अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र,अवस्था सामान्य

डिसी नेपाल
९ जेठ २०७८ ६:५३

काठमाडौँ। नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ। जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन्। यसैबीच सरकारले विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाएको छ।

सरकारले कोरोना लगायत विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ। विदेशमा समस्यामा परेका श्रमिकको बारेमा विभिन्न कुटनितीक नियोग मार्फत बुझने काम भइरहेको वैदेशिक रोजगार बोर्डको भनाइ छ।

श्रमिकको बारेमा गम्भिर भएर उनीहरुको समस्या सम्बोधन गर्न तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।

मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, विभागका महानिर्देशक र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्।

संयन्त्र बने संगै काम सुरु भइसकेको र समस्यामा परि अलपत्र श्रमिक के कति छन् भन्ने बुझने काम भइरहेको उनी बताउँछन्। सञ्चारको काम वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरले गर्ने निर्णय भए संगै त्यसै अनुसार कल सेन्टर मार्फत बुझने काम भइरहेको वोर्डको भनाइ छ।

वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगारीमा गएका र फर्किएकाहरुलाई सही सूचना दिनका लागि बोर्डले सहायता कक्ष सञ्चालन गर्दै आएको छ। अहिलेको अवस्थामा बुझदा विदेशमा समस्या अलपत्र परेका श्रमिक खासै नपाइएको समेत उनी बताउँछन्।

एक जना जोर्डनमा नेपाली श्रमिक बिरामी परेका कारण नेपाल ल्याउनुपर्ने अवस्था रहेको र उक्त श्रमिकको बारेमा कसरी ल्याउने भन्ने विषयमा काम भइरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन्।

दोस्रो चरणको कोरोना महामारी फैल्न थाले संगै विदेशमा रहेका श्रमिकको अवस्था बारेमा आफूहरु गम्भिर भएर लागि रहेको र समस्या परेको अवस्थामा श्रमिकलाई तत्काल कसरी नेपाल ल्याउन सकिन्छ भन्ने बिषयमा परिणाम गरि तयारी अवस्थामा रहेको वोर्डको भनाइ छ।

गाेरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *