निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

डिसी नेपाल
९ जेठ २०७८ १६:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए ।

उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छन् । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।

चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आव्हान

प्रधानमन्त्री र्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट गरेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।

उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गर्नुभएको धारणा उनले राखे

उनले आगामी आर्थिक वर्षको बजेट कोभिड नियन्त्रणमा प्राथमिकता दिँदै जेठ १५ गते नै अध्यादेशबाट आउने जानकारी दिए । एक प्रश्नका जवाफमा उनले पार्टीमा रहेर सरकारविरुद्ध विपक्षीसँग साँठगाँठ गर्नेहरुलाई कारबाही गरिने स्पष्ट गरे ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *