छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन
चितवन । वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले यहाँको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छन् । वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको मुग्लिन हाईवे हस्पिटललाई पाँच थान सिलिण्डर र एउटा ट्रली उपलब्ध गराएका हुन्।
वाग्लेले हस्पिटलका अध्यक्ष रामबहादुर लामासँगै मणिरत्न शाक्य, मुक्ति श्रेष्ठ र विनोद श्रेष्ठलाई ती सामग्री आज हस्तान्तरण गरे । उनका अनुसार अष्ट्रेलियाको सिड्नीमा रहनु भएकी छोरी रञ्जु वाग्ले थापाले औसीमा पठाएको एक हजार अष्ट्रेलियन डलर र छोरा सुगन्ध वाग्लेले पठाएको १० हजारले ती सामग्री खरिद गरेर सहयोग गरेको बताए । सामाजिक क्षेत्रमा क्रियाशील वाग्लेले यस अघि पनि विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएकी छन् । उनले भने “पहाडी क्षेत्रमा कोरोना सङ्क्रमितहरुलाई केही हदसम्म राहत होस् भनेर सहयोग गरेकी हुँ ।”
संस्थाका अध्यक्ष लामाले अस्पतालले हाल १० शय्याको निःशुल्क आइसोलेसन सञ्चालन गरेको बताए । समुदायस्तरबाट सञ्चालन भएको सो अस्पताललाई विभिन्न संघ संस्थाले सहयोग गर्दै आएका छन् । लामाका अनुसार दुई जना चिकित्सक सहितको अक्सिजन सिलिण्डर राखेर आईसोलेसन चलाइएको छ । आइसोलेसनमा शय्या ५० पुर्याउने लक्ष्यसाथ काम अघि बढाएको उनले जानकारी दिए । सो अस्पतालले जिल्लाकै विकट मानिएको ईच्छाकामना गाउँपालिकासँगै तनहुँ, गोरखा र धादिङका बिरामीलाई समेत सेवा दिन सक्ने छ । इच्छाकामना चेपाङ समुदायको बाहुल्यता रहेको पालिका हो ।रासस
Facebook Comment