सप्तरीमा दाइजोरहित मागी विवाह बढ्दो
राजविराज। सप्तरी, राजविराज नगरपालिक–७ का प्रेमकुमार साह हलुवाईले दहेज नलिई बैशाख १७ गते धनगढी शिस्वाकी कुमारी रोशनी साहसँग विवाह गरे। सप्तरी, हनुमाननगर कंकालनी नगरपालिकाका डा. बिकास देवले दहेज नलिई फागुन २१ गते बिराटनगर महानगरपालिका – १३ की रेशमा देवसंग विवाह गरे।
राजविराज नगरपालिका – २ का बसन्तकुमार देवले दहेज नलिई फागुन २१ सोही वडाकी ईन्जिनियर सुमी देवसँग विवाह गरे।
प्रेम– रोशनी, डा. विकास– रेशमा तथा बसन्त–ई.सुमीको मात्र होइन, हिजोआज सप्तरी जिल्लामा दहेज नलिई विवाह गर्ने जोडीको संख्या ह्वात्तै बढेको छ।
सामाजिक परम्परा अनुसार परिवारकै सहमतिमा आमाबाबुले नै खोजेको केटीसँग दाइजो नलिई मागि विवाह गर्दैछन्। दाइजो बिना बिवाह नगर्ने परिवारको छोराछोरीमा दाइजोप्रति नकारात्मक भावना आउन थालेपछि अभिभावकहरुले छोराछोरीको भावनाको कदर गर्दै दाइजो बिनाको बिवाह गराउन थालेका हुन्।
केही अभिभावकहरु स्वयं नै दहेजको विरुद्धमा लागेकाले समेत यस्तो विवाह सम्भव भएको हो। राजविराज– ७ का बेहुला प्रेमका बुवा प्रदिपकुमार साहले दाइजो हाम्रो समाजको अभिसाप भएकोले यो प्रथालाई तिरस्कृत गरेको बताए।
प्रेमकुमार साहको विवाह धनगढी शिस्वाका परमेश्वर साह हलुवाईकी छोरी कुमारी रोसनीसंग सामाजिक परम्परा अनुसार दहेजमुक्त मागि विवाह भएको हो।
डा. विकासका बुबा अरुण देव सप्तकोसी बोडिङ्गका सञ्चालक हुन्। अभिभावकको भूमिका निर्वाह गरेको संझना गर्दै उनले भने, ‘हाम्रो समाजमा अहिले पनि छोराछोरीमा भेदभाव भएकोले छोरा सरह छोरीलाई सम्मान दिनुपर्दछ भन्ने सन्देश समाजमा जाओस भनेर दहेज रहित विवाह गराएको हुँ।’
उनले थपे, ‘सकारात्मक परिवर्तनका लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने उद्देश्यले आदर्श बिबाह गरिएको हो। ’ बेहुला डा. विकासका आमा रञ्जना देवले अहिलेका युवा पुस्ताले दाइजोलाई चुनौती दिन थालेमा महिलाको पनि समाजमा सम्मान र महत्व बढ्ने बताइन्।
दाइजो नलिई विवाह गर्दा महिला माथि हुदै आएको हिंसा न्यूनीकरण हुने धारणा उनको रहेको छ । उनी थप्छिन् ‘अहिलेका पुस्ता र अभिभावक मिलेर यस्ता सकारात्मक परिवर्तनका लागि अघि सर्न जरूरी छ।’
राजविराज नगरपालिका–२ का बेहुला बसन्तको तर्क भने अर्कै छ । उनले भने, ‘छोरीलाई पनि छोरा सरह सम्मान दिन कुरिती अन्धविश्वास अन्त्यका लागि आफूले दाइजो बिना बिबाह गरेको हूँ।’
राजविराज नगरपालिका ७ की ६८ वर्षीया महिला अधिकारकर्मी मालती चौधरी भन्छिन, ‘तराई मधेसको ठूलो बिकृतिको रुपमा रहेको दाइजोलाई चुनौती दिँदै गर्ने बिबाहले महिलालाई हिंसाको खतराबाट जोगाउन सहयोग गर्दछ।’
उनले थपिन, ‘बिना दाइजो बिबाह गर्नेकुरालाई अझ प्रचारप्रसार गर्नु पर्दछ । ’ कर्ण भन्छिन् ‘यो मधेसको सबैभन्दा ठूलो विकृति हो।’ ‘दाइजो कै कारण तराई मधेसका क्यौं छोरी चेलीले ज्यान गुमाउनु परेको छ। ’
उनले मधेसी महिलाको पीडा दर्शाउँदै भनिन, ‘कति महिला त विवाह पछ दाईजो कै कारणले हिंसा सहेर जीवन बिताउन बाध्य भएका छन्।’ दाइजो दिन नसकेर कति छोरीचेली कुमारी बसेको छन्। कतिपय त बिवाह भएर पनि एक्लै बस्नु पर्ने बाध्यता छ । कतिले त भनेजस्तो जीवन साथी पाउन नसकेको कर्णको कथन छ।
पहिले–पहिले छोरीहरूको लागि शिक्षाभन्दा बढी दाईजोमा जोड दिइन्थ्यो। अहिले शिक्षित अभिभावकले दाईजोभन्दा बढी शिक्षामा जोड दिँदै आएकोले शिक्षित क्षमतावान केटाले शिक्षित क्षमतावान केटीसंग परिवारको सल्लाहमा दाइजो बिना मागि बिबाह गर्दै आएको दहेज मुक्त मिथिलाका संस्थापक अध्यक्ष करूणा झा बताउँछिन्।
उनका अनुसार दहेज न्युनीकरणको मुख्य कारण शिक्षा भएपनि, भ्रुण हत्याका कारण मधेसमा छोरीको अभाव पनि खड्किएको छ। झाले थपिन्, ‘पहिले छोरीको आमाबाबुले केटा खोज्नु पथ्र्यो, अहिले केटाको आमाबाबुले केटी खोज्नुपर्ने बाध्यता भएको छ।’
दस वर्षअघि बिकराल रूपमा रहेको दाइजो प्रथा खासगरी अहिले शहरी भेगको शिक्षित परिवारमा ५० प्रतिशत न्यूनीकरण भइसकेको झाले बताइन् ।
उनले अबको १० वर्षपछि ९५ प्रतिशत न्यूनीकरण हुने दाबी गरिन्। दाइजो बिना बिबाह गरेको करिब दुई दर्जन जोडीलाई उनको संस्था मार्फत झाले सम्मान गरिसकेकी छिन्।
ग्रामीण भेगमा शिक्षाको कमीले दाइजो यथाबत रहेको तर्क गर्दै झा भन्छिन् ‘ग्रामीण भेगमा अझै छोराछोरीबीच भेदभाव कायमै छ । छोरीलाई उच्च शिक्षा दिन चाहँदैनन्। उनीहरूले दाईजोलाई प्रतिष्ठाको रूपमा लिदै आएका छन्।
पाँच दशक देखि दहेजकै विवादका विषयमा केन्द्रित रहेर वकालत गर्दै आएका ७० वर्षीय अधिवक्ता राजेन्द्रप्रसाद देवले बिबाह गर्ने दुलहा वा दुलही तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरे वा लेनदेन सर्त राखि बिबाह गराए कानुन बमोजिम कार्वाही हुने बताए ।
उनका अनुसार त्यस्ता कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा तीस हजार जरिवाना वा दुवै हुन सक्ने कानुनमा उल्लेख छ। दाईजोको कारण हिंसामा परेको मुद्दा पहिले अदालतमा धेरै आउने गरेपनि अहिले न्यून आउने गरेको छ । ग्रामीण भेग जति शिक्षितको संख्या बढ्छ, त्यति नै यो समस्या समाधान हुने निश्चित रहेको अधिबक्ता देवको दावी छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले भन्छन् ‘दाइजो लेनदेन गर्ने बेलामा कुनै उजुरी पर्दैन, दाईजो कै कारण पारिवार कलह भएमा, दाइजो कै कारण महिला माथि हिंसा भएको मात्र मुद्दाहरू आउने गरेको छ।’
सहमतिमा सबै ठीक पछि कुनै किसिको समस्या आउँदा मुद्दा बनाएर उजुरी गर्दै आएपनि दाइजोको मुद्दा पहिलेभन्दा अहिले कम भएको काफ्लेले बताए।
राजविराज नगरपालिका ७ की ६८ वर्षिया महिला अधिकारकर्मी मालती चौधरीले शहर बजारका शिक्षित परिवारमा दाइजो बिना विवाह गर्ने प्रचलन बढ्न थालेका बताइन्। चौधरीको विचारमा विकृतिको रूपमा रहेको दाईजो प्रथालाई जरैदेखि उखेल्न शहरमामात्र नभएर गाउँ गाउँमा छोरीको गुणस्तरीय उच्च शिक्षामा पहुँचका लागि संघसंस्था तथा स्थानीय तहले पहल गर्नुपर्दछ।
चौधरीले भनिन,‘ नियमित रुपमा जनचेतना अभिवृद्धिको कार्यक्रम गर्न सके समाजमा छोरीलाई पढाउनु पर्दछ भन्ने चेतना बढ्ने र दाइजो न्यूनीकरण गर्न सहयोग पुग्दछ।’ छोरीहरुले ‘दाइजोको बदला शिक्षा’ भन्ने नारा घरघरबाट उठाउन आवश्यक भएको उनको तर्क छ।
सौजन्य : सञ्चारिका समूह, नेपाल
Facebook Comment