्त्र जीवन आफैँ बुझ्दै थिए । उपयोग गर्दै थिए ।

ब्रतमन्नमा आएका नेपाली पाहुनाहरूको आफ्आफ्नै कथा थिए । व्यथा थिए । कुनै कथाले रोमाञ्चक बनाए भने कुनै कथाले द्रवीभूत। नेपालमा हातमुख जोर्न गाह्रो भएर भाग्यले डिभी परेर अमेरिका छिरेका नेपालीहरू हँसिला थिए। पोटिला थिए। डायस्पोरिक पीडा बोकेकै थिए।

मलाई नेपाल तथा नेपालीको नियतिजन्य व्यथा देखेर/सुनेर नेपालजस्तो सुन्दर देश बाँदरको हातमा नरिवल भनेझैँ लागेको थियो ।
ब्रतमन्नमा सेल पकाई सहयोग गर्न आउनुभएथ्यो एक जना थपिनी दिदी । उमेरले सायद मैजस्तो सात दशकको छेउछाउको फेरो लाउँदै हुनुहुन्थ्यो । कुराकानीका क्रममा उहाँले भन्नुभएथ्यो –

-बाबु, पाल्पा घर हो मेरो । हामी सूर्यबहादुर थापासँग जोडिएका खलक हौँ । गाउँमा हाम्रो खेतीपाती धेरै थियो । ४ थान हलगोरु र हली त घरमै थिए । त्यसपछि अ‍ैँचोपैँचो अनेकौँ हलीको व्यवस्था हुन्थ्यो । नोकरचाकार घरभरि थिए । घरमा काम भ्याइनभ्याइ हुन्थ्यो । काठमाडौँमा पनि घर छन् । बुढाको अर्को जहान पनि भएकाले धेरै सन्तान थिए ।

छोराछोरीहरू यत्रतत्र लागे । मेरो छोरा यता (अमेरिका) आएपछि मैले पनि आउनु पर्यो । परिस्थिति नै त्यस्तो भएपछि के गर्ने बाबु ? अहिले पनि पाल्पाको कुनै सम्पत्ति बेचेको छैन । तर पहिले जुन खेतबारीले हामीलाई खानलाउन मात्र होइन, धनी भनेर चिनाउथ्यो, चार गाउँमा ठूला कहलिन्थ्यौँ, त्यो खेतबारीमा अहिले भालु बस्छन् । बाँझो मात्र होइन, झाडी पलाएर गइनसक्नु पुगिनसक्नु जङ्गल भएको छ । त्यति राम्रो खेतबारी बन्जड भएको देख्दा मन रुन्छ नि बाबु, तर के गर्नु अब आफूले सकिएन । सन्तानले सुमरेनन् ।

उनका कुरा सुनेर म एक छिन स्तब्ध भएँ । भावुक भएँ । यो वर्तमान नेपालको प्रतिनिधि घटना मात्र हो । नेपाल बाँझिएको छ । नेपाल मनमा बाँझिएको छ । विचारमा बाँझिएको छ । व्यवहारमा बाँझिएको छ । नेपालसँग यो समस्या समाधान गर्नेतर्फ कुनै योजना छैन ।

यो यात्राका क्रममा मैले आफूलाई चिन्तित गराउने विषय पनि पाएँ । सामान्यतया अमेरिकामा खानेकुरा फाल्ने प्रचलन छैन । फ्रिजमा राखेर महिनौँ बासी खाने प्रचलनले गर्दा सामान्यतया खानेकुरा फालिँदैन । तर नेपालबाट गएर त्यहाँ एक मानो खान पुग्ने हैसियत बनाएका नेपालीहरूको पारा हेर्दा भने म निकै दुःखी भएँ ।

नेपाली परिवारहरू खानेकुरा असाध्य धेरै पकाउने, २/४ दिनसम्म फ्रिजमा राख्ने अनि डस्टविनमा फालिदिने गरेको देखेर मेरो मन असाध्य रोयो । भनूँ कसलाई भनूँ ? तत्क्षण मेरा दिमागमा नेपालमा खान नपाएका तथा अनेकौँ प्राकृतिक प्रकोपमा एक छाक खान सरकारको राहत पर्खेर बसेका सयौँ नेपालीको तस्बिर सामुन्नेमा आयो ।

आफ्ना बालापनमा सुकुम्बासीहरूले मेरै घरमा आएर ‘एक माना खुदी दिनु न जेठी मालिक्नी, छोरो बिरामी छ जाउलो पकाएर ख्वाउँछु’ भनेको कुरालाई सम्झिरहेँ । अझ दक्षिण अफ्रिकाका भोकानाङ्गा बालबालिकाको तस्बिर आँखैअगाडि नाच्न थाले ।

त्यसै गरी लुगा कपडा किन्न तथा नेपालमा जस्तै गहनामोह र गहनाप्रतिस्पर्धा ब्याप्त देखियो । सामान्यतया अमेरिकामा गहनालाई फेसनका रूपमा हेरिन्छ सम्पत्तिका रूपमा होइन । तर अमेरिकामा भएका यी नेपाली महिलाको परिवेश भने ठ्याक्कै गहनाको नेपाली मानक व्यवहार गर्दै थिए ।

अर्कोतिर आफ्ना सुरुका दिनमा कामगर्न बाध्य भएको भए तापनि एक मानो र एक सरोको व्यवस्था भएपछि केही नेपाली महिलाहरू पुरुषले पाल्नु पर्छ भन्ने नेपाली पुरानो मान्यताको प्रभावमा आएर काम नगर्ने र आफ्नी श्रीमतीलाई काम नगराई पालेकोमा गुमान गर्ने नेपाली श्रीमान पनि यथेष्ठ थिए ।

यसरी यो बेला मेरा दिमागलाई महिला र पुरुष दुबै समान समान हुन् भन्ने सिद्धान्तका आडमा यो मानसिक स्थितिलाई हेर्न मन लाग्यो । आखिर यो समानता तथा स्वतन्त्रता अवसरले मात्र ल्याउने कुरा होइन रहेछ । सोचमा, दिमागमा तथा विचारमा नै परिवर्तन नभई यो स्वतन्त्रता प्राप्त गर्ने कुरा ‘आकासको फल’ हो रहेछ ।

हामी वेस्ट भर्जिनियास्थित इस्कोनको न्यू वृन्दावन गएका बेला मेरो बाल्टिमोर यात्रालाई दुःखी भएर सम्झाउने घटना घट्यो । बाल्टिमोरमा नै एक जना छिमेकी निग्रोले बम हानेर एक जना नेपालीको घर उडाइदिएको समाचार आयो । नेपाली मारिएको खबर आयो ।

घरभित्र रहेका सबै सामान एकै लपेटामा ध्वस्त भयो । यो ज्यादै दुखःद खबर थियो । तर नेपालीको सङ्गठनले तत्काल सहयोग गरेको देख्दा भने नेपाली मानवीयता यहाँ जिउँदो रहेको पाएँ । मैले यो घटनाको कारण खोजेँ । कारण रेसिज्म रहेछ ।

बाहिरबाट आएर अमेरिकामा बसोबास गर्ने र अब्बल दर्जामा रहेको कुरालाई कन्जरवेटिभ विचारका अमेरिकनहरू आफ्नो भाग खोसिएको महसुस गर्दारहेछन् । त्यसैले बिनाकारण आप्रबासीको हत्या गर्ने तथा घर ध्वस्त पार्ने गर्दारहेछन् । यो सुनेर मेरो मन झसङ्ङ भयो ।

घर त सायद बिमा कम्पनीले बनाइदिन्छ होला । तर रेसिज्मका कारणले फाटेको मन कसरी सिउने हो ? कसरी बाँच्ने हो ? दुई नम्बर नागरिक भएको पीडा भने नेपालीले बोकेको देखिन्थ्यो । यसै बेला मैले नेपालमा भर्खर सुरुहुँदै गरेको रेसिज्म टाइपकै व्यवहारलाई सम्झेँ ।

पहाडे/मधिसे, रैथाने/आप्रबासी आदिका नाममा नेपालका बीचमा यस्तै द्वन्द्व हुने छाँट देखिएकै छ । राजनीतिले उक्साएकै छ । यदि राजनीतिको यो अभिष्ट पूरा भयो भने नेपालको लागि योभन्दा ठूलो दुर्दसा केही हुने छैन ।

अचेल डाक्टरले मर्निङ वाक गर्न लगाएकै छ । बाल्टिमोरमा बस्दा पनि मर्निङ वाक गर्नु नै पथ्र्यो । तर हाइ वेका छेउमा बनेको पेटीबाट हिँड्दा कानको जाली अहिले नै फुट्छ कि जस्तो हुन्थ्यो । त्यसैले भाइ चन्द्रकी साली रमाले एउटा सानो तर सुन्दर चिटिक्कको जङ्गलभित्र मर्निङ वाक लिएर गइन् ।

धेरै व्यस्त अपार्टमेन्ट वा कम्युनिटीका बीचमा वा सहरका बीचमा ठाउँठाँउमा केही सय बिघा जग्गामा जङ्गल हुँदोरहेछ । त्यो जङ्गलका भित्रभित्र मान्छे हिँड्ने पक्की ट्रेल हुँदा रहेछन् । त्यो जङ्गलभित्र पस्दा लाग्दथ्यो कि म नेपालको एकदम बाक्लो चारकोसे झाडीमा हिँडिरहेको छु । ज्यादै सुन्दर थियो ।

हामी रमाइरमाइ त्यो जङ्गलभित्र हिँडिरहेका थियौँ । सानो तर सुन्दर कुलेसो जस्तो खोला कलकल बगिरहेको थियो । एका ठाउँमा निकै ठूलो र राम्रो घर देखियो जङ्गलका बीचमा । निकै ठूलो पार्किङ लट थियो । घरका अघिपछि फूलहरू फुलिरहेका थिए ।

फूलबारीमा चटक्क मिलाएर राखिएका ढुङ्गाका इँटाहरूले सुरम्यता थप्दै थिए । छेवैमा भलिबल तथा बास्केटबलका कोर्टहरू थिए । त्यसको नजिकै केटाकेटी खेल्ने पिङ, चिप्लेँटी आदि राखिएको हरियो दुबोले शोभित चौर थियो । चिसो र अग्र्यानिक हावा सरर्र बहिरहेथे । पार्किङ लटमा एक/दुई गाडी पनि थिए । तर एक दम सुनसान थियो । लाग्दथ्यो यो ठाउँ पृथ्वीको स्वर्ग हो।

त्यो ठाउँको मोहकता देखेर मैले रमालाई सोधेको थिएँ – रमा कति राम्रो वातावरण भएको यो घर रहेछ । मान्छेको हो कि सरकारी हो ?
उनले भनेकी थिइन् – भिनाजु, यो बृद्धाश्रम हो । कोरोनाको पहिलो लहरमा ट्रम्प सरकारले वास्ता गरेन ।

पहिलो लहरमा नै यहाँका सबै बृद्धबृद्धाहरू सबै एकै चिहान भए । त्यसपछि यो बृद्धाश्रम अझै चालू भएको छैन । त्यसैले सुनसान देखिएको छ। नत्र त यहाँ बूढाबूढी हाँसीखुसी देखिन्थे नि।

म ट्रम्प सरकारलाई सम्झँदै स्तब्ध भएर घर फर्केँ।
बाल्टिमोर, अमेरिका

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *