प्रतिनिधिसभा विघटनपछि विप्लवले जनमतसंग्रहको माग गरे, संयुक्त सरकारमा जान तयार

डिसी नेपाल
८ जेठ २०७८ १३:१४

काठमाडौं। प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएर मध्यावधि निर्वाचनको घोषणा भएपछि नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपाले जनमतसंग्रहको माग गरेको छ । राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई दिनुपर्ने विप्लवले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

अब समाजवाद वा पुँजीवादमध्ये कुन रोज्ने भन्ने अधिकार जनमतसंग्रहमार्फत जनतालाई दिइनुपर्ने बताउँदै उनले यदि दलहरु जनमतसंग्रहका लागि तयार हुने हो भने आफ्नो पार्टी संयुक्त सरकारमा सहभागी भएर निकास दिन तयार रहेको स्पष्ट पारेका छन् । उनले जनमतसंग्रहको निकास कुनै पार्टीका लागि मात्र नभइ सबै पार्टीका लागि भएकोले यसको पक्षमा आउन सबैलाई अपिल पनि गरेका छन् ।

दुई तिहाइको सरकार असफल भएर पुनः मध्यावधि निर्वाचनमा जान बाध्य हुनु कुनै व्यक्ति, पार्टी वा सरकारको समस्या मात्रै नभएर संसदीय व्यवस्थाकै समस्या भएको उनले बताएका छन् । संसदीय व्यवस्था नेपाली जनताको आवश्यकतासँग मेल खाँदैन भन्ने आफ्नो पार्टीको धारणा अहिले आएर सही साबित भएको भन्दै उनले अहिले पनि यसलाई सरकारको मात्र असफलता बताएर संसदीय व्यवस्थाकै निर्वाचनको घोषणा गरेर समस्या समाधान हुन नसक्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *