पर्ख र हेरकाे अवस्थामा खनाल-नेपाल समूह

डिसी नेपाल
१२ जेठ २०७८ १३:०६

काठमाडौं। वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसहित ११ जनालाई एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि माधव नेपाल समूह कसरी अगाडि बढ्ने भन्ने विषयमा पर्ख र हेरको नीतिमा रहेको छ।

नयाँ दल गठन गर्ने वा अझै पनि एमालेभित्रै रहन सक्ने अवस्था हुन्छ कि भन्ने विषयमा नेपाल समूहले छलफल अगाडि बढाएको छ। एकथरी नेताहरुले अब अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको घोषणा गरेको भन्दै नयाँ दल दर्ता गरेर जानुपर्ने सुझाव दिएका छन् भने मध्यमार्गी बाटो अपनाएर अझै पनि एमालेभित्रै रहने वातावरणको सृजना गर्नुपर्ने अर्को थरीले सुझाव दिएपछि निष्कर्षमा पुग्न नसकिएको नेपाल निकट नेताहरुले बताएका छन्।

‘अहिले हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलकै चरणमा छौं,’ माधव नेपाल निकट नेता जीवराम श्रेष्ठले डिसी नेपालसँग भने, ‘हामी त पहिलादेखि नै एकताका पक्षमा थियौं। कार्यदलले काम गरिरहेकै थियो। कार्यदल कुनै निष्कर्षमा नपुग्दै प्रधामन्त्रीले अर्को असंवैधानिक काम गरेपछि कार्यदलको काम स्थगित भयो।’ उनले अध्यक्ष ओलीले नै पार्टी विभाजनको घोषणा गरेको आरोप लगाए।

पार्टीले लामो समयसम्म पार्टीको नेतृत्वका गरेका सिनियर नेताहरुलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाल समूहले निर्णय गरिसकेको छैन। विभिन्न विकल्पमा छलफल चलेपनि कुनै निष्कर्षमा नपुगिएको नेता श्रेष्ठले बताए।

‘हामी अहिले पनि पर्ख र हेरको अवस्थामा छौ,’ उनले भने, ‘एकताको संभावना करिव करिव अन्त्य भइसकेको छ। तै पनि अझै एकता गर्न सकिन्छ कि भन्नेमा छौं।’ उनले नयाँ पार्टी गठन गर्ने कि एमालेमै रहेर संघर्ष गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

एमाले स्थायी कमिटी बैठकले नेपाल र खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने र थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि नेपाल समूह नयाँ विकल्पको विषयमा छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन।

नयाँ दल गठन गर्ने तयारी

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नै पार्टी विभाजनको घोषणा गरेको भन्दै नेपाल समूहका केही नेताले भने नयाँ दल गठन गरेर जानुपर्ने सुझाव दिएका छन्

पटक–पटक पार्टीको नेतृत्व गरेका र प्रधानमन्त्रीसमेत भएका व्यक्तित्वहरू र एकताका लागि योगदान गरेका नेताहरूलाई समेत साधारण सदस्य नरहने गरी कारबाही गरेपछि ओलीले नै विभाजनको सुरुवात गरेको नयाँ दल गठन गरेर जान धेरै सुझाव आएको नेता श्रेष्ठले बताए।

नेपाल निकट स्रोतका अनुसार अहिले पार्टीको नामका विषयमा छलफल भइरहेको छ। नाम टुंगो लाग्ने वित्तिकै दर्ता प्रक्रियामा जाने तयारी छ। पार्टी निर्माणपछि विचार मिल्ने दलहरुसँग एकता गर्ने र निर्वाचनमा सहकार्य गर्ने गरी अगाडि बढ्ने तयारी भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *